कला

हल बन्द, सुटिङ चालु

इकागज |
बैशाख १४, २०७८ मंगलबार १५:१६ बजे

काठमाडौं  : सामसुम भएको कोभिड–१९ बौरिएसँगै सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गर्यो । यतिले पनि स्थिति नियन्त्रण हुने नदेखेपछि सरकारले १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । बिहीबार बिहानदेखि यो निषेधाज्ञा लागु हुनेछ ।

सरकारको यो निर्णयले फिल्मकर्मीलाई खासै दुःखी बनाएको छैन । किनकि सरकारको यो घोषणा फिल्मकर्मीका लागि ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात्’ भने जस्तै थियो । सरकारले बन्द गर्ने निर्णय नगर्दै पनि हल स्वघोषित बन्द थिए । हलमा दर्शकलाई देखाउने फिल्म थिएनन्, फाट्टफुट्ट रिलिज भएका फिल्ममा दर्शक भने फाट्टफुट्ट पनि थिएनन् ।  


तर नेपालको फिल्म उद्योग स्थापना कालदेखि नै ‘क्यालकुलेसन’भन्दा पर रहेर चल्दै आएको छ । यसको उच्चतम् रुप देखिएको छ, कोभिड–१९को महामारीमा । कोभिड–१९ का कारण सिनेमा हल यसरी खुल्दै बन्द हुँदै आइरहेका छन् । खुलेको समयमा पनि दर्शक हल छिर्न डराइरहेका छन् तर पनि निर्माता सुटिङमा जान रत्तिभर डराइरहेका छैनन् ।

विश्वभर सिनेमाको भविष्यलाई लिएर चिन्ता भइरहँदा नेपाली निर्माता भने निर्धक्क छन् । जबकि नेपालमा नै हलबाहेक अरु ठाउँबाट निर्माताले कमाउने सक्ने विकल्प छैनन् । बाहिरको देशमा जस्तो न यहाँ निर्माताले ओटीटीबाट भने जस्तो रकम पाउँछन् न स्याटालाइटबाट । 

सरकारले कोभिड–१९ को दोस्रो लहर आएको घोषणासँगै वैशाख ५ गतेबाट सिनेमाघरसँगै स्कुल–कलेज, क्लब पार्टी प्यालेस बन्द गर्ने निर्णय गर्यो । तर, सरकारले यो घोषणा गरेकै दिनबाट अदिती बुढाथोकीले ‘बाबरी’को सुटिङ सुरु गरेको जानकारी दिइन् । पूर्वको लेटाङमा पूजाआजा गर्दै सुरु भएको फिल्मको सुटिङ अहिले चलिरहेको छ । 

‘बाबरी’ मात्र हैन अहिले आधा दर्जन बढी फिल्म फ्लोरमा निस्किएका थिए । र, संयोग यस्तो परेको छ कि यही बेला नै सरकारले दोस्रो पटक सिनेमाघर बन्द गर्ने निर्णय गरेको छ ।  यतिबेला ‘प्रेमगन्ज’, ‘आँधी तुफान २’, ‘प्रकाश’को सुटिङ भइरहेको छ भने वैशाख १५ बाट थप दुई फिल्म ‘कबड्डी ४’ र ‘मिरर’ फ्लोरमा निस्कने तयारीमा थिए । 

परिच्छेद सेन निर्देशित फिल्म ‘प्रेमगन्ज’को अहिले काभ्रेमा सुटिङ भइरहेको छ भने ‘आँधी तूफान २’ को काठमाडौंमा । ‘प्रकाश’को भने जुम्लामा अन्तिम सेड्युलको सुटिङ चलिरहेको छ । 

नेपालमा बनिरहेका फिल्मको अन्तिम गन्तव्य हल नै हो । अरु माध्यम विकसित नभई सकेको अवस्थामा निर्मातासँग हलमा बाहेक अरुतिर रिलिज गर्ने विकल्प छैनन् । तर, निर्माता यो सत्यसँग भलिभाँती परिचित हुँदाहुँदै पनि सुटिङका लागि हच्किएका छैनन् । यसले भविष्यमा हल खुल्दा निर्माताबीच फिल्म चलाउन कडै प्रतिस्पर्धा हुनेछ ।

तर योभन्दा पनि हल खुल्ने कुरा नै अनिश्चित भएको समयमा सुटिङमा कुराले निर्माताहरू के के आशमा सुटिङ गरिरहेछन् भन्ने प्रश्न उठ्छ ।  निर्देशक दीपेन्द्र लामा हल खुल्ने र दर्शक आउने निश्चित नभएसम्म सुटिङ गरेर फिल्म हार्डड्राइभमा थन्क्याएर राख्नमा कुनै तुक नभएको बताउँछन् ।

‘हल खुल्ने मात्र होइन दर्शक आउने निश्चित नभएसम्म नयाँ फिल्म सुटिङमा नजाँदा नै राम्रो हो भन्ने लाग्छ मलाई,’ उनले भने, ‘मैले त यही सोचेर दुई नम्बरीको सुटिङ सुरु नगरेको हो । अरुले के सोचेर सुटिङ गरिरहनु भएको छ, मैले पनि कुरा बुझेको छैन ।’

विकास आचार्यले पनि ‘नाइँ नभन्नू ६’ को सुटिङ यही कारणले सुरु गर्ने चासो दिएका छैनन् । उनले मान्छेको दैनिकी पूर्ववत् अवस्थामा नफर्किएसम्म सुटिङ गरेर कुनै फाइदा नहुने देखेपछि सुटिङको तयारी रोकेको जनाएका छन् । नत्र भने आचार्य पनि वैशाखको अन्तिमबाट फ्लोरमा निस्कने योजनामा थिए । तर, वैशाख सुरु नहुँदै महामारी हाबी हुन थालेपछि उनले सुटिङमा जाने कुरा बिर्सिएका छन् । 

‘ अब पर्खनुको विकल्प छैन । नयाँ स्क्रिप्टमा काम गरिरहेको छु  । सहज भएपछि फ्लोरमा जाने हो,’ आचार्यले भने । फिल्ममेकरले बनेका फिल्म कहाँ देखाउने भनेर चिन्तन नगर्दा फिल्म थुप्रिने क्रम मात्र बढेको छ ।  महामारीका कारण सिनेमाको हलको भविष्य के होला भन्ने चिन्ता त छँदैछ तर खुलेपछि पनि यति धेरै फिल्मले कहिले र कति दर्शक पाउलान् ? थप चिन्ताको विषय बनेको छ । 


 
 


Author

थप समाचार
x