कला

इंगेजमेन्टको खबरमा प्रतिक्रिया दिन सोसल मिडियामा फर्किइन एम्मा

इकागज |
जेठ ५, २०७८ बुधबार १३:५ बजे

लसएन्जल्स :  ‘ह्यारी पोटर’ स्टार एम्मा वाटसन ९ महिनापछि सोसल मिडियामा फर्किएकी छिन् । एम्माले अभिनयबाट सन्यास लिन लागेको र ब्वाईफ्रेन्ड लियो रबिनटनसँग इंगेजमेन्ट भएको खबर भाइरल हुन थालेपछि उनले ट्विटरमा उपस्थित हुँदै यसको सफाइ दिएकी हुन् । 

गत वर्षको अगस्टयता एम्मा सामाजिक सञ्जालमा सक्रिय थिइनन् । ‘प्रिय दर्शक, म इंगेज भए÷नभएको अथवा मैले अभिनय छाड्न लागेको÷नलागेको कुरा खाली समाचार बिकाउनलाई मात्र आउने खबर हुन् । यदि त्यस्तो कुनै समाचार छ भने म वाचा गर्छु, तपाईंहरूसँग म आफैं बाँड्ने छु,’ उनले लेखेकी छिन् । 


उनले महामारीको समयमा आफू चुपचाप घरमा बसिरहेको र आफूलाई माया गर्नेलाई केयर गरिरहेको बताएकी छिन् । त्योसँगै उनले आफूलाई सुरक्षित राख्न काम गर्ने फ्रन्टलाइनर्सलाई पनि धन्यवाद दिएकी छिन् । 

वाटसनले सन् २०१९ देखि व्यापारी लियो रबिनटनसँग डेट गरिरहेको र केही समयअघि उनीहरूले इंगेजमेन्ट गरेको समाचार आएका थिए । यही समयमा उनले अभिनयबाट बिदा हुन लागेको अनुमान गरिएका समाचार पनि सतहमा आएका थिए । गत साल उनको अभिनय रहेको ‘लिटिल वुमन’ प्रदर्शनमा आएको थियो । 


Author

थप समाचार
x