कला

भुवन केसीले बनाउन लागेको ‘माइतीघर २’ निर्देशक सुबोध चोपडाको मुम्बईमा निधन

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १५:४० बजे

काठमाडौं : भुवन केसीले बनाउन लागेको फिल्म ‘माइतीघर २’का निर्देशक सुबोध चोपडाको मुम्बईमा निधन भएको छ । उनको कोभिड १९ का कारण निधन भएको भुवन केसीले जानकारी गराएका छन् । 


यो महामारी सकिए लगत्तै फिल्म सुटिङ गर्ने योजना थियो । तर, आज मुम्बईमा उनको कोभिडका कारण निधन भएछ । एकदमै दुःख लागेको छ,’ भुवन केसीले इकागजसँग भने । उनले ‘माइतीघर २’ सुबोधको प्यासजन प्रोजेक्ट रहेकाले आफूले त्यसलाई प्राथमिकतामा राखेर सुटिङ गर्ने जानकारी गराए ।


उनले फिल्मका लागि सुबोधसँग सम्झौताका सम्पूर्ण कामसमेत भइसकेको जानकारी गराए । ‘सुबोधजी कै उपस्थितिमा हामीले राजनराज सिवाकोटीको संगीत र मिलन नेवारको आवाजमा एउटा गीत पनि रेकर्ड गराइसकेका थियौँ । यो खबरले साँच्चै नरमाइलो लागेको छ,’ केसीले थपे । 


१९९७ देखि फिल्म क्षेत्रमा सक्रिय सुबोध मुलतः स्क्रिप्टराइटर हुन् । उनले महेश भट्ट क्याम्पका ‘मर्डर’, ‘रोग’ ‘तुमसा नहीँ देखा’ आदि फिल्म लेखेका छन् ।  नेपालमा २०२३ सालमा रिलिज भएको ‘माइतीघर’को कथालाई समातेर उनले ‘माइतीघर २’ बनाउन लागेका थिए । फिल्ममा अनमोल केसी र भुवन केसी खेल्ने कुरा थियो भने महत्वपूर्ण भूमिकाका लागि मनीषा कोइरालालाई पनि लिने चर्चा थियो । 

अनमोल केसीले पनि निर्देशकसँगको फोटो राख्दै उनको निधनको खबरले स्तब्ध भएको लेखेका छन् । ‘मलाई अझ पनि उहाँको तीक्ष्ण र रमाइलो बानीको सम्झना भइरहेको छ । हामी तपाईंले देखेको फिल्मलाई तपाईंले नै देखेसरी पूरा गर्ने प्रयास गर्नेछौं ’ उनले लेखेका छन् ।  


Author

थप समाचार
x