कला

सेन्सर सदस्यको उपस्थिति विना नै सेन्सर भयो ‘राधे’

इकागज |
बैशाख ३१, २०७८ शुक्रवार १४:४३ बजे

काठमाडौं :  सेन्सर नगरी ओटीटी तथा केबल च्यानलमा रिलिज भएको ‘राधे’को सञ्चार मन्त्रालयमा सेन्सर भइरहेको जानकारी प्राप्त भएको छ । बिहीबारबाट नै सबै च्यानलमा देखाइएको फिल्मको शुक्रबार मात्र सेन्सर भएको हो । 

‘राधे’ सेन्सर विना नै रिलिज हुन लागेको भन्दै सर्वप्रथम इकागजले समाचार छापेको थियो । सोही समाचारका आधारमा सञ्चार मन्त्रालयले नेपालमा ‘राधे’को वितरण अधिकार लिएको ए एटलाई सेन्सरका लागि दबाब दिएको थियो । चौतर्फी दबाब परेपछि वितरकले बिहीबार साँझ पैसा बुझाएको र शुक्रबार दिउँसो सेन्सर भइरहेको सञ्चार मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जनाएका छन् ।


‘हिजो हामीलाई पनि थाहा भएन । मिडियामा समाचार आएपछि हामीले उहाँहरूलाई कारबाहीको चेतावनी दिएका थियौँ । सो अनुसार उहाँहरूले हिजै पैसा बुझाउनु भयो । अहिले साथीहरूले सिडीमा चलचित्र हेरिरहनु भएको छ,’ प्रवक्ता पौडेलले भने । उनले यसरी नियम मिच्नेलाई कारबाही चैं के हुन्छ त भन्ने प्रश्नमा ? अहिलेलाई समय नै त्यस्तो भएकाले केही नगरेको तर आइन्दा विचार गर्ने जवाफ पौडेलले दिए ।

 ‘अहिले अप्ठेरो समय छ । भेला हुन पनि गाह्रो छ । फेरिफेरिका लागि चेतावनी दिएका छौं । सबै कुरा हामीलाई पनि थाहा हुन्न । तपाईंहरूले पनि हामीलाई भनेर सहयोग गर्नुपर्छ । हामी नियम पालना गराउन कटिबद्ध छौं,’ पौडेलले भने । 
सेन्सर सदस्यविनै सेन्सर 
तर, मन्त्रालयले हतारमा सेन्सर गरे पनि फिल्म क्षेत्रका सेन्सर सदस्यलाई भने सेन्सर गर्न बोलाइँदै नबोलाइएको जानकारी आएको छ । फिल्म क्षेत्रको विज्ञको रुपमा नियुक्त सन्तोष कुमार थापा, मिनाक्षी कोइराला र राजेश महर्जन तीनै जनालाई सञ्चार मन्त्रालयले शुक्रबार हुने सेन्सरमा बोलाएन । 

इकागजले सेन्सर सदस्य सन्तोषकुमार थापालाई ‘राधे’को सेन्सरमा किन नजानु भएको ? भनी सोधेको प्रश्नमा आफूलाई सकिनेबेलामा मात्र खबर गरिएको जानकारी गराए ।  ‘सेन्सर सकिन लाग्यो , आउने भए आउनुस् भनेर खबर गर्नु भयो । सकिनै लाग्यो भने किन जानु भनेर गएको छैन,’ उनले भने । सन्तोषले सञ्चार मन्त्रालयले राजेश महर्जन र मिनाक्षीलाई खबरसमेत नगरिएको बताए । 

‘मलाई त खबरसम्म आयो । उहाँहरूलाई त खबर पनि गरिएको रैनछ । किन यसो गरिएको हो मैले नी बुझ्न सकेको छैन,’ सन्तोषले भने । इदको अवसरमा पारे सलमान खान अभीनित ‘राधे’ बिहीबार भारतका केही हल र ओटीटी प्लेटफर्म जी प्लेक्समा रिलिज भएको यो ।

उता रिलिज भएको सो फिल्मलाई नेपालका केबल च्यानलले पनि सशुल्क देखाएका थिए । तर, यो क्रममा सेन्सर गर्नु पर्ने नियमलाई भने वितरकले पूर्णतया बेवास्ता गरेका थिए । यसैगरी ‘लक्ष्मीबम’ रिलिज गरेका वितरकले यसको पनि सेन्सर नगरी प्रदर्शन गरेका थिए । 


Author

थप समाचार
x