कला

कस्तो रह्यो अमेरिकन आइडलमा आर्थर गनको कमब्याक प्रस्तुति ?

इकागज |
बैशाख ७, २०७८ मगलवार १३:३० बजे

काठमाडौं :  अमेरिकन आइडलमा दोस्रो मौका पाएका आर्थर गन अर्थात दिबेश पोखरेलले सोमबार साँझ आइडलको स्टेजमा गीत प्रस्तुत गर्ने कार्यतालिका थियो । सोही कार्यतालिका अनुसार उनले सोमबार गो गो डल्सको ‘आइरिस’ बोलको गीत गाए ।  कालो सर्ट र कालो पेन्टमा ग्रे कलरको ज्याकेट लगाएका उनले सदाझैं सोमबार पनि निर्णायक लोभ्याउने प्रस्तुति दिए । 

आर्थरको प्रस्तुतिपछि सबैभन्दा पहिला प्रतिक्रिया दिएका लियोनल रिचीले गीत गाउने खुबीसँगै गायकमा स्टाइल हुन जरुरी रहेको बताए । दिबेशको गायन आफ्ना लागि ‘राइट कर्ड स्ट्राइक’ गरेझैं महसुस भएको बताउँदै उनले दिबेशको आवाजमा नयाँ, पुरानो वा दुवैको मिश्रण के छ पत्ता लगाउन मुस्किल भए पनि दिबेश सच्चा कलाकार भएको प्रतिक्रिया दिएका थिए । 


उता केटी पेरीले भने दिबेशलाई अराजकतावादीको नाम दिएकी थिइन् ।  ‘आर्थर तिमी आफ्नै बाटो हिँडिराख । तिमी अराकतावादी जस्तै हो ’ उनले भनेकी थिइन् । 
ब्रायनले पनि दिबेशको खुलेर प्रशंसा गरे । ब्रायनले दिबेशमा उतिसारो जोड नगरी पनि दर्शकको ध्यान खिच्न सक्ने क्षमता रहेको बताए ।

‘यत्तिकै हिँड्दा मात्र पनि तिमीले धेरै कुरा भनिरहे जस्तो लाग्छ । यो स्टेजमा तिम्रो आवाज सुन्न मजा लाग्छ, हेर्न मजा लाग्छ,’ उनको टिप्पणी थियो ।  दिबेशले अघिल्लो सिजनमा कन्ट्री म्युजिक गाएर निर्णायक तथा दर्शकको मन जितेका थिए । फर्कंदा भने उनले स्लो रक शैलीको गीत गाएका थिए । 

अमेरिकन आइडलले कोभिड १९ का कारण पर्याप्त स्टेज नपाएका र रेकर्ड लेबल नपाएका गायकलाई दोहो¥याएर मौका दिने अभिप्रायले यो सिजनमा बोलाएको थियो । आर्थर यसरी मौका पाउने १० जना भित्र परेका हुन् । यसरी छानिएका १० जनाले पालैसँग प्रस्तुति दिनेछन् र उनीहरूको प्रस्तुतिका आधारमा दर्शकले भोट दिनेछन् ।

दर्शकले भोटिङ गर्ने समयसीमा यही अप्रिलको २६ तारिखसम्मलाई निर्धारित गरिएको छ । १० जना मध्येबाट सर्वाधिक भोट पाउनेले यो संस्करणका टपटेनसँग प्रतिस्पर्धा गर्न पाउनेछन् । यसको परिणाम मे २ मा सार्वजनिक गरिने आइडलले जनाएको छ । अघिल्लो सिजनमा भने दिबेश उपविजेतामा सिमित भएका थिए । अन्तिम प्रतिस्पर्धामा दिबेशलाई न्युयोर्ककी गायिका जस्ट सामले पछि पारेकी थिइन् ।  


Author

थप समाचार
x