कला

एक आमाको कथा चिनियाँ चलचित्र ‘पवित्र प्रेम'

नीरज लवजू |
जेठ २७, २०८० शनिबार १८:१५ बजे

चिनियाँ चलचित्र ‘पवित्र प्रेम’ (जेन्युइन लभ) पश्चिमी चीनकी एउटी आमाको कथा हो जसले आफ्नो कोखबाट जन्मेका सन्तानलाई मात्र होइन, परिस्थितिले धकेलेर उनको काखमा पुर्याइएका केटाकेटीलाई पनि आफ्नो छाक काटेर हुर्काइन् । सन् २००९ मा चिनियाँ जनसमितिले चिनियाँ ताराको पदक दिएका अनिफा आलिमाहुनको जीवनमा आधारित यो चलचित्र चिनियाँ समाजलाई चियाउने आँखीझ्याल पनि हो ।

चीनको उत्तर–पश्चिममा पर्ने सिन्च्याङ स्वशासित क्षेत्रको चर्चा हिजोआज संसारभरका सञ्चारमाध्यममा व्यापक छ । चीनको बद्ख्वाई गर्ने पश्चिमा सञ्चारमाध्यमहरूले चीनमा मानवअधिकार हनन र जातीय सफाया भएको जस्ता झूटा प्रचार गर्न सिन्च्याङ स्वशासित क्षेत्रलाई नै अघि सार्ने गरेका छन् । उनीहरूले सिन्च्याङ बस्ने उइगुर समुदायमाथि चिनियाँ सरकार र चिनियाँ कम्युनिस्ट पार्टीले अत्याचार गरिरहेको भन्दै संसारमा चीनको बदनाम गर्ने कोसिस गरिरहेका हुन्छन् । चिनियाँ सञ्चारमाध्यममा पनि सिन्च्याङको चर्चाको कुनै कमी छैन । तर, सिन्च्याङप्रति उनीहरूका बुझाइ भने ठीक विपरीत छ । चिनियाँ सञ्चारमाध्यमले भने विशेषतः सिन्च्याङमा पछिल्लो दशकमा भइरहेको विकास निर्माण, सांस्कृतिक तथा आर्थिक गतिविधि र त्यहाँका जनताको परिवर्तित जीवनबारे दिलोज्यानले प्रचार गरिरहेका छन् । 


चीन र संसारकै इतिहासमा सिन्च्याङको गरिमा उँचो छ किनभने प्राचीन इतिहासमा संसारकै आर्थिक गतिविधिको महत्वपूर्ण आधार बनेको रेशम मार्गको एउटा प्रमुख प्रवेशद्वार थियो सिन्च्याङ प्रान्त । लामो समयदेखि छायामा परेको यो सांस्कृतिक रूपमा समृद्ध मुसलमान बाहुल्य चिनियाँ भूमि पछिल्लो दशक चिनियाँ विकास र समृद्धिको मार्गमा ठमठम हिँडिरहेको छ । पृथक र मौलिक खालको संस्कृतिले आज सिन्च्याङ चिनियाँ जनताकै लागि पनि घुम्न जाने पर्यटकीय केन्द्र बनेको छ । प्राकृतिक रूपमा बिछट्टै सुन्दर सिन्च्याङमा भएको भौतिक पूर्वाधारको निर्माणले पर्यटनको विकासमा पनि टेवा पुर्याएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको महत्वपूर्ण हिस्सा र प्रवेशद्वार पनि सिन्च्याङ हो । त्यसकारण सिन्च्याङ आज झन्डै गुमाइसकेको ऐतिहासिक विरासत अझ हासिल गर्ने दौडमा छ ।

सिन्च्याङका कथा चिनियाँ चलचित्रमा पनि सीमित मात्र चित्रित भएको पाइन्छ । सन् २०१४ मा बनेको ‘पवित्र प्रेम’ सम्भवतः सिन्च्याङको कथा चलचित्रमा उतारिएका पहिलो पुस्ताका चलचित्रभित्र पर्छ । अनिफाका बुवा सिन्च्याङ (छिङगल) बाट मङ्गोलियामा व्यापार गर्न गएका व्यापारी थिए । अनिफाको जन्म मङ्गोलियामै भयो । मङ्गोलियामा हुँदा उनका बुवा आमा सधैँ आफ्नो जन्म सम्झिरहन्थे । बुवा र दाजुको पछि लागेर उनी छिङ्गल आइन् । बुवाहरू फेरि मङ्गोलिया फर्के । तर, अनिफा फर्किनन् । उनी सिन्च्याङमै बसिन् । उनको लालनपालन अबिबुर (पछि अनिफाको पति) को परिवारले गर्यो । उनीहरूले उमेरमा विवाह गरे र छोरा जन्माए– अर्मान ।

अनिफाको हृदय मातृत्वभावले ओतप्रोत थियो । उनले अर्मानसँगै आफ्नो पालले बनेको त्यहाँको मौलिक शैलीको साँघुरो घरमा सत्र केटाकेटी हुर्काइन् । गाउँभरका टुहुरा वा आमाबुबा हराएका केटाकेटीलाई उनले आमा बनेर हुर्काइन् । पेशाले कामी अबिबुरको आर्थिक अवस्था राम्रो थिएन । कामी कामको अतिरिक्त उनी सिन्च्याङको राजधानी उरुम्छीमा गाई लाने कामबाट केही पैसा जोहो गर्थे । तर, मुस्किलले सात जनासम्मलाई पुग्ने घरको स्रोतमा खाने मुख १९ वटा भए पछि सबैले आधा पेट, अझ अनिफा र अबिबुरले भोको पेट दिन रात काट्थे । अबिबुरको आम्दानीले मात्र घर खर्च नचल्ने भएकोले अनिफाले भेँडाको मासु पखाल्ने काम गर्छिन् । खोलाको सतहमा बरफ जम्ने कठ्याङ्ग्रिदो जाडोमा पनि उनी नदीमा मासु पखालेर पनि आफ्ना १७ केटाकेटीलाई पाल्न हिम्मत हार्दिनन् । खाने मुख बढ्दा दुःख भएको भन्दै अबिबुरले अनिफाको निर्णयप्रति कतिबेला आपत्ति जनाउँथे । तर, अनिफाको जवाफ उही हुन्थ्यो– ‘उनीहरूको पनि को छ र ? कोही नभएर त हामीसँग आए । बरु हामी अलि बढी मिहिनेत गरौँ न हुन्न ।’ तत्क्षण अबिबुरसँग चुपचाप कठिन मिहिनेतको बाटो रोज्नुको विकल्प हुँदैथ्यो ।

गाउँमा कोही केटाकेटी टुहुरा भए, केटाकेटी बेवारिसे भए उनीहरूलाई आफ्नो दैलोमा भित्र्याउन अनिफा चामलको भाडाको हेर्दैनथिन् । साइसिया त्यसरी नै भित्रिन्छिन् अनिफाको घरमा । आमाको निधन पछि सौतेनी आमाले बस्न खान नदिए पछि घरबाट भागेको दाजु खोज्दै होङ्सी कम्युन पुगेकी साइसियाको टाउकोभरि पाकेको खटिराले टोपी पनि फुकाल्न नसकिने अवस्थामा अनिफासँग भेट हुन्छ । उनको दुरवस्था देखेर अनिफाले आफ्नो भान्छामा खाने अर्को मुख थप्न निधो गर्छिन् । चिकित्सकले निको हुँदैन भनेको खटिरा एकजना गाउँले दिएको उपायबाट निको हुन्छ । साइसियाको टाउकोमा फेरि कपाल उम्रिन्छ । साइसिया आफू बसेको गाउँबाट टाढा कम्युनमा काम गरिरहेका दाइ युनहुईलाई भेट्न अनिफासँगै जान्छन् । अनिफाले युनहुईलाई पनि सँगै घरमा लिएर आउँछिछन् र उनीहरूको परिवारमा एक सदस्य थप्छिन् ।

सडक दुर्घटनामा आमाबुवा मरेपछि नारान पनि त्यही घरमा आउँछन् र बस्छन् । अनिफाले भान्छेको काम गर्ने पल्लो गाउँको विद्यालय हिमपहिरोले पुरिए पछि दुई जना केटाकेटी अनाथ हुन्छन् । उनीहरू पनि अनिफाको छानोले सहाराले दिइन्छ । हात मुख जोड्न पनि धौ धौ भए पनि अनिफाका सन्तानहरू त्यही साँघुरो घरमा रमाउँछन्, सबै लस्करै सुत्छन् । उसै गरी खान्छन् ।

नारानलाई उनका आफन्तले पाल्ने भन्दै लिएर जान्छन् । तर, नारान फर्केर अनिफाकै घरमा पुग्छन् र दुःख भए पनि त्यही बस्न दिन आग्रह गर्छन् ।

समयसँगै केटाकेटी हुर्किन्छन् । एकएक जना गर्दै अनिफाको घर रित्तिन्छ । उनको छोरा अर्मानको छाना खसेर मृत्यु हुन्छ । यसरी ममताको ढोका सधैं खुला राखेकी अनिफाले बेइजिङमा आयोजित भव्य समारोहबीच सम्मान पाएकै दिन बिरामी अबिबुरको निधन हुन्छ । अबिबुर आफै पनि चलचित्रका प्रभावशाली पात्र हुन् । 
सरल तर मार्मिक कथावस्तुको चलचित्रमा सिन्च्याङको संस्कृतिलाई मसिनो गरी केलाउने प्रयत्न गरिएको छ । त्यस्तै चलचित्रमा चिनियाँ इतिहासका कालखण्ड र ती समयखण्डमा जनताको अवस्थालाई पनि विभिन्न दृश्य, अभियन, पोशाकमार्फत प्रस्तुत गरिएको छ । सन् २००९ को चीन आधुनिक, विकसित र गतिवान देखाइएको छ र विशेषतः सन् १९८० यता चीनले यस्तो विकासमा फड्को मारेको सन्देश पनि चलचित्रमार्फत देखाउन प्रयत्न गरिएको छ ।

सानो विषय र कथालाई पनि बहुआयामिक कोणबाट प्रस्तुत गर्न इरानीजस्तै चिनियाँ चलचित्र पनि शक्तिशाली हुन्छन् । ‘पवित्र प्रेम’ त्यस्तै चलचित्र हो जसको कथा धेरै लामो र जटिल छैन । तर, यसमार्फत दिन खोजिएको सन्देश भने वृहत् छ ।


Author

थप समाचार
x