कला

अस्कर विजेता ‘अनोदर राउन्ड’को अंग्रेजी रिमेक बनाउँदै लियोनार्दो

इकागज |
बैशाख १४, २०७८ मंगलबार १२:१ बजे

लसएन्जल्स : आइतबार साँझ डेनिस फिल्म ‘अनोदर राउन्ड’ले अस्करमा अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फको अवार्ड जित्यो । म्याड् मिकलसन अभिनीत यो फिल्ममा बाँच्नका लागि रक्सीको सहारा लिने चार पात्रको कथा छ । निर्देशक थोमस भिन्टेरबर्गले फिल्ममा डेनिस भाषाको प्रयोग गरेका छन् । 

तर, अभिनेता लियोनार्दो डिकाप्रियोलाई यो फिल्म यति मन पर्यो कि उनले यो फिल्मको रिमेक अधिकार हात पारेका छन् । भेराइटीले लेखेको समाचारअनुसार यो फिल्ममा जेक ग्लेनहल र एलिजाबेथ ब्यांकसले पनि आँखा लगाएका थिए ।


तर, अन्तिममा यो रिमेक अधिकार लियोको एप्पियन वेले हात पारेको छ । गत वर्ष टोरन्टोमा फिल्मको वल्र्ड प्रिमियर भएसँगै यो फिल्ममा लियोले आँखा लगाएका थिए । स्रोतका अनुसार उनले फिल्ममा म्याड्ज मिकलसनको चरित्र आफ्नो जीवनको नजिक रहेको टिप्पणी गरेका थिए । 

रिमेक अधिकार लिएसँगै फिल्ममा लियोनार्दोले अभिनय पनि गर्ने चर्चा छ । यो खबर पुष्टि भइसकेको छैन । त्याबाहेक फिल्मका निर्देशक थोमस आफैंले यो फिल्म निर्देशन नगर्ने बताएका छन् । फिल्ममा उनी कार्यकारी निर्देशकको भूमिकामा रहनेछन् । 

आइतबार साँझ अस्कर ग्रहण गरेपछिको सम्बोधनमा उनले अवार्ड आफ्नो छोरीलाई सपर्मण गरेका थिए । यो फिल्मको सुटिङ सुरु भएको चौथो दिनमा थोमसकी १९ वर्षकी छोरीको मृत्यु भएको थियो । 


Author

थप समाचार
x