कला

गत सालको अस्कर विजेता ‘प्यारासाइट’ अब सिरिजको रुपमा आउने

इकागज |
बैशाख १०, २०७८ शुक्रबार १३:२३ बजे

लसएन्जल्स  :  ‘प्यारासाइट’ ले अस्करमा उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक आदिमा अवार्ड जितेर इतिहास बनाउनु अघि नै बङ जून होले आडम मकेसँग मिलेर एचबिओका लागि सिरिज बनाउन लागेको समाचार बाहिरिएको थियो । नभन्दै अहिले यसको काम धमाधम अगाडि बढिरहेको आडमले बताएका छन् । 

तर यो सिरिज ‘प्यारासाइट’को रिमेक भने नहुने आडमले बताएका छन् । ‘यो मौलिक सिरिज हो,’ उनले भनेका छन्, ‘ यसको दुनियाँ फिचर फिल्मको जस्तै हो तर यो उस्तै संसारमा बनेको मौलिक कथा हो ।’


आडमले बङसँग काम गर्दा साँच्चिकै मजा आइरहेको पनि बताएका छन् । उनले अहिले सिरिजका लागि लेखकहरूले धमाधम काम गरिरहेको र क्वारेन्टाइनको समयमा पनि बङ जून होको निरिक्षणमा प्लटको आउट लाइन तयार भएको जानकारी दिएका छन् । 

बङले २०२० को जनवरीमा ‘प्यारासाइट’लाई टेलिभिजन सिरिजमा रुपान्तरण गर्न उत्सुक रहेको बताएका थिए । उनले दुई घन्टाको फिल्ममा सारा चरित्रलाई मज्जाले ठाउँ दिन नसकेकोले यसलाई सिरिजमा विकसित गर्ने सोच आएको बताएका थिए । उनले यसरी आएको कुरा आइप्याडमा संग्रह गर्ने गरेको र यसलाई ६ घन्टाको सिरिजमा प्रस्तुत गर्न खोजेको बताएका थिए । 

उनले दुई घन्टा लामो फिल्ममा थुप्रै संकेत छाडेको तर ती अपुरो रहेको बताएका थिए । ‘उदाहरणका लागि जब पहिलाको काम गर्ने महिला (गुन ग्वाङ) मध्यरातमा घर आउँछे, उसको अनुहारमा केही चोटपटक देखिन्छ । जब उसको लोग्नेले पनि के भयो भनेर सोध्छ, उसले बताउँदिन । मसँग त्यसको कथा छ । त्योबाहेक उसलाई बंकरको बारेमा कसरी थाहा छ ? त्यो बंकर बनाउने आर्टिटेक्टसँग उसको सम्बन्ध के हो ? यस्ता धेरै कथा मैले जम्मा गरेको छु,’ उनले भनेका थिए । 
यो सिरिज सन् २०२१ भित्रबाट सुटिङमा जाने र २०२२ मा एचबिओमा प्रसारण हुने बताइएको छ । 


Author

थप समाचार
x