कला

निफको समापन : फिचरतर्फ ‘आमा खान्डो’ र सर्टतर्फ राजेशको ‘जुलुङ्गो’ उत्कृष्ट

इकागज |
बैशाख २७, २०७८ सोमबार १८:२६ बजे

काठमाडौं :  ५ दिनसम्म चलेको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) उत्कृष्ट फिल्मलाई पुरस्कृत गर्दै सोमबार सकिएको छ । महोत्सवमा फिचर फिल्मको राष्ट्रिय प्रतिस्पर्धामा डान्डुप छिरिङ निर्देशित ‘आमा खान्डो’ उत्कृष्ट फिल्म घोषित भयो भने निर्देशनतर्फको अवार्ड पनि यही फिल्मले जित्यो ।

विजेता भएसँगै यो फिल्मले एक लाख नगद जितेको छ । अभिनेतातर्फ पुरुष र महिला दुवै अवार्ड ‘लाटकोसेरो’ले जित्यो । फिल्मबाट नविन शिल्पकार र सरिता गिरीले पुरस्कृत भए । निर्देशक सिरिस गुरुङ आफैंले छायांकन गरेको यो फिल्मले छायांकनको अवार्ड पनि जित्यो ।


फिचर तर्फकै उत्कृष्ट पटकथाको अवार्ड भने ‘सरिता टेल मि हु आइ एम’बाट सर्जियो बासोले जिते । अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर फिल्मको अवार्ड बात्र्या बसु निर्देशित ‘डिक्स्नेरी’ले जित्यो ।  गौतमबुद्ध अवार्ड जितेको यो फिल्मले १५ सय अमेरिकी डलर प्राप्त गरेको छ । 

सर्ट फिल्म तथा डकुमेन्ट्री अन्तर्गत प्रतिस्पर्धामा रहेको अन्तर्राष्ट्रिय फिल्ममध्ये  दक्षिण कोरियाको ‘गड्स डटर डान्सेज’ले ५ सय पुरस्कार राशि रहेको बागमती पुरस्कार जितेको छ । नेपालबाट भने राजेशप्रसाद खत्री निर्देशित ‘जुलुङ्गो’ उत्कृष्ट ठहरिएको छ । दक्षिण कोरियाको बुसानमा समेत प्रतिस्पर्धामा रहेको यो फिल्मे पनि ५ सय डलर नै प्राप्त गरेको छ ।

त्यसैगरी फिनल्यान्डको फिल्म ‘उबरफ्रग’ एनिमेटेड विधामा उत्कृष्ट भएको छ । विजेता भएसँगै यो फिल्मले ७ सय ५० डलर पुरस्कार राशि रहेको मञ्जुश्री अवार्ड अवार्ड हात पारेको छ । 

महोत्सवमा डकुमेन्ट्र तर्फको अवार्ड भने स्वीजरल्यान्डबाट सहभागी हुन आएको ‘रिटर्न टु दि लस्ट इडेन’ले जितेको छ । यो फिल्म १ हजार डलर पुरस्कार राशि रहेको माउन्ट एभरेस्ट अवार्ड पाएको छ ।

निफले महामारीलाई लक्ष्य गर्दै यो सालबाट महामारीको वरिपरि रहेर बनाइएको फिल्मलाई पनि पुरस्कृत गर्ने निर्णय गरेको थियो । थपिएको यो विधामा गणेश पाण्डे निर्देशित ‘सिभिल सोल्जर्स’ उत्कृष्ट भएको छ । यो अवार्डको पुरस्कार राशि ५ सय डलर रहेको छ । 

बिहीबार सुरु भएको महोत्सवमा ६६ फिल्म देखाइएको थियो । महोत्सवमा तुलसी घिमिरे फिचर फिल्मतर्फर्का वल्र्ड पानारोमा र नेसनल फिचर्स अन्तर्गतका फिल्मका निर्णायक थिए भने छिरिङले फिल्म सोसाइटीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिज’को तर्फबाट प्रदान गरिने डन क्विजोट अवार्डको निर्णायकको जिम्मेवारी निर्वाह गर्नेछन् ।

यही विधामा निर्णय गर्न छिरिङलाई इटलीकी लाउरा मानकुसो प्रिजटानो र भारतकी मधुरिमा बरुवा सेनले सघाएका थिए ।  महोत्सव अवधिभर फिल्म प्रदर्शनसँगै समानान्तर रुपमा नेपाली सिनेमा सम्बन्धी विषयमा छलफल चलाइएको थियो । 
 


Author

थप समाचार
x