आफू खेलेको हिन्दी फिल्म हुबहु नक्कल भएको भेटिएपछि सुरक्षाले स्वीकारिन् गल्ती
काठमाडौं : आफूले अभिनय गरेको फिल्म हिन्दी फिल्मको हुबहु नक्कल भएको चाल पाएपछि अभिनेत्री सुरक्षा पन्तले गल्ती स्वीकार गरेकी छिन् । उनले फेसबुकमा स्ट्याटस लेख्दै नक्कल भएको कुराले दुःख लागेको बताएकी छिन् ।
सुरक्षाले अभिनय गरेको सर्ट फिल्म ‘मनबार’ हिन्दी फिल्म ‘नामर्द’को हुबहु नक्कल थियो । केही महिना पहिले सार्वजनिक भएको सर्ट फिल्म यतिबेला नक्कल भएको भनी सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि सुरक्षाले मुख खोलेकी हुन् ।
उनले यसको दोस्रो भाग बन्ने तयारी चलिरहेको र आफूलाई प्रस्ताव गरिएको भए पनि दोस्रो भागमा भने काम नगर्ने मनसायमा पुगेको बताएकी छिन् ।
उनले लेखेकी छिन् ,‘ हालसालै मैले काम गर्न पुगेको एउटा छोटो सिनेमा, कुनै हिन्दी छोटो सिनेमाको हुबहु कपी रहेको कुरा थाहा पाएपछि मलाई धेरै दुख लागेको छ । पहिले जानकारी भएको भए पक्कै पनि काम गरिदैन्थ्यो होला ।
कुनै आइडिया मन परेर काम गरिन्छ अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो कामप्रति कहिलेकाहीँ मन खुम्चिन पुग्छ । ब्यक्तिगत रुपमा, आइडिया हुबहु कपी गर्ने कुराको घोर विरोधी हुँ म । त्यसैले अनविज्ञ भई यस माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु ।
तर, फेरि यो नदोहोरिएला भन्न सकिन्न ।इन्टरनेटको सम्पूर्ण कन्टेन्ट हेरिसकेको पनि भइँदैन । सायद काम गर्नु अघि कलाकार वा अन्य टिमले कन्टेन्ट कपी हो वा होइन भन्ने प्रश्न राख्न कसरी सक्ला लेखकको सम्मानमा ठेस नपुर्याइ ? सोच्नुपर्ने कुरा हो यो । उक्त छोटो सिनेमाको पार्ट २ बनाउने कुरा उठेको र म त्यस्मा काम नगर्ने मनसायमा पुगेकी छु । यो पाठ हो, केवल मैले होइन सम्पूर्ण टीमले मनन गर्न जरुरी छ ।
अर्को एउटा महत्वपूर्ण पाठ ः टीमले राम्रो काम गरेको छ भन्ने कुरा पहिले कलाकारहरूबाट थाहा हुन्छ भने टीमले काम राम्रो नगरेको कुरा पनि कलाकारबाटै थाहा हुने हो । त्यसैले कलाकारहरू एकदम इमान्दार रहन जरुरी छ ।’
ओएसआर डिजिटलले निर्माण गरेको ‘मनबार’मा सुरक्षा पन्त र कोशिस क्षेत्रीको अभिनय रहेको छ । जीवन शाहीको निर्देशन रहेको यो फिल्ममा ओएसआरकै साझेदार मध्येका एक रुपेन्द्र खड्गीले कथा, पटकथाको क्रेडिट लिएका छन् ।
ओएसआर आफैं पाइरेसी पीडित कम्पनी हो । आफ्नो स्वामित्व रहेका फिल्म पाइरेसी भएका कारण बारम्बार पीडित भएको गुनासो गर्दै आएको छ । तर, ओएसआर आफैंले चोरेर फिल्म बनाउँदा यसले ओएसआरको पाइरेसीविरुद्ध बोल्ने नैतिक बलमा भने ठूलो प्रश्नचिन्ह खडा गरेको छ ।
हेर्नुस् दुवै फिल्म
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया