कला

‘बल्ल सन्चोसँग सुत्न पाएँ’

सामीप्यराज तिमल्सेना |
बैशाख १९, २०७८ आइतबार १७:४५ बजे

काठमाडौं  : चकमन्न रहेको फिल्म गतिविधिमा ‘दोख’को ओर्जिनल साउन्ड ट्रयाक (ओएसटी)ले हल्ला गरेको छ । सामान्य अवस्था हुन्थ्यो भने यो हल्लाको आवाज चर्कै सुनिन्थ्यो होला तर ‘दोख’को गीत निस्कनु र सहरमा भाइरसको नयाँ भेरियन्टले आतंक मच्चाउनु एकै समयमा भयो ।

त्यसैले गीत ‘दोख’लाई समयको दोखले ओझलमा पारेको छ । तर, यो सिर्जनाका सूत्रधार अनुप बराल ‘दोख’ले पाएको मायाबाट सन्तुष्ट छन् । उनले सात वर्षदेखि बोकिरहेको बोझ खर्लप्पै घटेको महसुस गरेका छन् । 


‘मान्छेको रेस्पोन्स असाध्यै राम्रो छ । यो क्षेत्रभन्दा बाहिरका मानिसले पनि गीत सुनेर उत्साहजनक प्रतिक्रिया दिनु भएको छ,’ बराल भन्छन् । अनुप बरालले ‘दोख’को तयारी गरेको ७ वर्ष पुग्न लाग्यो । २०७२ सालको भूकम्प जाने समयमा अनुप बराल यो फिल्म सुटिङ गर्न ठिक्क परेर बसेका थिए ।

तर, बीचैमा भूकम्प आएपछि सेड्युल गडबड भयो । फेरि जुटेर सुटिङको तयारी गर्दा अरु एक डेढ वर्ष बितिसकेको थियो । यो समयपछि जब फेरि अनुप टिम भेला गरेर फ्लोरमा निस्कन लागेका थिए, भारतले नाकाबन्दी लगायो । अरु ५–६ महिना फिल्म रोकियो । यति गरेपछि जाँदा लामै समय बितेको थियो ।

तर, ‘दोख’को रोकिने यात्रा सुटिङ सकिएपछि पनि सकिएन । प्राविधिक कामका लागि पैसा नपुगेपछि फिल्म तयार हुन अरु ३ वर्ष लाग्यो । यो समय अनुप बरालको जीवनको कठिन समय थियो ।

‘एक चोटि त फिल्म नै रिलिज नहोला भन्ने पीर थियो । फिल्म अड्किएपछि निर्माता पनि थप लगानी गर्न हच्किए,’ बराल सम्झन्छन्, ‘यो फिल्मपछि दुई तीन वटा फिल्मको स्क्रिप्ट लिएर बसेको थिएँ । यो रिलिज नहुँदा ती बनाउने आँट थिएन । म होपलेस थिएँ ।’  

तर, यतिबेला बरालले फिल्मका सम्पूर्ण काम सकाएर हार्ड डिस्क हात पारिसकेका छन् । स्थिति सामान्य भए र दसैँ अगाडि नै रिलिज गर्ने सोचमा पनि छन् । यसैको तयारी स्वरुप फिल्मको ओएसटी सार्वजनिक गरिएको हो । 
अब गीतको कुरा गरौं ।  

अनुप बरालले फिल्मको सुटिङ लोकेसन स्काउट गर्न जाँदा नै कथाको मर्म बोल्ने गीत राख्ने सोचेका थिए । दिमागमा थियो, यताकै रैथाने भाका फिल्ममा राख्ने ।  तर, भोजपुर घुमुन्जेल अनुपले त्यो भाका पाएनन् । लोकेसन हेरेर काठमाडौं फर्कंदा बल्ल त्यो भाका भेटे । 

