नेपाल-अफ्रिका फिल्म फेस्टिभलमा ‘आमा’, ‘सहायक श्रीमान’ र ‘दुर्गामाण्डु’ उत्कृष्ट
काठमाडौं : गणेश पाण्डे निर्देशित फिल्म ‘सहायक श्रीमान्’ (को हज्बेन्ड)ले नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभल २०२१ मा उत्कृष्ट फिल्म घोषित भएको छ । शुक्रबारदेखि सुरु भई आइतबार सकिएको फेस्टिभलमा फिल्मले वृत्तचित्रतर्फको अवार्ड जितेको हो ।
शारदा गैरे निर्मित वृत्तचित्रले हिमाली भेकमा बसोबास गर्दै आएका शेर्पा समुदायमा विद्यमान बहुपति प्रथाको कथा प्रस्तुत गर्छ । यस्तै महोत्सवमा कथानक चलचित्रतर्फ हिमाल उप्रेती निर्देशित तथा भुपेन्द्र कुमार खड्का निर्मित चलचित्र ‘आमा’ उत्कृष्ट भएको छ । यो फिल्मले वृद्धाश्रममा पुग्न बाध्य आमाहरूको कथा पेस गर्छ ।
यस्तै यो वर्ष डकुड्रामातर्फ माधवराज खरेल निर्मित एवम् निर्देशित वृत्तचलचित्र ‘दुर्गामाण्डु’ उत्कृष्ट भएको छ । यो चलचित्रमा सुदूरपश्चिममा अझै कुप्रथाको रुपमा रहेको छाउपडी समस्या देखाइएको छ ।
यी तीन वटै उत्कृष्ट चलचित्रलाई जनही ५ हजार रुपैयाँ सहित आदिम पुरस्कार प्रदान गरिएको छ । अभिनेता प्रदीप बाँस्तोला, सञ्चारर्मी जीवन पराजुली, गायिका सरिता भारतीसहित पाँच जनाको निर्णायक टिमले उत्कृष्ट चलचित्रको चयन गरेको थियो ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनद्धारा आयोजित नवौं संस्करणको महोत्सव समापन समारोहमा नेपालका निमित्त अफ्रिकी मुलुक इथोपियाका कन्सुलेट राजेन्द्र गिरीले उत्कृष्ट पुरस्कार प्रदान गरेका थिए । यो महोत्सवले नेपालमा अफ्रिकालाई सिनेमाबाट चिनाउन ठूलो सहयोग पु¥याएको उनले बताए ।
चलचित्र निर्देशक तथा सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले समापन समारोहमा पुस्कार प्रदान गर्दै नेपाली भन्दा अफ्रिकन फिल्महरू धेरै माथि भएकाले हामीले उनीहरूको फिल्मबाट धेरै सिक्ने अवसर पाएको बताए ।
आइतबार नै महोत्सव मा नेपाली र अफ्रिकन चलचित्रका चुनौतीबारे बहस भएको थियो । सो बहसमा राजेश थापाले नेपाली चलचित्रको विगतदेखि अहिलेसम्मको अवस्था चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै अर्का निर्देशक मनोज पण्डितले अफ्रिकनको तुलनामा नेपाली चलचित्र र नेपाली चलचित्रका समस्याबारे कार्यपत्र प्रस्तुत गरे ।
सो अन्तरक्रियामा गणेश खनियाँले अफ्रिकाको जीवनशैली, सिनेमा, नेपाल र अफ्रिकाको सम्बन्धबारे कार्यपत्र प्रस्तुत गरेका थिए । महोत्सबबाट आफूहरूले निरन्तर नौ वर्षदेखि नेपाल अफ्रिकालाई जोड्ने कार्य गरेको आयोजक संस्था कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनकी अध्यक्ष डा. मञ्जु मिश्रले समापन समारोहमा बताइन् ।
महोत्सव निर्देशक डब्बु क्षत्रीले कोरोनाको महामारीबीच पनि सामाजिक दूरी कायम गरेर आफूहरू महोत्सव सम्पन्न गर्न सफल भएको बताए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार उद्घाटन गरेको यो महोत्सवमा नेपालका ७ वटा र अफ्रिकाका ८ वटा चलचित्र प्रदर्शन गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया