कला

नयाँ सिजनको ‘अमेरिकन आइडल’ मा पनि टप ७ मा पुगे आर्थर गन

इकागज |
बैशाख २०, २०७८ सोमबार १२:३ बजे

काठमाडौं  : ‘अमेरिकन आइडल’को नयाँ संस्करणमा पनि दिबेश पोखरेल अर्थात् आर्थर गनले दर्शकलाई प्रभावित गर्ने काम जारी राखेका छन् । सोमबार बिहान भएको घोषणा अनुसार दिबेशले यो संस्करणको अमेरिकन आइडलमा टप ७ मा स्थान बनाएका छन् । अघिल्लो संस्करणमा पनि उनले १०, ७ , ५ हुँदै रनरअपसम्मको यात्रा तय गरेका थिए । 

दुई हप्ता अघि अर्थात् वैशाख ६ मा दिबेशले अमेरिकन आइडलको १९ औं संस्करणमा कमब्याक प्रस्तुति दिएका थिए । सो दिन उनले गो गो डल्सको ‘आइरिस’बोलको गीत गाएका थिए । तीनै निर्णायक लियोनल रिची, केटी पेरी, ब्रायनले दिबेशको गायनको प्रशंसा गरेका थिए । 


उनको यो प्रस्तुति पछि भोटिङको समय दुई हप्ता राखिएको थियो । बीचमा अस्करको समारोह पर्ने भएकाले आइडल अघिल्लो हप्ता प्रसारण भएको थिएन । त्यसैले अप्रिल २६ सम्म भोटिङ गर्न पाउने समयसिमा तोकिएको थियो । सोही भोटिङबाट अघिल्लो संस्करणबाट प्रतिस्पर्धा गर्न आएका १० जनामध्ये एक जनाले नयाँ संस्करणमा अगाडि बढ्न पाउने प्रावधान थियो । यहाँ आर्थरले बाँकी प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्ट १० मा ठाउँ बनाएका थिए । 

यही १० जननले आइतबार आइडलको मञ्चमा गाए । यसबाट ३ जना छाँटिएपछि अर्को चरणका लागि ७ जना छानिए । यही ७ मा आर्थर गनले पनि स्थान बनाएका हुन् । आइतबारको एपिसोडमा फिल्मको गीत गाउनु पर्ने थियो । यही अनुसार आर्थरले ‘कोको’ फिल्मको ‘रिमेम्बर मी’ बोलको गीत गाएका थिए । उनको गीतबाट दर्शक फेरि एक पटक प्रभावित भएपछि उनलाई टप ७ मा पुग्ने भोट हालेका थिए ।

 टप ७ मा परेसँगै आर्थरले आफूलाई भोट गर्ने दर्शक र अमेरिकन आइडललाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा गीत गाउँदै गरेको समयको फोटो राख्दै उनले अमेरिकन आइडलको स्टेजमा फेरि उक्लने कुरा आफूले सपनामा पनि नचिताएकोे बताएका छन् । 

अब टप ७ बाट टप ५ छानिन्छन् र टप फाइभबाट टप ३ हुँदै विजेता । अमेरिकन आइडलले गत सालको कोभिड–१९ का कारण रेकर्ड लेबल नपाएका गायकलाई मौका दिने उद्देश्यले यो संस्करणमा एक पटक भिड्ने मौका दिएको थियो । आर्थर गनले त्यही मौका छोपेर यात्रा अगाडि बढाएका छन् । 

तर,आर्थर टप ७ मा छनोट भएसँगै अमेरिकन आइडलले सुरु गरेको यो प्रावधान विवादमा परेको छ । अघिल्लो संस्करणको मानिस छिर्दा नयाँ संस्करणको मानिसको मौका स्वतः कम हुने आलोचकको धारणा छ । अझ आर्थर गनसँग अघिल्लो संस्करण देखि नै बलियो फ्यानबेस रहेकाले यसको सिधा फाइदा उनलाई हुने र बाँकी प्रतिस्पर्धीमाथि अन्याय हुने धेरैको धारणा छ ।  
 


Author

थप समाचार
x