कला

शिल्पाको भोजपुरी फिल्मको ट्रेलर :  कुबेलाको धुन

इकागज |
जेठ ३, २०७८ सोमबार १५:५४ बजे

काठमाडौं :  केही दिन अघि शिल्पा पोखरेलले अभिनय गरेको भोजपुरी फिल्म ‘प्रेमगीत २’को ट्रेलर सार्वजनिक भयो । अवसर थियो इदको । शिल्पाले यो पटक ट्रेलर मात्र सेयर गरिन् यसको समाचार आएका कुनै अनलाइन पनि सेयर गर्न बिर्सिनन् ।

यति धेरै प्रचार उनले नेपालमा उनले खेलेका फिल्म पनि गरेको देखिएको थिएन । छवि ओझाको ब्यानरभन्दा बाहिर बनेका केही फिल्मको त उनले यति कष्ट पनि गर्ने गरेकी थिइनन् । 


तर, यतिबेला शिल्पाले भोजपुरी फिल्मको ट्रेलर निस्कनु नै कम अचम्म छैन । यतिबेला भारतका सम्पूर्ण हल बन्द छन् । भोजपुरी फिल्मको ठूलो बजार मानिने पटना , बिहार यसमा अपवाद छैनन् । भारतबाहेक नेपालका तराई क्षेत्र भोजपुरी फिल्मको बजार हो । यहाँ पनि त्यही अवस्था छ । महामारीको दोस्रो लहर आएसँगै नेपालमा पनि सरकारले हल बन्द गरेको छ । 

अनि फिल्मको ट्रेलर प्रचारको मुख्य हतियार हो । यही ट्रेलर हेरेर दर्शकले फिल्म हेर्ने कि नहेर्ने निर्णय गर्छन् । तर, ‘प्रेमगीत २’ को ट्रेलर यस्तो बेलामा बाहिरिएको छ जतिबेला न हल खुल्ने टुंगा छ न खुलेका हलमा दर्शक आउने । हलमा नलाग्दा पनि ओटीटीमा फिल्म रिलिज हुन सक्छन् ।

तर, भोजपुरी फिल्म उद्योग पनि यो माध्यममा गइसकेको छैन । त्यसैले यो फिल्मले तत्कालै रिलिज हुने लक्ष्यसहित ट्रेलर निकालेको भन्न पनि गाह्रै छ । यसको प्रमाण के हो भने ट्रेलरमा रिलिज हुने समयको केही उल्लेख नै छैन । 

शिल्पाले यो फिल्मबाहेक भोजपुरीमा ‘जय शम्भु’ नामको फिल्म पनि गरेकी छिन्, यही फिल्मका निर्देशक सोनु खत्रीको निर्देशनमा । यो फिल्मको पनि ट्रेलर दुई महिना अघि मात्र सार्वजनिक भएको थियो । यो फिल्म पनि कहिले रिलिज हुने टुंगो छैन । हल नै बन्द भएको समयमा भकाभक ट्रेलर रिलिज गर्दा कसले सुन्ने ? कसले हेर्ने ? शिल्पाको फिल्मको ट्रेलर कुबेलाको धुन नै भएन र ?

 


Author

थप समाचार
x