कला

दयाहाङले निर्देशन गरेकाे नाटक 'मितज्यू' पहिलाेपटक डिजिटल माध्यमबाट सार्वजनिक हुँदै

इकागज |
बैशाख ३०, २०७८ बिहिवार १५:५८ बजे

काठमाडाैँ : मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्ने भएकाे छ । सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक 'मितज्यू' लाई मण्डलाले ३१ गते शुक्रबार साँझ ५ बजे आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक गर्न लागेको हो ।

सात वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रूपमा यही 'मितज्यू' नाटक प्रदर्शन भएकाे थियाे । साेही नाटकलाई पुर्नलेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरूका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायाँकन गरेर अहिले डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्न लागिएको थिएटरले जनाएकाे छ । 


मितज्यू नाटक दुईजना बृद्धहरूले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्लाशब्याक’ कथा हो । नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनो अन्‍तर्गत एक जोडा मितको अन्तरकुन्तर कथा यस नाटकमा प्रस्तुत गरिएको छ । मितेरी साइनोसँगै उनीहरूका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरूले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ । पञ्चायतकालीन नेपालको पूर्वी भेगको कथालाई नाटकमा दुई वृद्धहरूको स्मृतिमार्फत वर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’को भरपूर उपयोग गरिएको छ तर फेन्टासीसँगै दुई वृद्धहरूको जीवनदर्शन पनि समेटिएको छ । 

डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्ने भएपछि गत चैत महिनाको अन्तिम साता नाटकको छायाँकन गरिएको थियो । नाटकमा बुद्धि तामाङ, बिजय बराल, सृजना सुब्बा, उमेश तामाङ, बिकाश जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपाने लगायतको मुख्य भूमिका रहेको छ । राजन खतिवडाको मञ्च परिकल्पना रहेको नाटकलाई शैलेन्द्रध्वज कार्कीले खिचेका छन् भने नाटकमा बेनुका राईको संगीत सुन्‍न सकिनेछ । नाटक निर्माण तथा छायाँकनमा ५० भन्दा बढी रंगकर्मी तथा प्राविधिकहरूको संलग्नता रहेको थिएटरले जनाएकाे छ । 

नाटककाे सार्वजनिक भएपछि अनलाइन एप्लीकेशन जुममार्फत नाटक तथा रंगमञ्चको वर्तमान सन्दर्भमाथि अन्‍तर्क्रिया गरिने कार्यक्रम रहेकाे छ । अन्‍तर्क्रियालाई मण्डलाले फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।

नाटककाे ट्रेलर : 


Author

थप समाचार
x