नेपाली रैथाने संगीत किन पुग्न सकेन इन्टरनेसनल प्लेटफर्ममा ?
काठमाडौँ- नेपालमा जातीय र भाषिक विविधता जति धेरै छन्, उति नै विविध संगीत पनि छन् । संगीत भित्रको यो विविधता हाम्रो देशको सांस्कृतिक पहिचानको आधार बन्न सक्छ । तर, यस्ता संगीत विभिन्न कारणले नेपाली संगीत मानिने भन्दा भाषिक, क्षेत्रीय वा जातीय संगीतका रूपमा सीमित गरिएको छ ।
विभिन्न भाषा र जातिले अँगाल्दै–बचाउँदै आएको नेपाली रैथाने गीत संगीतलाई मनोरञ्जनभन्दा माथि उठेर हेर्न नसकिएकोले यस्तो अवस्था आएको गायिका झूमा लिम्बूले बताएकी छन् ।
बुकवर्म फाउन्डेसनद्वारा आयोजित पोखरामा जारी १० औं नेपाल लिटरेचर फेस्टिभलको ‘संगीतमा रैथाने लय’ विषयक सत्रमा बोल्दै गायिका लिम्बूले भनिन्, ‘रैथाने संगीतलाई मन पराउने समूह सानो भएकोले यसमा काम गर्ने कलाकारहरूले जीविकोपार्जनका लागि संघर्ष गर्नु परिरहेको छ ।’
त्यसैले रैथाने गीत–संगीतलाई मनोरञ्जनभन्दा माथि उठेर हेर्नुपर्ने जोड पनि दिइन् । सेवा भट्टराईले सहजीकरण गरेको यस सत्रमा गायिका लिम्बूसँगै इकोज इन द भ्यालीका निर्देशक रिजु तुलाधरले मौलिक लोक तथा परम्परागत संगीतलाई गम्भीर रूपमा नलिइएको कारण हाम्रो संगीत विश्वमञ्चमा पुग्न नसकेको बताए ।
लोक विधामा काम गर्ने विभिन्न समूहलाई इकोज इन द भ्याली उत्सवमा समावेश गर्दै आएका उनले भने, ‘नेपाली संगीतकर्मी इन्टरनेसनल प्लेटफर्ममा किन पुगिरहेका छैनन् ? वेस्ट्रन म्युजिक लिएर विश्व प्लेटफर्म जानु हाम्रो मुर्खता हुन्छ । आफ्नै संगीत लिएर त्यहाँ पुग्दा मात्र हाम्रो काम पृथक देखिन्छ । तर, ‘रुट’ म्युजिक कसरी लैजाने ? यसबारे ध्यान दिन जरुरी छ ।’
संस्कार र समुदायमा बाँचेका हाम्रा मौलिक संगीत भित्रका जातीय विभेद तथा लैंगिक विभेदजस्ता समस्याहरू बाधक बनेको पनि उनले बताए ।
कार्यक्रममा रैथाने संगीत समूहकी अध्यक्षसमेत रहेकी गायिका लिम्बूले संस्कार र संस्कृतिबाट उठ्ने संगीत अझै धरमरको अवस्थामा रहेको चिन्तासमेत पोखिन् ।
उनले यो अवस्था चिर्न रैथाने संगीत अनुसन्धान गर्नेदेखि प्रदर्शन गर्ने मञ्चको आवश्यकता पर्ने बताइन् ।
‘संसारका सबै देशमा म्युजिक उद्योग बनेको छ । हाम्रोमा उद्योग बनिसकेको छैन । संगीत उद्योगको रूपमा विकास गर्न ‘रुट’ बलियो हुनुपर्छ । तर, हाम्रो त्यो हुन सकेको छैन,’ उनले भनिन् ।
नेपालमा विभिन्न जातजातिको भाषा र संगीत पाठ्यक्रम तहदेखि नै अध्ययन गराइनु पर्ने भन्दै उनले भनिन्, ‘नेपालमा जे जति समुदाय छन्, भाषा छन् त्यो राज्यको सम्पत्ति हो ।’
तर, कसैले लिम्बुको हाक्पारे गाउँदा लिम्बूको संगीत र गुरुङको घाटुमा नाच्दा गुरुङ संगीत भनेर छुट्यायो भने नेपालको संगीत कुन हो ? गुरुङ गाउँमा गुरुङ संगीतमै पढाइ होस्, पाठ्यक्रममै त्यो आउनुपर्यो । लिम्बु गाउँमा लिम्बुहरूको हाकपारेको कोर्स राख्नुपर्यो । १० जना विद्यार्थीमा एउटाले त सिक्ला । अहिले त्यो काम सुरु भयो भने ३० वर्षपछि अहिलेको बच्चाले बुझेर संगीतमा आफ्नो करिअर बनाएर नेपाली संगीतले विश्वमा आफूलाई स्थापित गर्न सक्छ ।’
काठमाडौं विश्वविद्यालयमा संगीत प्राध्यापनसमेत गरिरहेका तुलाधरले इथ्नोम्युजिकोलोजी पढाउन थालेपछि विभिन्न खालका अनुसन्धान भइरहेको जानकारी दिए । ‘केयुको कोर्स प्रयोगात्मकमा कम हुन्छ, अनुसन्धान बढी केन्द्रित छ । ती अनुसन्धानलाई ‘पर्फमिङ आर्ट’मा ढाल्न सक्यो भने हामीले चाहेजस्तो काम बाहिर आउन सक्छ । तर, अनुसन्धानलाई कसरी पस्कने भन्ने काम गाह्रो हुन्छ । यसका लागि म्युजिकोलोजी डिपार्टपेन्ट बन्न सक्यो भने सम्भव पनि छ,' उनले भने ।
कार्यक्रममा नेपाली रैथाने संगीत विश्वमा किन पुग्नु पर्यो भन्ने प्रश्न पनि उठेको थियो । यसको जवाफ दिँदै तुलाधरले भने, ‘कुनै कलाकार विश्वमा जानेबित्तिकै नयाँ पुस्ताका लागि प्रेरणा बन्छ । अर्काे विश्व प्लेटफर्म कसरी कसरी गयो भनेर खोजी हुने भयो । चक्रमा गएर हेर्दा त्यसले अप्रत्यक्ष रूपमा संस्कृतिलाई संरक्षण गरिराखेका हुन्छौँ । एउटा झुमा लिम्बूको आज हजार फलोअर्स छन् भने विश्वमा गयो भने त्यो करोड पुग्छ । त्यसले हाम्रो जस्तो देशको लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ,' उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया