स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : मदनकृष्ण श्रेष्ठ
काठमाडौँ- हास्य कलाकार एवं अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन् । उनी अभिनित चलचित्र ‘महापुरुष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे ।
'मलाई अभिनय गर्न मन लाग्छ । तर, स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन । तर, पनि म आफ्नो शरीरलाई जबरजस्ती नै काममा व्यस्त बनाउँछु,' अभिनेता श्रेष्ठले भने । महापुरुष नेपाली चलचित्र भाइ टीकाको भोलिपल्ट प्रदर्शन हुने तयारीमा छ ।
उनी पछिल्लो समय आफ्नो अभिनय र गायनमा सक्रियता घटेको स्वीकार्छन् । यद्यपि महसञ्चारबाट बनेका भिडियो सामग्रीमा सकेको समय काम गरिरहेका छन् । 'बाहिर काम गर्न केही असहज भने हुन्छ, महसञ्चारमा भने सुविधाअनुसार काम गर्ने गरेको छु । यो फिल्ममा हाम्रै टेलिशृङ्खलाबाट निर्देशनको सुरुआत गरेका प्रदीप भट्टराई निर्देशक भएकाले काम गरेको हुँ,' अभिनेता श्रेष्ठले भने ।
लेखकसँगै निर्देशकसमेत रहेका भट्टराईले अभिनेता श्रेष्ठको स्वास्थ्यलाई ख्यालमा राख्दै दृश्य तयार गरिएको जानकारी दिए ।
उनीहरूले यस अगाडि ‘शत्रु गते’ मा काम गरेका थिए । पत्रकार सम्मेलनमा हास्य कलाकार एवं अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको इच्छाशक्तिको चर्चा गरे । 'मदन दाइलाई पर्दामा सँगै पाउँदा छुट्टै ऊर्जा प्राप्त हुन्छ । यस अगाडिका फिल्महरू झैँ यसमा पनि उहाँ जोडिँदा धन्य भएको छु,' अभिनेता आचार्यले भने ।
फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया