कला

नीतेशजंग कुँवरले संगीतबाट बिदा मागे

इकागज |
बैशाख १२, २०७८ आइतबार १२:५२ बजे

काठमाडौं : गायक नीतेशजंग कुँवरले संगीत छाड्ने संकेत गरेका छन् । उनले आइतबार फेसबुकमा स्ट्याटस राख्दै आफ्नो सांगीतिक यात्रा यहीँसम्म रहेको बताएका छन् ।  ‘साथीहरू, मेरो सांगीतिक यात्रा टुंग्याउने समय भएको महसुस गरेको छु ।

उतारचढावयुक्त यात्राका लागि यहाँहरू सबैमा धन्यवाद दिन चाहान्छु,’ उनले फेसबुकमा लेखेका छन् । स्ट्याटससँगै उनले कन्सर्टका केही तस्बिर पनि पोस्ट गरेका छन् । 


नीतेशले ५ वर्षअघि ‘गफै त हो’ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेका थिए । भ्लगर सिसन बानियाँको प्रेरणाले गीत बनाउँदै युट्युबमा हाल्दै गरेका नीतेशले छैटौं गीत ‘गेडेजस्तै जीन्दगी’बाट भने सफलता चुमेका थिए ।

यसपछि सार्वजनिक भएको ‘फ्लर्टी माया’ भने उनलाई संगीतमा अन्डरग्राउन्ड स्टार बनाएको थियो । त्यसयता भने कर्पोरेट इभेन्ट र कन्सर्टमा नीतेश सबैभन्दा डिमान्डेड गायक बनेका थिए । 

नीतेशले एक वर्षअघि फिल्ममा पनि डेब्यू गर्न लागेका थिए । उनले अदिती बुढाथोकीको अपोजिटमा रहने गरी ‘बाबरी’ नामको फिल्म पनि साइन गरेका थिए । तर, दुई महिना अघि मात्र उनले सो फिल छाडेको खबर आएको थियो । पछि नीतेशको ठाउँमा निर्माण टिमले धिरज मगरलाई लिएर सुटिङ सुरु गरेको थियो । 


Author

थप समाचार
x