दैनिक राष्ट्रिय कलाकारकाे प्रस्तुति, हेटौंडामा जारी महोत्सवमा रमाउँदै दर्शक
मकवानपुर- मकवानपुरकाे हेटौंडा १० स्थित टिसिएन चौरमा माघ ११ गतेदेखि जारी महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुतिमा दर्शकहरू उत्साह पूर्वक झुमेका छन् । महोत्सवको पाँचौं दिन माघ १५ गते आइतबार समेत अवलोकन गर्न आएका दर्शक गीतसंगीतमा झुमेका हुन् । यसअघि समेत राष्ट्रिय तथा स्थानीय कलाकारकाे प्रस्तुतिमा दर्शकले भरपुर साथ दिएका थिए ।
आइतबार दर्शकदीर्घामा नाच्दै कम्मर मर्काउँदै गायक रमेशराज भट्टराई र गायिका सहिमा श्रेष्ठको गीतमा दर्शकहरू रमाएका छन् । गायक भट्टराईले बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई…, तिमी लास्टै क्यूटि छौ र म फिदा भाको छु…, आखिर सिन्दुरपोते अर्कैको सजाएर गई…, टन्न पैसा कमाउला भन्थेउ भन्ने गीत लगायत विभिन्न गीत प्रस्तुत गर्दै हेटौंडेली दर्शकलाई नचाएका थिए ।
गीतमा रमाउँदै गरेका हेटौंडेलीहरू स्याण्टअप कमेडीमा चर्चित रहेकी कमेडियन सीता न्यौपानेले सबैलाई हसाउन सफल भएकी छिन् । व्यङ्ग्यात्मक रूपमा प्रस्तुत भएकी न्यौपानेले युवापुस्तालाई व्यङ्ग्य गर्दै सबैलाई हसाएकी थिइन् । शनिबार राष्ट्रिय कलाकार गायिका टिका प्रसाई र गायक किरण भुजेल, कमेडियन राजा राजेन्द्र पोखरेलले आफ्नो प्रस्तुति दिएका थिए ।
सोमबार चर्चित बाल गायक अशोक दर्जी, गायक/संगीतकार टंक बुढाथोकी, गायिका मञ्जु पौडेल, हेटौंडेली कलाकार सुलेमान शंकर ईकु, गायक प्रदीप त्रिपाटी आउने महोत्सवका कलाकार मनोरञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईंले बताए ।
महोत्सवमा हेटौंडा आइडललगायत प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरूले प्रतिस्पर्धा गरिरहेका छन् । महोत्सवलाई हेटौंडाको उत्पादन शिवम् सिमेन्टले प्रायोजन गरेको छ भने सह-प्रायोजकमा युनिलिभर नेपाल लिमिटेड, नेपाल ब्रुअरिज र लक्ष्मी ग्रूप (हुण्डाई) रहेको महोत्सवका मुल संयोजक एवम् मउवा संघका अध्यक्ष कृष्णकुमार गुप्ताले बताए ।
मेला सम्पन्न गर्न जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रवर्द्धकका रूपमा रहेका छन् भने महोत्सवको सह-आयोजकमा बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको मकवानपुर उद्योग वाणिज्य संघले जनाएकाे छ । महोत्सवको टिकट प्रायोजकमा शौर्य सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट रहेको छ । महोत्सवको आधिकारिक बिमा कम्पनीका रूपमा एनएलजी बिमा कम्पनी रहनुका साथै लोगो प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल ईकरात रहेको मुख्य आयोजक संघले जानकारी दिएकाे छ ।
महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको मःम, रैथाने बाली कोदोको पिठो बाटकोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ रहेकाे संघका महासचिव दिपक उप्रेतीले बताए ।
यस्तै मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरू, बालबालिकाका लागि फन पार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरूको दैनिक प्रस्तुति, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरूबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरूसमेत बिक्री वितरण भइरहेको उप्रेतीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया