कला

अस्करमा ‘नोम्याडल्यान्ड’लाई तीन अवार्ड, दक्षिणले कोरियाले रच्यो अर्को इतिहास

इकागज |
बैशाख १३, २०७८ सोमबार ११:२५ बजे

लसएन्जल्स : नेपाली समयअनुसार सोमबार बिहान अमेरिकामा बाँडिएको अस्कर अवार्डमा क्लोई झाओ निर्देशित ‘नोम्याडल्यान्ड’ले तीन अवार्ड जितेको छ । फिल्मले उत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीतर्फको अवार्ड जितेको हो । तर, निर्देशकमा क्लोई झाओले जितेको अवार्डले भने इतिहास रचेको छ ।

क्लोई उत्कृष्ट निर्देशकको अवार्ड जित्ने अस्करकै इतिहासमा दोस्रो महिला भएकी छिन् भने गोराबाहेकको समुदायबाट निर्देशनमा अवार्ड जित्ने पहिलो महिला । 
चाइनीजमुलकी अमेरिकन क्लोई झैं दक्षिण कोरियाकी यु जुङ युनले पनि अस्करमा दक्षिण कोरियाका लागि इतिहास रचिन् ।


यु दक्षिण कोरियाबाट अस्करमा अभिनयनको अवार्ड देश भित्र्याउने पहिलो महिला बनिन् । दक्षिण कोरियाकी मेरिल स्ट्रिपको नामले परिचित युले यो उपलब्धि हासिल गरेकी हुन् फिल्म ‘मिनारी’बाट ।  गत साल दक्षिण कोरियाले ‘प्यारासाइट’बाट अस्करमाउत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन र पटकथामा अवार्ड जितेर सनसनी मच्चाएको भए पनि अभिनयमा भने एउटा पनि मनोनयन पाएको थिएन । 

फिल्ममा अभिनयमा अभिनेत्रीतर्फको अवार्ड जितेकी फ्रन्सेस म्याकडोनार्डले भने अस्करमा हयाट्रिक गरेकी छिन् । ‘नोम्याडल्यान्ड’बाट अभिनेत्रीको अवार्ड जितेकी फ्रन्सेसको यो तेस्रो अस्कर हो । यसअघि उनले ‘फार्गो’ र ‘थ्री बिलबोर्डस् आउटसाइड एबिङ मिसोरी’ बाट पनि अस्करको ब्ल्याकलेडी आफ्नो घर लगिसकेकी थिइन् । 

महामारीका कारण लसएन्जल्सका विभिन्न ठाउँबाट बाँडिएको अवार्डमा एन्थोनी हप्किन्सले उत्कृष्ट अभिनेतातर्फको अवार्ड जिते । ‘दि फादर’ फिल्मका लागि उनले जितेको यो अवार्ड भने विवादको घेरामा परेको छ । यो विधाको अवार्डका लागि दिवंगत अभिनेता चाडविक बोसेमेन सबैका फेवरेट मानिएका थिए ।

चाडविक मृत्युपछि पनि अस्करमा मनोनयन पाउने तेस्रो अभिनेता थिए । यसअघि ‘नेटवर्क’का लागि पिटर फिन्च र ‘डार्क नाइट राइजेज’ का लागि हेथ लेजर मृत्युपछि पनि अस्करमा मनोनयनमा अटाएका कलाकार थिए । पिटर फिन्च र हेथ लेजर दुवैले अवार्ड पनि जितेका थिए । तर, चाडविक खाली हात रहे । हप्किन्स अवार्ड थाप्न समारोहमा उपस्थित पनि थिएनन् । 

कार्यक्रममा ‘जुडास एन्ड दि ब्ल्याक मसिहा’, ‘मा रेनी ब्ल्याक बटम’, ‘म्यांक’, ‘सोल’ र ‘साउन्ड अफ मेटल’ले दुई दुई अवार्ड जितेका थिए । यसैगरि अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फको अवार्ड भने डेनमार्कको ‘एनोदर राउन्ड’ले जितेको थियो । महत्वपूर्ण विधामा अस्कर जितेका फिल्मको सूची यसप्रकार रहेको छ । 

फिल्म : नोम्याडल्यान्ड
निर्देशक : क्योल झाओ (नोम्याडल्यान्ड)
अभिनेता : एन्थोनी हप्किन्स (द फादर)
अभिनेत्री : फ्रान्सिस म्याकडरम्यान्ड (नोम्याडल्यान्ड)
सह-अभिनेत्री : यु जोङ उन (मिनारी)
सह-अभिनेता : डेनियल कालुया (जुडास एन्ड ब्ल्याक मसिहा)
एडप्टेड पटकथा : द फादर
मौलिक पटकथा : प्रमिसिङ योङ वुमन
कस्ट्युम डिजाइन : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल स्कोर : सउल
एनिमेटेड सर्ट फिल्म : इफ एनिथिङ ह्यापेन्ज आइलभ यू
डकुमेन्ट्री फिचर : माइ अक्टोपस टिचर
अन्तर्राष्ट्रिय फिचर : एनादर राउन्ड (डेनमार्क)
ध्वनी : साउन्ड अफ मेटल
प्रोडक्सन डिजाइन : म्यांक
सम्पादन : साउन्ड अफ मेटल
छायांकन : म्यांक
भिजुअल इफेक्ट : टेनेट
एनिमेटेड फिचर फिल्म : सउल
मेकअप एन्ड हेयरस्टाइल : मा रेइनिज ब्ल्याक बटम
ओरजिनल सङ : फाइट फर यु (जुडास एन्ड द ब्ल्याक मसिहा)

 

 

 


Author

थप समाचार
x