कला

‘जुनुको जुत्ता’लाई रसियामा बेस्ट सर्ट फिल्मको अवार्ड

इकागज |
बैशाख २४, २०७८ शुक्रबार १५:३३ बजे

काठमाडौं : नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता (द सुज अफ अ लिटल गर्ल)’ले अर्को अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । केदार श्रेष्ठ निर्देशित फिल्मले रुसको ‘फेस्टप्रो फिल्म फेस्टिभल’मा बेस्ट सर्ट फिल्मको अवार्ड जितेको हो । 

रुसकै ‘द फाइनल स्ट्यान्ड’ले बेस्ट फिचर फिल्म, चिलीको ‘द ब्वाय एण्ड द माउन्टेन’ले बेस्ट एनिमेटेड फिल्म, जर्मनीको ‘टेल्स अफ लाइट’ले बेस्ट चिल्ड्रेन्स फिल्मको अवार्ड पाउँदा नेपालको ‘जुनुको जुत्ता’ उत्कृष्ट सर्ट फिल्म घोषित भएको हो ।  


‘जुनुको जुत्ता’ले गत मार्चमा अमेरिकाको वामकिड्स फिल्म फेस्टिभलमा पनि बेस्ट लाइभ एक्सन सर्ट फिल्मको अवार्ड जितेको थियो । त्यस्तै अप्रिलमा बुसान इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल अन्तर्गत कोरियाको सिनेमा घरमा प्रदर्शन भएको थियो । 

‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय यात्राका क्रममा इटालीको फिल्म फेस्टिभल ‘कोर्टी अ पोन्टी’, सिंगारपुरको दसौं ‘सिंगापुर इन्टरनेसनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’मा छनौट भई यसै मे महिनामा प्रतिस्पर्धा गर्दैछ ।  

लगत्तै आउँदो जुनको पहिलो साता जर्मनीको अर्को प्रतिष्ठित फिल्म फेस्टिभल ‘सर्ट फिल्म फेस्टिभल–हमबर्ग’को मो एन्ड फ्रिस सेक्सन अन्तर्गत पनि प्रतिष्पर्धा गर्दैछ । यो फिल्म गत वर्ष जर्मनीकै ६६ औं इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल–ओवरहोउसेनमा अवार्ड लिएको थियो । 

सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेनमा जर्मनी प्रतिष्पर्धा बाहेक अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा एक सय फिल्म छनौट गरिन्छ । जसमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एन्ड युथ फिल्म कम्पिटिसन’ विधा अन्तर्गत छनौट भएको हो । 

‘जुनु’ पात्रमा केन्द्रित रहेर १० वर्षे यात्राको तयारी
योसँगै जुनु पात्रमा केन्द्रित रहेर अन्य चार सर्ट फिल्महरुको पनि तयारी भइरहेको निर्देशक केदार श्रेष्ठले जनाएका छन् ।  जुनुको फरक फरक उमेरको कथा बोक्ने आगामी फिल्महरु हरेक दुई दुई वर्षको अन्तरालमा छायाँकन हुनेछन् । 

करिब १० वर्षपछि फिल्मले पूर्णता पाउनेगरी जुनुको भूमिकामा रहेकी ६ वर्षे हिस्सी लामालाई १५\१६ वर्ष उमेरसम्म कथाले पछ्याउनेछ । तर जुनु श्रृंखलाको हरेक सर्ट फिल्म आफैमा पनि पूर्ण हुनेछन् ।

‘जुनुको जुत्ता’ जुत्ता’ चप्पल उल्टो लगाउने सानी नानीको कथा हो । आफ्ना वरिपरिका आमा, शिक्षक लगायत ठूलाठालूले भन्ने गरेका कथित ‘सुल्टो’ नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत छ । 


विभु पौडेल र सुशान्त श्रेष्ठ प्रोड्युसर रहेको फिल्मको सरुन मानन्धर सिनेमाटोग्राफर हुन् । विप्लपराज पोखरेलको सम्पादन, किशोर आचार्यको साउन्ड डिजाइन, रिकेन महर्जनको संगीत रहेको फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन् । 

फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्ककुमारी शर्मा लगायतको अभिनय छ । ‘जुनुको जुत्ता’लाई यशु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठले लेखेका हुन् ।

 


Author

थप समाचार
x