कला

‘स्टनिङ भिज्युवल’सहित ‘दोख’को ओएसटी सार्वजनिक

इकागज |
बैशाख १२, २०७८ आइतबार १४:१० बजे

काठमाडौं : अनुब बराल निर्देशित फिल्म ‘दोख’को ओएसटी सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार हाइलाइट्सको युट्युब च्यानलबाट फिल्मका अर्थपूर्ण दृश्यसहितको गीत ‘रातैले बुन्छ’ सार्वजनिक गरेको हो । 

श्रवण मुकारुङको शब्द रचनालाई पुष्पसंगमले संगीत गरेको गीतलाई झुमा लिम्बूले आवाज दिएकी हुन् । तर, पूर्वेली भाकाको गीत प्रस्तुत गर्न फिल्मका सम्पादक निमेष श्रेष्ठले छानेका हरेक दृश्यले गीतलाई नै छायाँमा पारेका छन् ।  ३ मिनेट छोटो गीतमा अटाएका दृश्य आफैंमा गीतझैं लाग्छन् । 


फिल्मले जनयुद्धको पृष्ठभूमिमा दुई गाउँबीचको दुश्मनीको कथा प्रस्तुत गर्छ । कुटपिटको कुरालाई लिएर दुई गाउँबीच द्वन्द्व बढेपछि फुटबल खेलाएर छिनोफानो गर्ने निर्णय हुन्छ । यसैबीचमा गाउँको स्कुलमा नयाँ शिक्षक आइपुग्छ । यो शिक्षकले दुई गाउँको झगडा सुलह गर्न मद्दत गर्छ कि झन् बढाउन ? सिनेमा यसैको वरिपरि रहेर बुनिएको छ । 

फिल्मको छायांकन शैलेन्द्र डी कार्कीले गरेका हुन् । उनको छायांकनमा गहिराइ महसुस गर्न सकिन्छ । ब्लकिङ र फ्रेमिङ सुन्दर हुनुका साथै अर्थपूर्ण पनि छन् । 
फिल्मलाई राजन कठैतले लेखेका हुन् ।

फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर आदि कलाकारको अभिनय रहेको छ । सविन ज्ञवाली र मनोज अधिकारीे मुख्य निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले थापा कार्यकारी निर्माता रहेका छन् । फिल्मको प्रदर्शन मिति भने तय भइसकेको छैन ।  

 


Author

थप समाचार
x