कला

‘नेपालमा तपाईं एउटा राम्रो फिल्म बनाउनुस्, सारा देशले त्यसमाथि गर्व गर्छ’

इकागज |
बैशाख २४, २०७८ शुक्रबार १२:३६ बजे

काठमाडौं  : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण बिहीबार सुरु  भयो । पहिलो दिनको औपचारिक उद्घाटनको सत्रपछि फेस्टिभलमा  बलिउडबाट अनुराग कश्यप जोडिएका थिए । सो क्रममा अनुरागले युवा फिल्ममेकर उत्पल झासँग  कुराकानी गरेका थिए । कुराकानीमा अनुराग कश्यपको फिल्म यात्रासँगै, उनका सिनेमाको शैली, लेखन शैली र नेपाली फिल्मको सम्भावनाका सम्बन्धमा पनि कुराकानी भएको थियो ।नेपाली फिल्म ‘सेता सूर्य’ र ‘कालो पोथी’ हेरेको बताउने उनले सगरमाथा वरिपरि खिच्ने गरी आफूसँग एउटा कथा तयार रहेको पनि बताएका थिए । उत्पल र अनुरागबीचको कुराकानीका मुख्य अंश हामीले यहाँ प्रस्तुत गरेका छौं । 

तपाईंलाई धेरै युवा फिल्ममेकरले आफ्नो आदर्श मान्छन् । सिनेमा भन्नु नै अनुराग कश्यप हो भन्ने जस्तो पनि भएको छ ? तपाईंको यो यात्राका मुख्य रचनात्मक तत्व के थिए ? 
पहिलो कुरा त मैले कहिले पनि काम गर्न छाडिन । म बलिउडका लागि आउटसाइडर थिएँ । यस्तो बेलामा के हुन्छ भने तपाईं फिल्म बनाउन चाहानुहुन्छ जुन बनाओस् भनेर कोही पनि चाहाँदैन । किनकि तपाईंसँग आफ्नो विचार हुन्छ र त्यसलाई हेर्ने आफ्नै दृष्टिकोण हुन्छ । मुख्य कुरा के हो भने तपाईं आफ्नो प्वाइन्ट भ्युमा अडिरहनु पर्छ । 


दोस्रो कुरा तपाईंले ‘लाइक माइन्डेड’ मान्छेहरु खोज्नु पर्छ । मैले त्यही गरेँ । अनि अर्को कुरा तपाईं सधैंभरी अस्वीकृत हुन पनि तयार रहनु पर्छ । जब मेरो एउटा स्क्रिप्ट अस्वीकृत भयो, मैंले अर्को लेखेँ । यो क्रम संघर्षका दिनमा मात्र हैन अहिले पनि चलिरहेको छ ।

मैले जुन फिल्म लेखेँ त्यो बन्दै बनेन । सुटिङ गरेँ, ९० प्रतिशत काम सकेर लकडाउनका कारण अड्कियो । यहाँ पछि फेरि अर्को फिल्म लेखेँ । यो पनि बनेन । यसपछि मैंले फेरि अर्को फिल्म सुट गरेँ । यी सब गतिविधि दुई वर्षयताका हुन् । यसपछि मैले ७ सय पेजको स्क्रिप्ट लेखेँ । यो पनि तत्काल नबने भयो । अस्ति मात्र मैंले अर्को फिल्मको स्क्रिप्ट सकेको छु । पाँच लेखेँ, बनाएँ रिलिज नै भएन । ‘ब्ल्याक फ्राइडे’ रिलिज भएन । ‘कालीचरण’ लेखेँ, बन्दै बनेन । ‘गुलाल’ पनि बेलामा रिलिज भएन । तर, लेख्न छाडिन ।

के बाध्यता छ तपाईंलाई फिल्म नै बनाउनु पर्ने ? 
मसँग अरु कुनै च्वाइस छैनन् । म मध्यमवर्गीय परिवारमा जन्मिएँ । बुबाआमाले दुःख गरेर हुर्काए । मध्यम वर्गीय बुबाआमाको चाहाना हुन्छ सन्तानले सुरक्षित पेसा अपनाऊन्  र बदलामा बुबाआमालाई केही गरुन् । म फिल्म बनाउन चाहान्थेँ तर भन्ने हिम्मत थिएन । एक चोटि भनिसकेपछि मसँग अरु कुनै च्वाइस छैनन् ।

