कला

सलोनको ट्रयाजेडी : अरु निर्देशक बनाउने बाबु शोभित बिगार्ने

इकागज |
बैशाख १६, २०७८ बिहीबार १८:३२ बजे

काठमाडौं : शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘डाँडाको वरपीपल’ले बिहीबार गीत सार्वजनिक गर्यो । शिव श्रेष्ठ र गौरी मल्लको अभिनय रहेको गीतमा सलोन बस्नेतले पनि अभिनय गरेका छन् । तर, शोभित बस्नेतको फिल्म आयो कि फ्यानको चिन्ता बढ्छ, ‘ फेरि शोभितले सलोनको करिअरमा अर्को एउटा फ्लप थप्ने भए ।’

हुन पनि शोभितले छोरालाई जति फिल्म निर्माण तथा निर्देशन गरेका छन्, तिनको हविगत राम्रो छैन । धेरै जसो फिल्म त आएको गएको नै थाहा हुन्न ।  सलोन हिरोको ‘साइडकिक’ मात्र रहने भए चिन्ताले शोभितले ‘एउटा साथी’ बनाएका थिए । तर, यो फिल्मको सुटिङ नसक्दै शोभित बीचमा हराए । लामो समय अड्किएर फिल्म बल्ल बल्ल पूरा भयो । र, रिलिज भएपछि चुपचाप डुब्यो । 


शोभितले ‘बाबु कान्छा’मा दोस्रो पटक छोरालाई हिरो बनाउने प्रयास गरे, तर यसको त ‘एउटा साथी’ बराबर पनि चर्चा भएन । लकडाउनकै समयमा उनले ‘लक्ष्मीपूजा’ बनाएर प्रदर्शन गरे । हल बन्द भएको समयमा डिसहोममा रिलिज भएको यो फिल्मले पनि शोभितको सलोनलाई हिरो बनाउने प्रयत्नमा कत्ति पनि मद्दत गरेन ।

अहिले आएर फेरि शोभितले सलोनलाई ‘डाँडाको वरपीपल’मा निर्देशन गरेका छन् । तर, यसको पनि गीतले गतिलो लक्षण देखाएको छैन । अरु त अरु हल खुल्ने निश्चित नभएको समयमा यो फिल्म पनि डिसहोम वा यस्तै अरु ओटीटीमा मात्र रिलिज हुनेछ र ‘लक्ष्मीपूजा’ झैं कसैको नजरमा पर्नेवाला छैन ।  

अरु निर्माता÷ निर्देशकले सलोनलाई चिनेर उनलाई राम्ररी प्रस्तुत गरेका छन् । यो क्रम ‘होस्टल’ देखि नै सुरु भएको हो । अरुका बाऊ छोराका लागि कति चिन्तित हुन्छन् ? यो कुरा शोभितले सबैभन्दा धेरै संगत गर्ने भुवन केसीलाई हेर्दा पनि थाहा हुन्छ । तर, शोभित छन् कि सलोनको बनेको इमेज पनि बिगार्न उद्यत छन् ।   


Author

थप समाचार
x