कला

प्रकाश सुवेदी भन्छन्, ‘रजतपट र ग्ल्यामर गफ दुवै नियमित समयमा आउँछन्’

इकागज |
बैशाख ६, २०७८ सोमबार १४:४५ बजे

काठमाडौं : एपीवान टेलिभिजनबाट प्रसारण हुँदै भएका  ‘रजतपट’ र ‘ग्ल्यामर गफ’ निलम्बन गरिएको भन्ने समाचार सत्य नभएको प्रस्तोता प्रकाश सुवेदीले जानकारी गराएका छन् । उनले इकागजसँग कुरा गर्दै आफू एपीवान टेलिभिजनमा नै रहेको र अहिलेसम्म बोर्डबाट त्यस्तो कुनै निर्णय भएको जानकारी आफूले नपाएको उनले बताएका छन् ।

‘म अहिले टेलिभिजन कार्यलयमै छु । कार्यक्रम निलम्बन गरिएको भन्ने कुरा मलाई जानकारी छैन । अर्को हप्ता पनि कार्यक्रम नियमित समयमै आउँछ,’ सुवेदीले इकागजसँग भने । 


प्रकाश सुवेदीले निर्माण तथा प्रस्तुत गर्दै आएका ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ क्रमशः शनिबार र बिहीबार प्रसारण हुँदै आएका छन् ।  अघिल्लो हप्ता ‘रजतपट’मा शिल्पा पोखरेल र छवि ओझा सम्बन्धि समाचार प्रसारण भएका थिए ।

सो एपिसोडमा प्रकाशित समाचारले आफ्नो चरित्रहत्या गरेको भन्दै अभिनेत्री शिल्पा पोखरेलले एपीवान टेलिभिजनले प्रकाश सुवेदीका  कार्यक्रम बन्द गर्नुपर्ने उजुरी गरेकी थिइन् । तर, यो भागका प्रसारण भएलगत्तै सुवेदीले छवि ओझालाई अतिथि बनाएर ‘ग्ल्यामर गफ’को नयाँ एपिसोड प्रसारण गरेका थिए । यसपछि शिल्पाले कलाकार संघलाई समेत लिएर गएर एपीवानसँग वार्ता गरेकी थिइन् ।

 शिल्पाले डेढ वर्षअघि छविले आफूलाई कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यति मात्र होइन उनले मानाचामल भरिमाग्ने मागसहित अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा हालेकी छिन् । तर, गत हप्ता ‘रजतपट’मा शिल्पा भोजपुरी फिल्मका निर्मातासँग नजिकिएको र उनकी श्रीमतिले शिल्पाका कारण घर बिग्रिएको आरोप लगाएको भिडियोसहितका सामाग्री प्रसारण भएको थियो ।

सोही कार्यक्रममा शिल्पाले पहिला भएको विवाह ढाँटेर छवि ओझासँग विवाह गरेको सत्य पनि उद्घाटित गरिएको थियो । छविसँग विवाह गर्नुअघि शिल्पाले विकास बस्यालसँग विवाह गरेर सम्बन्ध विच्छेद पनि गरेको कार्यक्रममा उल्लेख गरिएको थियो । 
 


Author

थप समाचार
x