कला

निफमा छलफलको लाइनअप : बलिउड निर्देशक अनुराग कश्यपदेखि प्रताप सुब्बासम्म

इकागज |
बैशाख २१, २०७८ मंगलबार १७:२६ बजे

काठमाडौं : महामारीको बीच पनि हुन लागेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)ले फेस्टिभलको पूर्व सन्ध्यामा छलफलका विषय र तिनमा सहभागी हुने वक्ताको नाम सार्वजनिक गरेको छ । आयोजक नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष तथा फेस्टिभल निर्देशक केपी पाठकले फेस्टिभल अवधिभर नेपाली सिनेमा सम्बन्धी विभिन्न विषयमा छलफल हुने जनाएका छन् । 

२३ गतेदेखि २७ गतेसम्म चल्ने फेस्टिभलमा नियमित फिल्म प्रदर्शनसँगै समानान्तर रुपमा छलफल पनि चल्नेछन् ।  आयोजकका अनुसार उद्घाटनको दिन बलिउड निर्देशक अनुराग कश्यपले दिउँसो साढे तीन देखि १ घन्टासम्म फिल्मको बारेमा बोल्नेछन् भने २४ गते विजय सुब्बा, विश्वप्रकाश शर्मा, सत्या पहाडी, गंगा नारायण श्रेष्ठ ‘राजनीतिज्ञको दृष्टिमा चलचित्र’ बारेमा बोल्नेछन् । ११ बजेदेखि डेढ घन्टा चल्ने छलफललाई राजेश थापाले सहजीकरण गर्नेछन् । 


२५ गते भने दुई विषयमा सहभागीबीच छलफल हुनेछ । यो दिनको पहिलो सेसनमा  ‘नेपाली चलचित्रमा महिलाको सहभागिता’ शीर्षकमा करिष्मा मानन्धर, दीपाश्री निरौला, रक्षा सिंह रानासँग सम्झना उप्रेति रौनियारले छलफल चलाउनेछिन् भने यो लगत्तै दार्जिलिङबाट पाका निर्देशक प्रताप सुब्बा जोडिनेछन् । दुई बजेपछिको समयमा उनले नेपाली सिनेमासँग जोडिएका अनुभव सुनाउनेछन् । 

२६ गते अर्थात आइतबार यादव भट्टराईले ‘कोरोना पछिको चलचित्र बजार’ शीर्षकमा  रेखा थापा, अशोक शर्मा, अर्जुन कुमार, मनोज अग्रवालसँग बहस गर्नेछन् । यो छलफल ११ बजेदेखि साढे १२ सम्म चल्नेछ ।  

फेस्टिभलको अन्तिम दिन दीपेन्द्र लामाले ‘कहाँ छ नेपाली चलचित्र’ शीर्षकमा कृष्ण धराबासी, बबिता बस्नेत, युग पाठक, अनुभव अजित, प्रकाश भट्टराईसँग छलफल गर्नेछन् । यो छलफल १ बजेदेखि चल्नेछ । 
 


Author

थप समाचार
x