कला

यसकारण ओटीटी र हल दुवैमा रिलिज हुँदैछ ‘राधे’

इकागज |
बैशाख २३, २०७८ बिहीबार ११:२४ बजे

मुम्बई :  अघिल्लो वर्ष नै ‘राधे’ तयार भएर प्रदर्शनका लागि तयार थियो । तर, कोभिड १९को महामारीले भारतमा हल बन्द भएपछि हलमा रिलिज हुने सम्भावना टर्दै गयो । यता ओटीटी प्लेटफर्मवालाको नजर पनि ठूला स्टारका फिल्ममा थियो ।

ठूलो स्टारका ठूला फिल्म लिन सके सब्स्क्राइबर बढाउन सकिने ताक उनीहरुको थियो । यही कारण उनीहरुले अक्षयकुमारदेखि सलमान खानसम्ममा जोड लगाए । त्यसबेला अक्षयको ‘लक्ष्मीबम’सँगै ‘सूर्यवंशी’ र सलमानको ‘राधे’मा उनीहरुको बल थियो । यो थाहा पाएका हल संचालकले अक्षयकुमार र सलमान दुवैसँग हारगुहार गरेर हलमै रिलिज गर्न आग्रह गरे ।


हल संचालकको यो आग्रह टार्न नसकेर सलमानले  ‘राधे’ हलमै रिलिज गर्ने वचन दिए । यता अक्षयकुमारले भने ‘सूर्यवंशी’ हलमै रिलिज गर्ने तर ‘लक्ष्मीबम’ भने डिज्नेलाई बेचिदिए । ‘लक्ष्मीबम’ डिज्ने प्लसमा रिलिज भयो तर फिल्म गतिलो नभएका कारण राम्ररी गाली खायो ।

यता संक्रमण मथ्थर हुन थालेपछि हल खुल्न थाले र सरकारले अकुपेन्सी ५० बाट १ सय प्रतिशत बनाएसँगै धमाधम फिल्मले प्रदर्शन मिति तोक्न थाले । सलमानको ‘राधे’ले पनि मे १३ का प्रदर्शन मिति तोक्यो । फिल्मको टिजर निस्कियो, गीत सार्वजनिक हुने मिति आयो ।

तर, यही बीचमा भारतमा कोभिड १९ को नयाँ लहर फैलियो । सलमानले बाध्य भएर फिल्म ओटीटीलाई बेच्ने निर्णय गरेर जि प्लेक्सलाई फिल्म बेचे । तर, उनले बाँकी निर्माताभन्दा फरक फिल्मलाई हलमा र ओटीटीमा एकै दिन रिलिज गर्ने निर्णय गरे । 

अब फिल्म दर्शकले हलमा चाहे हलमा वा घरमा बसेर हेर्न सक्छन् । यो निर्णय भने उनले हलवालाको अनुरोधका कारण लिएको अभिनेत्री  दिशा पटानीले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा बताएकी छिन् । 

सलमानको यो निर्णयले बलिउडमा हाइब्रिड मोडलको सिनेमा रिलिजको सुरुवात गरेको छ । यसको असर के हुन्छ त्यो भने आउँदो शुक्रबार पछि मात्र थाहा हुने विश्लेषकले बताएका छन् । 


Author

थप समाचार
x