लेखन मज्जाको प्रक्रिया हो । जब मैंले लेख्न सुरु गरेँ, मैंले पैसाका लागि लेखिन न त क्रेडिटका लागि लेखेँ । जस्तो सुकै लेख्ने कामको प्रस्ताव म खुशीसँग स्वीकार गर्थेँ । अभ्यास गरिरहन्थेँ । किनकि म फिल्म स्कुल जान पाइँन ।

मैले कहिले कामलाई नाइँ भनिनँ किनकि यसले तपाईंमा केही न केही थप्छ । धेरै फिल्ममेकरहरु प्रतीक्षामा रहन्छन् , दुनियाँले उनीहरुलाई बुझोस् । यस्तो फिल्म लेखुँ जो बन्ने निश्चित होस् । लेखेको फिल्म बन्छ नै भन्ने कुनै ग्यारेन्टी हुन्न । तर म चैं फिल्म बन्दैन भन्ने लाग्दा लाग्दै पनि उत्तिकै प्यासनका साथ लेख्छु । 


यस्तो कुनै विषय छैन होला जुन अन्तर्वार्तामा तपाईंलाई नसोधिएको होस् । तर, मैंले लामो समयदेखि सोध्न चाहेको प्रश्न हो, किन सिनेमा नै ? 
खोजेको कुरा पाइरहेको छैन भने त्यो संघर्ष हो । यदि तपाईंले खोजेको कुरा पाइरहनु भएको छ भने त्यो संघर्ष हैन । मैले कहिलै पनि संघर्ष गरेको महसुस गरिँन । मैले मुम्बई आएर पहिलो फिल्ममा काम पाउन १४ वर्ष लाग्यो तर मलाई त्यो संघर्ष थियो भन्ने लाग्दैन । 

करिअरको कुन बिन्दूमा तपाईंलाई ल अब चैं केही भयो है भन्ने लाग्यो ? टर्निङ प्वाइन्ट भन्ने जस्तो हुन्छ नी ? 
‘सत्या’को रिलिज । यो फिल्म रिलिज भएपछि धेरै कुरा बदलियो । त्यो भन्दा पहिला एउटा फिल्म थियो लट्टु शंकर । त्यो फिल्ममा आफ्ना नाम देख्दा खुशी भएको थिएँ ।  तर, ‘सत्या’ले मेरो बाटो सजिलो बनाएको थियो । 

आज तपाईं एक साथ थुप्रै काम गरिरहनु भएको हुन्छ, निर्देशन, निर्माण, सहनिर्माण । यति धेरै काम गर्न केले प्रेरित गर्छ ? 
मसँग अरु के काम छ त ? मैले माथि पनि भनेँ नी एउटा फिल्म लेखेको थिएँ त्यो बनेन । तुरुन्तै अर्को लेखेँ जसको अप्रिलको सुरुसम्म सुटिङ गरिरहेको थिएँ । फेरि अर्को एउटा लेखिसकेँ । मलाई धेरै कथा भन्नु छ । भारत वा विश्वमै भनुँ  विगत ५–६ वर्षयता राजनीतिक, आर्थिक अनि अरु धेरै कुरामा परिवर्तन आएको छ ।

अहिलेको यो महामारी त छँदैछ । फिल्ममेकरको रुपमा हामीलाई धेरै कुरा भन्न सक्ने वातावरण छ । सिनेमा बनाउँदा नै हामीलाई यसले धेरै कुरा दिइरहेको हुन्छ । यही समयमा मलाई नयाँ फिल्ममेकरको कामले पनि पुनर्ताजगी दिन्छ ।

अनुभव सिन्हा, उनले थुप्रै फिल्म बनाए र अन्त्यमा ‘मुल्क’बाट आफूलाई रिइन्भेन्ट गरे । भर्खरै ‘अजिब दास्तान’ हेरें । नयाँ फिल्ममेकरले हामीले सोच्दै नसोचेको कुरामा फिल्म बनाइरहेका छन् । यसले मलाई पनि च्यालेन्ज गरेको महसुस हुन्छ । 

हामी कुरा गरिरहँदा नै यस्तो प्रश्न आयो , के तपाईं नेपालमा सुटिङ गर्न इच्छुक हुनुहुन्छ ? 
निश्चय नै छु । म धेरै वर्ष पहिले नेपाल आएको थिएँ । मेरो भित्री ईच्छा नै एभरेस्टको बेसक्याम्पसम्म पुग्ने छ । मसँग विषय पनि छ, हाइअल्टिच्युडमा गोठालाको कथा भन्ने । चाँडै नै गर्छु म । 
फिल्मको विषयको कुरा गर्दा  सामाजिक यथार्थवाद वा वरपरको वातावरणसँग कति प्रभावित हुनुपर्छ ? हुनुहुन्छ ? 
मैले बनाउने फिल्ममा त समाजको पूरा प्रभाव रहन्छ । आज तपाईंले जर्मनीको रोजलिनीको फिल्म हेर्नु भो वा विमल रोयको फिल्म हेर्नु भो भने तपाईंले उसबेलाको समाज देख्नु हुन्छ । ‘ग्याङ्ग्स अफ वासेपुर’ साना साना सहरमा भइरहेका राजनीतिक परिवर्तनको दस्तावेज हो ।

मैंले बनाएका फिल्ममा कथा लेखेपछि यो लोकेसनसँग एकाकार हुन्छ । यो आर्ट टाइपका फिल्ममा मात्र होइन , ‘मनमर्जियाँ’ जस्तो कमर्सियल फिल्ममा पनि हुन्छ । जब म सुटिङका लागि अमृतसर गएँ, त्यहाँको हरेक कुरा फिल्ममा एडप्ट गरेँ । पछि पनि यो फिल्म हेर्दा ए, यो अमृतसरमा सुटिङ गरिएको रैछ भन्ने थाहा हुन्छ । आजभोलि म हरेक सिनेमामा यही गर्छु । 

नेपाल जस्तो देशको फिल्ममेकर जोसँग सपना त ठूलो छ तर बाँकी सब कुरा लिमिटेड छ, कसरी परिणाममुखी काम गर्ने ? 
फिल्ममेकरको रुपमा हामीले केही ‘गिफ्ट’ पाएका छौं जुन अरुसँग छैन । हामी कलाको त्यस्तो विधामा छौं जुन विश्वभरीले हेर्छन् । भनिन्छ नी , ‘लोकल इज ग्लोबल’ जति पर्सनल कथा भन्नु हुन्छ त्यति त्यो युनिक हुन्छ । 

संसारमा यस्तो देशले गज्जबको फिल्म बनाएको छ जहाँ फिल्म उद्योग नै छैन । अनि त्यो एउटा फिल्मले तपाईंको उद्योग बनाउँछ । म सबैलाई भन्छु कम्तीमा यत्तिको महत्वाकांक्षा राख्नुस् । एउटा फिल्म बनाएर नेपाललाई भयंकर उद्योग बनाउँछु भन्ने सोच्नुस् ।

एउटा फिल्मले कोरिएन सिनेमालाई हेर्ने धारणा बदलिदियो । अमेरिका, चीन, जापान र भारत ठूला फिल्म उद्योग हुन् । सुरु सुरुमा रसिया पनि । र संसारको धेरै ठाउँमा फिल्म उद्योग थिएन । आज जहाँ ओटीटी प्लेटफर्म छन्, यसले संसारलाई जोड्छ ।

सारा नेपालले नेटफ्लिक्स हेर्छ । तर फन्डिङसम्म कसरी पुग्ने ? संसारभर जताजतै पाइन्छ । यसको लागि स्क्रिप्टदेखि सुरु गर्नुपर्छ । सन्डान्स स्क्रिप्ट ल्याब छ, बुसान छ, बर्लिन स्क्रिप्ट ल्याब, एसिया पेसिफिक र भारतको पनि फिल्म बजार छ । यी ठाउँमा गएर निर्माता भेट्ने ।

युरोप र विश्वका धेरै ठाउँमा फिल्म फन्डको व्यवस्था छ । यी सबै फन्ड संसारभरका फिल्ममेकरका लागि खुला छन् । खालि त्यहाँको निर्माता स्थानीय हुन जरुरी छ । त्यसैले स्थानीय निर्माता भेट्टाउने कुरा उत्तिकै महत्वपूर्ण छ ।  

सर्ट फिल्म बनाउनुहोस् तगडा । उनीहरु आफैं सोध्न आउँछन्, ‘अरु के ईच्छा छ ? अरु के बनाउन चाहान्छस् ? तपाईको चलचित्रको हिस्सा बन्न पाउँदा उनीहरु गर्व महसुस गर्छन् । फिल्ममेकरको काम भनेको लगानीकर्ता खोज्नु होइन । उसको काम भनेको राम्रो कथा लेख्नु हो जसले लगानीकर्तालाई तान्न सकोस् । तपाईंका लागि पैसा खोजिदिने अरु नै आउँछ । म कहिलै पनि फिल्म बनाउन पैसा खोज्न हिँडिन ।

मैले यस्तो मान्छे खोजँे जसले मेरा लागि पैसा खोजेर ल्याउँछन् । कोही मानिस आउँछ । म उसका लागि फिल्म लेख्छु । कथा सुनेर उसले भन्छ, यो फिल्म त कसैले पनि हेर्दैन । उसले भन्छ, अर्को लेख । फाइन । म अर्को लेख्छु । उसलाई मन पर्छ ।

भन्छ, ‘ल म यसका लागि पैसा खोज्छु ।’ म भन्छु ,‘ ल दर्शकले हेर्छ भनेको सिनेमा तँ बना । तर, जुन दर्शकले हेर्दैन त्यो म बनाउँछु । यसका लागि पनि पैसा खोजिस् भने बल्ल म यो सिनेमा दिन्छु ।’ यसरी म दुवै सिनेमा बनाउँछु । लेखेको ७ वर्षपछि मैले ‘अग्ली’ बनाएको हुँ । ‘मुक्काबाज’ बनाउने सर्तमा मैले ‘मनमर्जियाँ’  बनाएको हुँ । 
नेपाल जस्तो देशलाई बेग्लै एडभान्टेज छ । यहाँ मैले उद्योगसँग डिल गर्नुपर्छ । खास मानसिकतासँग डिल गर्नुपर्छ । यो काम गर्छ यो गर्दैन भन्ने चिन्ता सधैं छ यहाँ । तपाईं नेपालमा तपाईं एउटा राम्रो फिल्म बनाउनुस् सारा देशले त्यसमाथि गर्व गर्छ ।

यहाँ मेरो कुनै फिल्म फेस्टिभलमा गयो भने पनि बाह्रथरीको कुरा सुन्नुपर्छ । यो जान पर्ने त्यो गयो, त्यो जान पर्ने यो गयो । तपाईंलाई फाइदा छ । अहिले भारतमा पूर्ण वाक् स्वतन्त्रता छैन । तर, सिनेमाका लागि यही सही समय हो । इरानमा जताततै बन्देज थियो । आवाज थिएन । तर, सिनेमामा उनीहरुले बोली भेट्टाए । 

तपाईंले कुनै नेपाली सिनेमा हेर्नु भएको छ ? 
दुई तीन वर्ष भयो हेरेको छैन । 

पछिल्लो समय कुन नेपाली फिल्म हेर्नु भएको थियो ? 
मेरो स्मरण शक्ति उति सारो गतिलो छैन । तर, पछिल्लो समय हेरेकोमा दीपक रौनियारको फिल्म ‘सेतो सूर्य’ हो । मैले भिमियोमा हेरेको थिएँ । अर्को चाहिँ  मीनबहादुर भामको ‘कालो पोथी’ हो । अमेरिकामा डिभिडी भेटेर लिएको हँु । त्यसैले भन्छु यो गर्वको विषय हो । मैले मीनलाई लेखेको पनि थिएँ । दीपकसँग त भेट पनि भएको छ । 

समकालीनमा तपाईं कसको कामबाट प्रभावित हुनुहुन्छ ? धेरै होलान् तर पनि ? 
मलाई अमर तासकलान्ते मन पर्छ । जेभियर डोलानको ‘ममी’ पनि मन पर्छ मलाई । कोरियाका बङ जून हो । भारतको फिल्ममेकरमा मलाई भासन बाला , निरज घेवान, भास्कर हजारिक मन पर्छ । दीपक र मीन पनि । 


 
 


Author

थप समाचार
x