प्राज्ञिक प्रकाशनमा चौतारीको सेन्चुरी
कोभिड-१९ को महामारीको आँकडा बढेको बढ्यै छ । यसैबीच ‘प्राज्ञिक नागरिक संस्था’ मार्टिन चौतारीले पनि आफ्नो जिन्दगीमा नयाँ आँकडा थपेको छ । अनुसन्धानमूलक प्रकाशनमा चौतारीले भर्खरै सेन्चुरी हानेको छ । सन् २००१ देखि किताब निकाल्न थालेको मार्टिन चौतारीले यो १९ वर्षमा वार्षिक जर्नलका १५ अंक र ८५ वटा किताब गरी १०० वटा पुस्तक/जर्नल जन्माएको छ ।
अझ मार्टिन चौतारी सम्पादकीय कार्यालय रहेको अर्धवार्षिक जर्नल ‘स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी (सिन्हास)’ का ५० अंकको हिसाब गर्ने हो भने यो आँकडा १ सय ५० पुग्छ । मार्टिन चौतारी र सिन्हास दुवैका संस्थापक प्रत्यूष वन्त भन्छन्, ‘चौतारीका पाँच उद्देश्यमध्ये प्रकाशन पनि एक थियो । तर, छाप्ने-वितरण गर्नेजस्तो सबै काम पनि आफैँ गर्ने हाम्रो विचार थिएन ।’
वन्तले बताएअनुसार प्राज्ञिक अनुसन्धान गर्ने र यसको उपज दस्तावेजीकरण गर्नुपर्छ भन्ने सोच सुरुदेखि नै भए पनि छाप्ने झन्झट चाहिँ आफैँले नगर्ने कि भन्ने थियो । यहीअनुसार चौतारीका सुरुका तीन किताब एकता बुक्सले छापेको थियो । वन्त थप्छन्, ‘यो क्रममा के थाहा भयो भने व्यावसायिक प्रकाशकहरू प्राज्ञिक पुस्तक प्रकाशनका लागि गम्भीर छैनन् । त्यसका लागि दिनुपर्ने सम्पादकीय इन्पुट दिन इच्छुक पनि छैनन् । पछि चौतारी आफैँले पुस्तक प्रकाशन गर्न थाल्यो ।’
मार्टिन चौतारीबाट वार्षिक रूपमा छापिने ‘मिडिया अध्ययन’ जर्नल १० अंक छापिएपछि यसको नाम ‘समाज अध्ययन’ भयो । यही अध्ययनको पन्ध्रौँ अंक प्रेसमा धमाधम छापिइरहेको छ । नाम फेर्ने बाध्यता किन आइलाग्यो ? सम्पादक लोकरञ्जन पराजुली भन्छन्, ‘मिडियामा मात्र केन्द्रित हुँदा शोध लेख पुर्याउनै मुस्किल भयो । फेरि हाम्रो एरिया पनि समाजविज्ञानका सबैजसो विधामा भएको हुँदा यसलाई हामीले ‘समाज अध्ययन’ बनायौँ ।’
मण्डला बुक प्वाइन्टका माधव महर्जन र प्रत्यूष वन्तको सहकार्यको परिणाम हो, ‘सिन्हास’ जर्नल । महर्जन भन्छन्, ‘सन् १९९५ मा यहाँ भएको एउटा सम्मेलनमा मैले एउटा जल्दोबल्दो उत्साही तन्नेरी भेटेँ । वन्त उनै थिए । हाम्रो कुरा मिल्यो । अनि सन् १९९६ मा सिन्हासको पहिलो अंक निस्कियो ।’ एक-दुई अंक वा एक-दुई वर्ष त चल्ला नि भन्दाभन्दै सिन्हासको उमेर २५ वर्ष भयो ।
‘पैसा लिएकै कुरा गर्ने हो भने त हामीले भन्दा ज्यादा देशले ल्याइरहेको छ । तर, पैसा कहाँबाट आयो हैन, आएको पैसाले कस्तो काम भइरहेको छ भनेर हेर्नुपर्छ ।’
यस्ता प्रकाशनको के महत्व छ ? भूगोलवेत्ता तथा योजनाविद् प्रा.डा. पीताम्बर शर्मा भन्छन्, ‘समाजविज्ञानको अनुसन्धान र प्रकाशनमा सरकारी बेवास्ता बढिरहेका बेला एक-दुइटा संस्थागत-व्यक्तिगत प्रयास उल्लेख्य छन् । गुणस्तरीय जर्नल र प्रकाशनको बीउ हेर्न मार्टिन चौतारी गए हुन्छ । यस्ता बीउ उमारेर अन्त पनि बाली फैलाउन हैँसे हुनुपर्ने हो । माथिबाटै अवस्था उल्टो छ ।’
कस्ता-कस्ता पुस्तक छापिरहनुभएको छ ? ‘समाज अध्ययन’को सम्पादन टोलीका एक सदस्य पराजुली भन्छन्, ‘नेपालबारे लेखिएका तर विदेशतिर छापिएका केही किताब पनि हामीले रि-प्रिन्ट गरेका छौं । धेरैमा त हाम्रै मेहनत परेको छ । समाज विज्ञानका विभिन्न विषय र विधामा हामी अनुसन्धान गर्छौं । हामीकहाँ पुस्तकालय छ । अनि यिनैको बलमा छाप्छौँ ।’
चौतारीले निकालेका किताब/जर्नल प्राज्ञिक व्यक्तित्वदेखि अनुसन्धानमा रुचि राख्ने र ज्ञानको दायरा फराकिलो बनाउन चाहने विद्यार्थीसमेतका लागि उपयोगी छन् । प्रकाशित सामग्रीको प्रभाव जाँच्न पाठक नै सही पात्र भएको प्रत्यूष वन्तको बुझाइ छ । ‘तीन आधारमा हामीले प्रभावलाई जोख्न सक्छौं,’ उनी भन्छन्, ‘पहिलो त चौतारीबाट निस्केका किताबको समीक्षा हुने गरेको छ । समीक्षा भइरहेको छ भने कम्तीमा राम्रै किताब प्रकाशन भइरहेका होलान् भनेर बुझौं ।
दोस्रो चाहिँ चौतारीबाट निस्किएका किताब त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र अरु विश्वविद्यालयको पाठ्यक्रममा पनि समावेश भएका छन् । यसले पनि राम्रै प्रभाव होला भनेर मान्न सकिन्छ । तेस्रो चाहिँ यहाँबाट प्रकाशित पुस्तकको धेरैले चर्चा गर्ने गर्नुभएको छ र साइटेसन (उद्धृत) पनि हुने गरेको छ । यस हिसाबले पनि प्रभाव छ भनेर मान्न सकिन्छ होला ।' 'नलेजको डेमोक्राइजेसन’ गर्ने उद्देश्यले पुस्तक प्रकाशन सुरु गरे पनि लक्षित पाठकसम्म पुग्न नसक्नु आफूहरूको सीमा रहेको पराजुली स्वीकार्छन् । ‘विकट ठाउँमा पनि हाम्रा किताब पुगून् भन्ने हाम्रो चाहना हो । तर, धेरै कारणले हामी त्यहाँसम्म पुग्न सकेका छैनौं’ पराजुली भन्छन् ।
चौतारीबाट निस्किएका किताब फिक्सन वा अन्य व्यावसायिक प्रकाशन गृहले निकाल्ने किताब जस्तो प्रशस्त बिक्री नहुने हुनाले समस्या भएको पराजुलीको अनुभव छ । ‘हाम्रा किताब वर्षको ३-४ वटा बिक्री हुन्छन् । धेरै बिक्री नहुने पुस्तक खुद्रा बिक्रेताको पनि चासोमा पर्दैनन् । यहाँनिर ग्याप छ । यसमा तत्काल हामी केही गर्न सक्ने अवस्थामा पनि छैनौं,’ पराजुली सुनाउँछन् ।
अनुसन्धानमूलक प्रकाशनमा लेखक-पाठकको उदासीनता कतिसम्म छ भने ‘सिन्हास’ जर्नलका नियमित ग्राहक १०-१२ जना छन् । प्रकाशक महर्जन भन्छन्, ‘हाम्रो सिन्हास जर्नल विदेशीले नै बढी किन्छन् । तत्काल नबिके पनि पुराना-पुराना अंक खोज्दै आउनेहरू देखेर म सब पीडा भुल्छु । र, एक खालको आत्मसन्तुष्टिमा रमाइरहेको छु ।’
पुस्तकमा यति धेरै सम्पादकीय त्रुटि छन् कि भनिसाध्य छैन । मैले त्यसमा लेख लेख्ने दुई जना लेखकसँग पनि कुरा गरेँ । उहाँहरूले आफूले दोहोर्याएर हेर्नै नपाएको बताउनुभयो । यसले के देखाउँछ भने पैसा छ भन्दैमा राम्रो काम हुने हैन रैछ ।’
चौतारीका किताबलाई हेर्ने दुइटा दृष्टिकोण छन् । एक समूह छ, जसले सरकारले गर्नुपर्ने काम गरिरहेको भनेर धाप मार्छ । अर्को समूह छ, जसले एनजीओले गर्ने काम यस्तै त हो नि भनेर नजरअन्दाज गर्छ । प्रत्यूष वन्त अध्ययन-अनुसन्धानको कामका लागि सरकारको मुख मात्र ताक्नुपर्छ भन्ने पक्षमा आफूहरू नभएको बताउँछन् । ‘अनुसन्धान विचार निर्माणको प्रक्रिया हो । सरकारले गर्नुपर्छ, यसमा शंका छैन ।
तर, हाम्रो जस्तो स्वतन्त्र संस्थाले पनि गर्नुपर्छ । सरकारले मात्र गर्ने हो भने त सरकार समर्थित विचार मात्र हाबी होला नि त ?,’ वन्तको आशंका छ । विचारको वैकल्पिकता प्रवर्द्धनमा चौतारी अनेकन् विषयमा नियमित छलफल हुने ‘वक्ताहरूको कुनो’का रूपमा २५ वर्षदेखि परिचित पनि छ, सहरमा ।
चौतारीलाई विदेशीको पैसाले किताब निकाल्यो भन्ने सदाबहार आरोप पनि छ । वन्त आरोप नकार्दैनन् । तर, पैसा कहाँबाट आयोभन्दा पनि आएको पैसाले कस्तो काम भयो भनेर हेर्नुपर्ने तर्क गर्छन् । ‘पैसा लिएकै कुरा गर्ने हो भने त हामीले भन्दा ज्यादा देशले ल्याइरहेको छ । तर, पैसा कहाँबाट आयो हैन, आएको पैसाले कस्तो काम भइरहेको छ भनेर हेर्नुपर्छ,’ वन्तले उदाहरण दिँदै भने, ‘चार वर्षअघि अहिलेको नेपाल एकेडेमीका कुलपति गंगा उप्रेतीले बाबुराम आचार्यको जीवनी समेटिएको एउटा पुस्तक सम्पादन गर्नुभएको छ ।
यो पुस्तकमा यति धेरै सम्पादकीय त्रुटि छन् कि भनिसाध्य छैन । मैले त्यसमा लेख लेख्ने दुई जना लेखकसँग पनि कुरा गरेँ । उहाँहरूले आफूले दोहोर्याएर हेर्नै नपाएको बताउनुभयो । यसले के देखाउँछ भने पैसा छ भन्दैमा राम्रो काम हुने हैन रैछ ।’ वन्तले पैसा ल्याएरै काम गरे पनि आफूहरू पारदर्शी रहेको दाबी गरे ।
एक सय-एक सय पचासको कोसेढुंगा पार गरे पनि यो संख्यामा न चौतारीलाई उत्पात गर्व छ, न गुनासो नै । अब पनि चौतारी प्रकाशनका मामलामा पुरानै लयमा चलिरहनेछ । निरन्तरता दिनु नै अहिलेको समयमा ठूलो कुरा हुने पराजुली बताउँछन् । ‘बाहिरतिर युनिभर्सिटीले नै अनुसन्धानमा आधारित पुस्तक छाप्छन् । तर, हाम्रोमा त अनुसन्धान गर्ने भनेर खुलेका संस्था नै हात बाँधेर बसेका छन् । यो समयमा हाम्रो निरन्तरताको झन् महत्व छ । अहिलेलाई यत्ति मात्र सोचेका छौं,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया