कला

ऋतिक रोशनले छाडेका थिए, ‘दिल चाहता है’ देखि ‘फास्ट एन्ड फ्युरियस’को शृंखलासम्म

इकागज |
बैशाख १०, २०७८ शुक्रबार ११:६ बजे

मुम्बई : डान्स र अभिनय दुवैका लागि माहिर मानिन्छन् ऋतिक रोशन । २० वर्षअघि ‘कहो ना प्यार है’ बाट डेब्यू गरेका ऋतिकले त्यसयता कहिलै पनि करिअरमा राम्रा फिल्मका लागि संघर्ष गर्नुपरेको छैन । बरु ‘माइलस्टोन’ बनेका थुप्रै फिल्म छाडेका छन् । यो क्रममा उनले बलिउड फिल्म त छाडेका छन् नै हलिउड फिल्मलाई पनि नाइँ भनेका छन् । उनले छाडेका फिल्मको सूची हेर्दा उनले निर्माता÷निर्देशकलाई के जवाफ दिए होलान् भन्ने लाग्छ । हेर्नुस् उनले छाडेका फिल्मको सूची :
१ दिल चाहता है 
जब फरहान अख्तरले यो फिल्मको स्क्रिप्ट लेखिरहेका थिए, उनको दिमागमा एउटा चरित्रमा ऋतिक रोशनको नाम थियो । उनले ऋतिकलाई प्रस्ताव पनि गरे, तर उसबेला ऋतिक तीनवटा फिल्म साइन गरेर बसेका थिए, ‘फिजा’, ‘मिसन कश्मिर’ र ‘यादेँ’ । उनले नभ्याएपछि फरहान अख्तरले आमिर खानलाई कास्ट गरेका थिए । पछि यो फिल्म बलिउडमा नयाँ युग सुरु गर्ने फिल्मको रुपमा दर्ज भएको थियो । तीन वर्षपवछि ऋतिक र फरहानले ‘लक्ष्य’मा काम गरेका थिए जुन ऋतिकको उत्कृष्ट अभिनय रहेको फिल्ममध्ये एक मानिन्छ । 
२. मैं हुँ ना 
ऋतिकले छाडेको अर्को फिल्म थियो, ‘मैं हुँ ना’ । कोरियोग्राफर फराह खानको निर्देशन रहेको यो फिल्ममा निर्देशकले शाहरुखको भाइको रुपमा अभिनय गर्ने प्रस्ताव गरेकी थिइन् तर ‘कभी खुशी कभि गम’मा उस्तै भूमिकामा काम गरेकाले बुबा राकेश रोशनको सल्लाहमा उनले यो फिल्म छाडेका थिए । उनले छाडेको रोल जायद खानले गरेका र फिल्म सुपरहिट भएको थियो । 
३. स्वदेश
आशुतोष गोवारिकरको यो फिल्म पनि ऋतिक रोशनलाई अफर गरिएको थियो । ऋीतकले यसको स्क्रिप्ट सुनेका पनि थिए तर सो भूमिकालाई आफूले न्याय गर्न नसक्ने देखेर उनले अस्वीकार गरेका थिए । आमिर खानलाई कल्पना गरेर लेखिएको यो फिल्म आमिर र ऋतिक दुवैले नगरेपछि शाहरुखको पोल्टामा गएको थियो । पछि ऋतिकले ‘जोधा अकबर’मा आशुतोषसँग काम गरेका थिए । 
४. बन्टी और बब्ली 
अमिताभ बच्चन र अभिषेक बच्चनले ‘सरकार’पछि एक साथ अभिनय गरेको यो फिल्ममा पनि निर्माताको पहिलो रोजाइ ऋतिक रोशन थिए । तर, ऋतिकले सर्त राखेपछि यो भूमिका अभिषेकको पोल्टामा गएको थियो । यशराज फिल्मको ‘मुझसे दोस्ती करोगे’ फ्लप भएपछि ऋतिकले यशराज फिल्मले निर्माण गर्ने फिल्म आदित्य चोपडा वा यश चोपडाले निर्देशन गरे मात्र खेल्ने बताएका थिए । यशराजले त्यो सर्त नमानेपछि ऋतिकले फिल्म छाडेका थिए । 
५.रंग दे बसन्ती 
‘रंग दे बसन्ती’मा कुनाल कपुरले गरेको भूमिकामा लागि निर्देशक ओमप्रकाश मेहराले ऋतिकलाई एप्रोच गरेका थिए तर ऋतिकले आँखा लगाएका थिए डिजे अर्थात् आमिर खानको रोल । तर, निर्माताले आमिरलाई पहिला नै साइन गरिसकेका थिए । त्यसैले ऋतिकको प्रस्ताव मानेनन् । मन पराएको रोल नपाएपछि ऋतिकले फिल्म नगर्ने निर्णय गरेका थिए । 
६.पिंक प्यान्थर २ 
बलिउड मात्र होइन ऋतिकले हलिउड फिल्म छाडेका उदाहरण छन् । त्योमध्येको एक थियो, ‘पिंक प्यान्थर २’ । ऐश्वर्या रायले समेत अभिनय गरेको यो फिल्मका लागि ऋतिकलाई निर्माताले प्रस्ताव गरेका थिए तर आफूलाई अफर गरिएको रोल चित्त बुझ्दो नभएपछि उनले फिल्मलाई बाई भनेका थिए । उनले छाडेको रोल एन्डी ग्रासियाले गरेका थिए । 
७. फास्ट एन्ड फ्युरियस ७
‘फास्ट एन्ड फ्युरियस’ निर्देशक रब कोहन ऋतिक रोशनको फ्यान हुन् । यही कारण उनले ‘फास्ट एन्ड फ्युरियस ७ ’मा एउटा रोलका लागि ऋतिकलाई प्रस्ताव गरेका थिए । तर, ऋतिकले हलिउड फिल्म गर्दा भिडमा हराउने हैन सोलो टाइपको फिल्मबाट डेब्यू गर्ने सोच राखेका थिए । यसबाहेक सेड्युल प्याक भएका कारणले पनि उनले यो फिल्मलाई नाइँ भनेका थिए । 
 



Author

थप समाचार
x