कला

कंगनाका दुःख : एउटा पोस्टले ट्विटर ह्यान्डल गयो, अर्को पोस्टले वेस्ट बंगालमा मुद्दा

इकागज |
बैशाख २६, २०७८ आइतबार १७:४ बजे

मुम्बई : कंगना रनावत अपराधी हैनन् तर कम्तीमा उनका विरुद्ध प्रहरीमा आधा दर्जन मुद्दा छन् । कुनै मानहानीका त कुनै समाजलाई दिग्भ्रमित गरेका । यसरी कंगना विरुद्ध परेका धेरै मुद्धा महाराष्ट्रमा दर्ता छन् । तर, केही दिन अघि उनले गरेको ट्विटले वेस्ट बंगाललाई पनि चिढ्याएको छ ।

वेस्ट बंगालमा भारतीय जनता पार्टी नराम्ररी हारेपछि मोदीभन्दा बढी कंगना बिच्किइन् । उनले वेस्ट बंगलाको मुख्यमन्त्री ममता बनर्जीलाई तथानाम गर्दै जनतालाई पनि उनका विरुद्ध उभिन ट्विट गरिन् । यही कारणले उनको ट्विटर उड्यो ।


यति गर्दा पनि कंगना चुप लागिनन् । ट्विटर नपाएपछि इन्स्टामा ममता बनर्जीका विरुद्ध विष वमन जारी राखिन् । ‘फासिस्ट राक्षस ममतालाई समर्थन गर्नेलाई धिक्कार छ जो आफ्ना समर्थकलाई पनि सुरक्षा दिन सक्दिनन्,’ उनले इन्स्टामा लेखेकी थिइन् ।

उनले लेखेका कुराले वेस्ट बंगालमा हिंसा भड्काउन उक्साएको र सँगसँगै मुख्यमन्त्री ममता बनर्जीको छविलाई पनि धमिल्याउने मनसाय राखेको भन्दै अधिकारीकर्मी रिजु दत्ताले उनका विरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् । उनले कंगना विरुद्ध यथासक्य चाँडो कारबाही गर्न पनि आग्रह गरेकी छिन् ।

यसैबीच कंगनालाई कोरोना पोजिटिभ पनि देखिएको थियो । उनले यसलाई सामान्य रुपमा लिनु पर्ने आग्रह गर्दै पोस्ट लेखेपछि यसले पनि धेरैलाई चिढ्याएको थियो । मानिस यही रोगका कारण भकाभक मरिरहँदा कोरोनालाई सामान्य भनेको भन्दै मानिस कंगनासँग रिसाएका थिए ।
 


Author

थप समाचार
x