कला

तुलसी घिमिरे र छिरिङ रितार शेर्पा निफको निर्णायक

इकागज |
बैशाख १३, २०७८ सोमबार १३:४ बजे

काठमाडौं : केही दिनपछिसम्पन्न हुन लागेको नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)ले जुरीहरू सार्वजनिक गरेको छ । निफले सार्वजनिक गरेका चार सदस्य जुरी नेपालबाट तुलसी घिमिरे र छिरिङ रितार शेर्पा परेका छन् । 

तुलसी घिमिरेले फिचर फिल्मतर्फ हेर्नु पर्ने वल्र्ड पानारोमा र नेसनल फिचर्स अन्तर्गतका फिल्म हेरेर निर्णय दिनेछन् भने छिरिङले फिल्म सोसाइटीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिज’को तर्फबाट प्रदान गरिने डन क्विजोट अवार्डको निर्णायकको जिम्मेवारी निर्वाह गर्नेछन् । यही विधामा निर्णय गर्न छिरिङलाई इटलीकी लाउरा मानकुसो प्रिजटानो र भारतकी मधुरिमा बरुवा सेनले सघाउनेछन् ।


 दर्शकको प्रत्यक्ष सहभागितामा सञ्चालन हुने गरी गर्न लागिएको फेस्टिभल कोभिड –१९को महामारी बढेसँगै अनलाइनमा हुन लागेको हो । केही दिन अघि केही कार्यक्रम प्रत्यक्ष र केही अनलाइन हुने गरी हाइब्रिड मोडलमा सञ्चालन गर्ने घोषणा गरेको आयोजकले अन्तिम समयमा आएर भने अनलाइन गर्ने घोषणा गरेको छ ।

आयोजकले फिल्मको स्क्रिनिङसँगै छलफल पनि अनलाइन गर्ने घोषणा गरेको छ । तीन वर्षअघि फिल्म संस्कृतिको विकास गर्ने उद्देश्यसहित सुरु गरिएको फेस्टिभलको यो चौथो संस्करण हो । 


Author

थप समाचार
x