कला

हृदयाघातका कारण गायक प्रेमध्वज प्रधानको निधन

इकागज |
बैशाख २३, २०७८ बिहीबार १५:५ बजे

काठमाडौँ :  गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८३ वर्षको उमेरका प्रधानको काठमाडौँ न्यूरो अस्पतालमा निधन भएको प्रधानका जेठान छायांकार मन्जुकुमार श्रेष्ठले बताए ।  श्रेष्ठका अनुसार निधनको कारण भने हर्ट हट्याक हो । प्रधान दस दिनदेखि अस्पतालमै थिए । 

सिन्धुपाल्चोकको  चौतारामा सन् १९३८ मा जन्मिएका प्रधानले १६ वर्षको उमेर रेडियो नेपालमा स्वर परीक्षा पास गरेका थिए । आमा प्राणदेवी प्रधान र गणेशलाल श्रेष्ठबाट संगीतको प्रारम्भिक शिक्षा लिएका प्रधानले ‘याद आइरहेछ कसैको यो अँधरी रातमा’ पहिलो रेकर्डेड गीत थियो । 


नेपाल भाषा, नेपाली र फिल्म संगीतमा उत्तिकै रुचाइएका प्रधान भारतीय गायिकासँग युगल गीत गाउने पहिलो गायकको रुपमा पनि लिपिवद्ध छन् । उनले सर्वप्रथम ‘माइतीघर’ फिल्मका लागि उषा मंगेशकरसँग युगल गीत गाएका थिए ।  त्यसैगरी उनले ‘मायालु’ फिल्मका लागि आशा भोस्लेसँग पनि युगल गायन गरेका थिए । 

‘गोरेटो त्यो गाउँको’ ‘घुम्तीमा नआऊ है’, ‘यो नेपाली शिर उचाली’ ,‘तारा मात्र हैन’ ‘राजमति’  आदि उनले गाएका सदाबहार गीत मानिन्छन् । उनले भजन, नेपाल भाषा नेपाली फिल्म र सुगम संगीत गरी ७ सयभन्दा बढी गीतमा आवाज दिएका छन् । 

उनका ‘हिमालयन बुकेत फ्रम स्विगिङ काठमाडौं’ , ‘हिट सङ्स फ्रम दि गोल्डेन भ्वाइस या प्रेमध्वज प्रधान’, ‘घाइते जवानी’ ‘माया नमार’ ‘कतै यो सहरमा’ आदि एल्बम प्रकाशित छन् । नारायण गोपाललाई गायनमा ल्याउन प्रेमध्वज प्रधानको ठूलो हात थियो । प्रधानले नै नारायण गोपालको हात समातेर रेडियो नेपालसम्म लिएर गएका थिए ।

प्रधानले बागीनामा लेखेको संस्मरणमा यो घटनाको उल्लेख गर्नुका साथै पछि नारायण गोपाल दार्जिलिङका स्रष्टासँग नजिकिएपछि आफूहरु टाढिँदै गएको बताएका थिए । प्रेमध्वज प्रधानले ‘माइतीघर’ गीतसँगै अभिनयको पनि प्रस्ताव पाएका थिए ।

तर, उनले गीत गाउन आएको गीत मात्रै गाउँछु भनेर अभिनयको प्रस्तावलाई अस्वीकार गरेका थिए । पछि उनले अस्वीकार गरेको भूमिका सिपी लोहनीले गरेका थिए । प्रेमध्वज प्रधानका एक श्रीमति किरण प्रधान र प्रशन्न र कबीर नामका दुई छोरा छन् । दुवै अमेरिकामा रहेकाले उनीहरुको अनुपस्थितिविनै आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको मन्जुकुमार श्रेष्ठले जनाएका छन् ।  

यो पनि : 


Author

थप समाचार
x