कला

हेर्दा राम्रो माछापुच्छ्रे

इकागज |
पुस ११, २०७९ सोमबार २१:१२ बजे

पोखरा- पोखराबारे थुप्रै गीत लेखिएका छन्, गाइएका छन् । गीतकै कारण पोखरा मानिसका हृदयहरूमा बसिरहन्छ ।

पोखरा, फेवाताल वा माछापुच्छ्रे सर्जकका सिर्जनामा आइरहन्छन् । नेपाल लिट्रेचर फेस्टिभलको चौथो दिन ‘हेर्दा राम्रो माछापुच्छ्रे’ सेसनमा सहजकर्ता दीपक परियार कवि तीर्थ श्रेष्ठलाई पहिलो प्रश्न सोध्छन्, ‘काठमाडौंभन्दा बढी गीत पोखराबारे गाइएका छन् । साँच्चै ती गीतले पोखराको वास्तविक प्रतिबिम्बन गरेका छन्?’


कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘एउटै गीतमा सिंगो पोखराको प्रतिनिधित्व हुन सक्दैन । कुनै गीतमा पोखराको प्राकृतिक सौन्दर्य र कुनै गीतमा सांस्कृतिक सौन्दर्य जोडिएको हुन्छ । कुनै गीतले इतिहास पनि जोडिदिएको छ । गीतले जिज्ञासालाई पनि जीवन्त बनाउने रहेछ ।’

कार्यक्रममा कवि तीर्थ श्रेष्ठसँगै गायक धर्मेन्द्र सेवान र गायिका रज्नी ‘रिदम’राई पनि सहभागी थिए । 

तीर्थ गीतले इतिहासका कुरालाई कसरी जोड्छ भन्ने प्रसंगमा थप्छन्, ‘एउटा गीतमा ढुंगेसाउँको मेला बाँचेको छ । तर, अहिले त्यो त बाँकी छैन नि ।’
तीर्थ गीतले स्रष्टालाई पनि जीवन्त राखेको बताए । यद्यपी, पोखराई अझै लेखिन बाँकी रहेको उनी बताउँछन् ।

धर्मेन्द्र आफूले ०५५ सालमा ‘नेपाली तारा’ रियालिटी शो चल्दा पोखराले निकै माया गरेको सम्झन्छन् । ‘भर्खर उदाएका युवा पुस्ताका कलाकारलाई पोखराले सधैं मञ्च प्रदान गरेको छ,’ उनी भन्छन् ।  धर्मेन्द्र आफूले ‘हेर्दा राम्रोमाछापुच्छ्रे’ गाउँदा ‘पोखरेली कान्छो’ भनेर पाएको माया कहिल्यै बिर्सन्नन् ।

तर, धर्मेन्द कामको शिलशिलामा काठमाडौं छन् । तर, उनलाई बस्ने रहर पोखरामै छ। ‘तर, जता लागे पनि संगीतमा भने सधैं रहन्छु,’ उनी भन्छन् । 

दार्जिलिङबाट आएर पोखरामा कर्मथलो बनाएकी रजनी रिदम राई पोखराबारे गाएका गीतका कारण चर्चित छिन् । उनी आफू पोखरा आउँदा पहिलो पटक पाएको अवसरबारे सम्झन्छिन् । आफू संघर्षरत् कलाकार हुँदा पहिलो पटक अवसर दिने सर्वज्ञमान शाक्यलाई सम्झन्छिन् । आफूले गाएको पहिलो गीतले नै अवार्ड दिएकोमा फुरुङग भएको उनी सम्झन्छिन् । 

तीर्थलाई दीपक जिज्ञासा राख्छन्, ‘हरिदेवी कोइरालाकै पहिलो रेकर्डेड गीतमा बैदाम ताल सुन्छौं । धेरैलाई बैदाम ताल र फेवातालको सन्दर्भ थाहा छैन । फेवा र बैदामको प्रसंग भनिदिनुस् न ?’

फेवातालको पुरानो नाम हो बैदाम ताल। यहाँ तालनजिकै बदाम खेती हुने हुनाले बैदाम ताल नामकरण गरिएको प्रसंग उनी कोट्याउँछन् ।

फेवाताल कसरी रहन गयो भन्ने कुरा अनुसन्धानको विषय रहेको तीर्थ बताउँछन् ।


Author

थप समाचार
x