कला

३० वर्षपछि फेरि हलमा रिलिज हुँदै तेस्रो ‘गडफादर ’

इकागज |
मंसिर ३, २०७७ बुधबार १२:४४ बजे

लसएन्जल्स: अबको ठिक एक महिनापछि ‘गडफादर ३’ रिलिज भएको ३० वर्ष पुग्छ । विश्वका उत्कृष्ट फिल्मको सूचीमा सधैं एक या दुई नम्बर ओगट्दै आएको फिल्मको पहिलो र दोस्रो भागले जति माया र प्रशंसा पाएका थिए त्यति तेस्रो भागले पाउन सकेको थिएन । माया के टन्न गाली नै खाएको थियो । यही गाली सम्झेर ३० वर्षपछि लेखक मारिया पुज्जो र निर्देशक फ्रान्सिस फोर्ड कपोलाले यसको नयाँ भर्सन तयार गरेका छन् ।

कपोलाले काटकुट पारेर तयार भएको नयाँ फिल्मको मंगलबार ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएसँगै फिल्मको प्रदर्शन मिति पनि सार्वजनिक भएको छ । जसअनुसार फिल्म अब अमेरिकाका छानिएका सिनेमा हलमा डिसेम्बर ४ देखि प्रदर्शन हुनेछ । दुई तीन महिना अघि नै कपोलाले आफूले नयाँ भर्सनमा काम गरिरहेको र फिल्म हलमा पनि रिलिज हुने जानकारी गराएका थिए । खाली मिति तोकिएको थिएन । तर, नयाँ ट्रेलरसँगै ब्लु रे भर्सन र डिजिटल रिलिजको पनि मिति तोकिएको छ । फिल्म ब्लु रे र डिजिटल फम्र्याटमा डिसेम्बर ८ देखि उपलब्ध हुनेछ ।



कपोलाले फिल्मको सुरुवात र अन्त्य परिवर्तन गरेको जनाएका छन् ।  ‘केही सिन रिअरेन्ज्ड गरिएको छ भने केही सट र म्युजिक पनि तलमाथि गरिएको छ,’ कपोलाले भनेका छन्, ‘ केही फुटेज र साउन्डमा काम गरेपछि बल्ल फिल्म अघिल्ला भागको निष्कर्ष जस्तो भएको छ । फेरि काम गर्न दिएकोमा प्यारामाउन्टलाई धन्यवाद छ ।’ फिल्मलाई यो स्वरुपमा ल्याउन ६ महिनाको समय लागेका थियो । फिल्म अब ‘मारिया पुजो'ज गडफादर कोडा, दि डेथ अफ माइकल कोर्लिएन’ शीर्षकमा रिलिज हुनेछ ।


Author

थप समाचार
x