कला

विजुलीमाया वन: संगीत अन्तर्राष्ट्रिय पुरस्कारबाट किरण प्रधान सम्मानित

इकागज |
माघ १५, २०७९ आइतबार १९:४ बजे

मकवानपुर- यस वर्षको विजुलीमाया वनः संगीत अन्तर्राष्ट्रिय पुरस्कारबाट वरिष्ठ गायक तथा सङ्गीतकार डा. किरण प्रधान सम्मानित भएका छन् । भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान नेपालले मकवानपुरको हेटौंडामा आइतबार लेखक तथा निर्देशक समेत रहेका प्रधानलाई १ लाख राशिसहित उक्त पुरस्कारबाट सम्मान गरेको हो ।

पुरस्कार  हेटौंडाका कुशल व्यवसायी, सङ्गीतप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमाको नाममा २०६४ सालमा स्थापना गरेका हुन् । वरिष्ठ कलासाधक कवि एवं गीतकार भीम विरागकाे स्मृति दिवसको अवसरमा आइतबार १४ औं पुरस्कार  प्रधानलाई वरिष्ठ साहित्यकार एवं प्राज्ञिक तुलसी थापाले प्रदान गरेका हुन् ।


२०१० सालमा काठमाडौंमा जन्मिएका प्रधानले 'के सोचे मैले के भयो अहिले', 'छातीमा मेरो यो छोटो भोटो', 'भुल हो तेरो भागी हिँड्नु जीवनदेखि', 'रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो', 'पत्थरको मुटु बोकेर मान्छे तिमी नबनिदे', 'अभागी आमा कुन देशमा', 'विपना नभई बाँचिदिने म भित्रका मेरा सपना' लगायत ४ सय बढी गीतहरूमा स्वर दिएका छन् । प्रतिष्ठानले आइतबार हेटौंडामा पुरस्कार समर्पण तथा सांगितिक कार्यक्रमको समेत आयोजना गरेको प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यले जानकारी दिए । पुरस्कृत व्यक्तित्व प्रधानले कार्यक्रममा आफ्ना कालजायी गीत प्रस्तुत गरेका थिए ।

यसअघि विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कारबाट अम्बर गुरुङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), प्रकाश श्रेष्ठ (२०६९), दीप श्रेष्ठ (२०७०), न्हुच्छे बहादुर डंगोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की ( २०७४) दावा ग्याल्माे (२०७७) र दीपक जङ्गम (२०७८) पुरस्कृत भइसकेका अध्यक्ष आचार्यले जानकारी दिए ।

वरिष्ठ कलासाधक कवि एवं गीतकार भीम विरागकाे व्यक्तित्वप्रति सम्मान स्वरूप भाषा साहित्य र कला क्षेत्रकाे संरक्षण एवं सम्वर्द्धन गर्ने उद्देश्यले २०५९ सालमा स्थापना भएकाे प्रतिष्ठानले साहित्य संगीत सांस्कृतिक र कला क्षेत्रमा १२ वटा पुरस्कारकाे व्यवस्थापन गर्दै आएकाे छ ।

गत पुष १ गते शनिबार ६ जना व्यक्तित्वलाई ६ विधाकाे पुरस्कारद्वारा सम्मान गरेकाे थियाे । प्रतिष्ठानले अन्य विधाकाे पुरस्कार छिट्टै प्रदान गर्ने तयारी गरेकाे बताइएकाे छ ।


Author

थप समाचार
x