कला

कट्रिनाले छाडेका यी फिल्म जसले बनाए दीपिका पादुकोनलाई महंगो हिरोइन

इकागज |
बैशाख २०, २०७८ सोमवार १४:५४ बजे

मुम्बई :  कट्रिना कैफले ‘बुम’ जस्तो हल्काफुल्का फिल्मबाट अभिनय यात्रा सुरु गरेकी थिइन् तर सलमान खानसँगको संगतपछि उनको करिअरले भुइँ छुनै नपर्ने गरी उडान भर्यो । यो क्रममा उनले एकसेएक सफल फिल्ममा काम गरिन् ।

तर, यही चक्करमा यस्ता फिल्म छाडिन् जसले अर्को हिरोइनको करिअर कहाँबाट कहाँ पुग्यो । अरुभन्दा पनि दीपिका पादुकोन यो मामलामा भाग्यमानी रहिन् । कट्रिनाले छाडेका केही फिल्म उनको पोल्टामा परे जुन कालान्तरमा सुपरहिट भए । 
चेन्नई एक्सप्रेस
‘कहाँ पाइस् यस्तो बकबास डिक्स्नेरी’ मिनम्माको यो संवाद कसले बिर्सन सक्छ ? तर, कल्पना गर्नुस् त दीपिका पादुकोनको ठाउँमा यो संवाद कट्रिनाले बोलेको भए कस्तो सुनिन्थ्यो ? फिल्म हेरिसकेपछि त दिमागमा दीपिका बाहेक अरु कुनै आउने चान्स नै छैन । तर, यो फिल्म दीपिकालाई अफर हुनुअघि कट्रिनालाई अफर गरिएको थियो । एमटिभी इन्डिया डटकमका अनुसार यो फिल्म कट्रिनाले छाडेकी थिइन् उच्चारण र लवजको कारण देखाउँदै । उनले आफ्नो  चरित्रले मागे जस्तो लवज बनाउन नसक्ने देखेपछि निर्देशक रोहित सेठ्ठीलाई ‘सरी’ भनेकी थिइन् । पछि दुवैले ‘सूर्यवंशी’मा सहकार्य गरेका थिए । 


बाजीराव मस्तानी 
यो फिल्म पनि हेरिसकेपछि अरु कोही हिरोइनले दीपिकाले बराबर न्याय गर्न सक्थे भन्या जस्तो नलाग्न सक्छ तर सत्य यो हो कि यो फिल्मको पनि पहिलो रोजाइ दीपिका होइन कट्रिना थिइन् । यो फिल्मका लागि सञ्जयलीला भन्सालीको पहिलो रोजाइ सलमान खान र ऐश्वर्या राय थिए । तर, दुवैको छुट्टानाम भयो । यसपछि भन्सालीले रनवीर सिंह र कट्रिनालाई लिएर फिल्म बनाउन खोजेका थिए । तर, कट्रिनाले आफूभन्दा कान्छा रनवीरसँग के रोमान्स गर्नु भनेर यो फिल्म गर्न मानिनन् । अन्तिममा भन्सालीले दीपिका र रनवीरलाई लिएर फिल्म बनाए जुन सुपरहिट भयो । 

बर्फी 
रनवीर कपुर र कट्रिना कैफको अफेयर भर्खर सुरु भएको थियो । यो चाल पाएका अनुराग बसुले कट्रिनालाई ‘बर्फी’ अफर गरेका थिए तर उनले यो खान स्वाद मानिनन् । प्रियंका चोपडा पहिला नै अर्को रोलका लागि तय थिइन्, बसु चाहान्थे अर्को रोल कट्रिनाले गरुन् । तर, रोलमा त्यति धेरै स्कोप नदेखेपछि कट्रिनाले मानिनन् । पछि यो रोलबाट दक्षिणकी इलियाना डिक्रुजले बलिउड डेब्यू गरिन् । 

रामलीला
कट्रिनाले रनवीर सिंहसँग फिल्म खेल्न अस्वीकार गरेको अर्को फिल्म हो ‘रामलीला’ । तर, यो फिल्मले दीपिकालाई सय करोड क्लबको सदस्य मात्र बनाएन, श्रीमान्को रुपमा रनवीर सिंह पनि दिलायो । यही फिल्मबाट दीपिका र रनवीरको अफेयर सुरु भएको थियो । 

ये जवानी है दिवानी 
धेरैलाई पत्याउन मुस्किल पर्छ, यो फिल्म पनि कट्रिनाले अस्वीकार गरेकी थिइन् । र संयोग पनि यस्तो पर्ने कि जति फिल्म उनले अस्वीकार गरिन् ती सबै फिल्म दीपिकाको पोल्टामा परे । यो फिल्म किन अस्वीकार गरिन् उनले अहिलेसम्म पनि खुलेको छैन । 


Author

थप समाचार
x