अनुपका अनुसार भोजपुरबाट काठमाडौं फर्कने क्रममा धनकुटाको पाख्रिवास छेउको लेगुवा खोलामा उनको टोली बास बसेको थियो । यहीँ उनले ठेट पूर्वेली भाकाको गीत भेटे जुन गीत फिल्ममा थिम सङको रुपमा प्रयोग भएको छ । सिनेमाको भाषामा भन्दा ‘एन्ड क्रेडिट टाइटल’मा मात्र यो गीत बज्छ । तर, दर्शकले भने पहिले नै हेर्न पाउने सम्भावना छ । अनुपले अबको दोस्रो कोसेलीको रुपमा यही गीत सार्वजनिक गर्ने सोच बनाएका छन् । 

ओएसटीको रुपमा सार्वजनिक भएको ‘रातैले बुन्छ आकाशमा रुमाल’ भन्ने गीत चाहिँ अनुपले फिल्मको सो–रिल देखाएर श्रवण मुकारुङलाई लेख्न लगाएका थिए । 
‘मैले सुरुदेखि नै दुई गीत राख्ने सोच बनाएको थिएँ तर गीत लेख्नलाई श्रवण मुकारुङबाहेक अर्को विकल्प सोचेकै थिइनँ ।

श्रवण भोजपुरकै मान्छे, भूगोल र संस्कृति दुवै बुझेको । तर, मैले के गरेँ भने फिल्मको टिजर जस्तो बनाएर श्रवणलाई दिएँ । कथा त पहिला नै भनेकै थिएँ । यसपछि यो शब्द आएको हो,’ बरालले भने । 

गीतमा संगीत पुष्पासंगमले दिएका हुन् । संगम पन्तले थुप्रै फिल्ममा पाश्र्व संगीत दिएका छन् । नवीन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौं’ त्योमध्ये एक हो । तर, अनुपले संगमलाई खोजेको ‘एकादेशमा’ फिल्म फेस्टिभलको आइडी सुनेपछि हो । 

‘मलाई एकादेशमाको आइडी खुब राम्रो लागेको थियो । खोज्दै जाँदा संगमजीले गर्नु भएको रैछ । पछि नविन सुब्बाले पनि रेकमन्ड गरेपछि यो गीतमा सहकार्य गर्यौं,’ बरालले भने । पहिले एक्लै संगीत गर्ने संगमलाई श्रीमती पुष्पाले पनि साथ दिएपछि दुवैले पुष्पासंगमको नाममा संगीत गर्न थालेका हुन् ।

‘रातैले बुन्छ आकाशमा रुमाल’ मा अनुपले थोरै प्रयोग गरेका छन् । त्यो हो , संगीतभन्दा स्वरलाई महत्व दिने । अनुपका अनुसार पूर्वका गीत ‘झ्याम झ्याम’ सुन्ने खालका हुन्छन् । धेरैजसो समय स्वरभन्दा संगीत हाबी हुने । गायक मर्ने ।

उनले यो सत्य पुष्पासंगमलाई बताए पछि उनले थोरै बाजा प्रयोग गरेर ‘हियारी’भाकामा ट्रयाक बनाए । हियारीको विशेषता नै यही हो कि यसमा कमभन्दा कम बाजाको प्रयोग हुन्छ । स्वरले नै दर्शक लठ्याउनु पर्छ । नभन्दै भाकाले मागेझैं झुमा लिम्बूले आवाज दिएपछि गीत अहिलेको स्वरुपमा आयो ।

गीतको प्रारम्भिक प्रतिक्रियाले अनुपले सन्चोसँग सुत्न पाएका छन् । एउटै फिल्ममा वर्षौं खर्चंदा के हुन्छ र ? भन्नेले पनि जवाफ पाएको महसुस गरेका छन् । तर, त्योभन्दा पनि अनुप यो फिल्म रिलिज गर्न पाए ७ वर्षदेखि बोकिरहेको बोझ बिसाएर हलुका हुन पाइन्छ भन्ने सोचमा छन् । त्यसैले पाए हलमा, नपाए ओटीटीमै भए पनि रिलिज गर्ने ध्याउन्नमा छन् । तर, ओएसटीले गरेको संकेत हो, यस्ता फिल्म हलकै ‘एक्सपेरियन्स’का लागि बनेका हुन् । ७ वर्षमा अरु ६ महिना थपिँदा के बिग्रला र ?   


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x