'कारागार'बाट निस्किइन् वानीरा
काठमाडौँ : लेखक डा. वानीरा गिरिले ७६ वर्षको उमेरमा आइतबार राति १० बजे भौतिक दुनियाँ छोडेकी छन् । चार वर्षदेखि अल्जाइमर्सले पीडित वानीरालाई शरीरमा अलि गाह्रो भएपछि घर नजिकैको सिभिल अस्पताल पुर्याइएको थियो । कोभिड–१९ बाट संक्रमित उनको हृदयाघातबाट निधन भएको अस्पतालले जनाएको छ ।
कवि तथा उपन्यासकारका रुपमा परिचित उनी लेखनमा बौद्धिकता र गम्भीरताकी पर्याय हुन् । ‘कारागार’, ‘शब्दातीत शान्तनु’ (साझा पुरस्कार प्राप्त), 'एउटा जिउँदो जंगबहादुर', 'जीवन :थायमरु, 'निर्बन्ध', 'मेरो आविष्कार', 'जंगल जंगल', 'पर्वतको अर्काे नाम पार्वती' जस्ता पुस्तक प्रकाशित छन् । क्रान्तिकारी कवि गोपालप्रसाद रिमालबारे शोध गरेर नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला शोधार्थीका रुपमा हाजिरीजवाफहरूमा प्रश्न बनेकी उनी समालोचक र प्राध्यापक पनि थिइन् ।
दार्जिलिङमा जन्मेकी उनको नेपाल आगमनको कथा पनि रोचक छ । प्रज्ञा–प्रतिष्ठानले आयोजना गर्ने कविता महोत्सवमा भाग लिन २०२२ सालमा उनी काठमाडौँ आइन् । सहभागी मात्र भइनन्, दोस्रो स्थान नै प्राप्त गरिन् ।पुरस्कार लिँदा राजा महेन्द्रलाई आफ्नो रुचि र समस्या सुनाएपछि उनी यतै बसिन् । भारतमा नेपाली विषयमा थप अध्ययन गर्ने प्रबन्ध नभएको बताएपछि उनले छात्रवृत्तिसहित यहीँ नेपालीमा एमए हुँदै पीएचडीसम्म गरिन् । उनै सशक्त लेखक वानीराबारे उनका नजिकका साथी लेखक ध्रुवचन्द्र गौतम यसरी स्मरण गर्छन् :
हत्तेरी धेरै दुःखको कुरा सुनाउनुभयो । अल्जाइमर्स भएपछि उहाँलाई भेट्न पनि पाइएन । कस्तो पीडा भयो मलाई । म सक्ड भएँ । यो समयमा भेटेर श्रद्धाञ्जलि दिन पनि नपाइने । हामी सब कारागारमा बन्दी भएका बेला ‘कारागार’की लेखिका बिदा हुनुभयो ।
उहाँ मेरो प्रिय कविमध्ये हुनुहुन्छ । उहाँ धेरै धेरै धेरै राम्रो कवि हो । सशक्त कविको व्यक्तित्व थियो, उहाँको । कवितामा उहाँ धेरै माथि हुनुहुन्थ्यो । मैले हुनुहुन्थ्यो भनेछु, हुनुहुन्छ भन्नुपर्छ । लेखकको भौतिक जीवन नरहला, तर साहित्य, कृति र कीर्ति सधैँ रहन्छ ।
कवितासँगै उहाँले लेखेका उपन्यास पनि बेग्लै छापका छन् । भन्दा के भन्ने फर्मल जस्तो हुन्छ तर उहाँ उपन्यासमा पनि धेरै माथि हुनुहुन्छ । हामीले सँगै यात्रा पनि गरेका छौँ भारतमा । उहाँ स्पष्ट वक्ता हो ।
राम्रो बोल्न सक्ने, कविता पाठ राम्रो गर्नुहुन्थ्यो । बेजोड थियो, उहाँको व्यक्तित्व र वाचन । नेपाली साहित्यको इतिहासमा आफ्नो छुट्टै व्यक्तित्व ओगटेको उचाइमा पुगेको व्यक्तित्व हो, उहाँ । उहाँले भारतमा अंग्रेजीमा कविता सुनाउनुभयो । उहाँबाट धेरै प्रभावित भएँ । उहाँ पनि मेरो लेखन पढ्नुहुनथ्यो । प्रतिक्रिया लिने दिने हामीबीच भइरहन्थ्यो ।
उहाँको घरमा पनि पटकपटक गएको छु । उहाँको श्रीमान् इन्जिनियर शंकरजी पनि धेरै नै असल व्यक्तित्व हुनुहन्छ । उहाँलाई म यही सम्झनामार्फत गहिरो सहानुभूति व्यक्त गर्छु ।
हामी भारतको यात्रामा सँगै गएको थियौँ । सबै कुरा झल्झली सम्झना आइरहेछ । धेरै कुरा व्यक्त गर्न भने सकिरहेको छैन अहिले । उहाँका कति रचना आउन सक्थे, आउँछन् भन्ने पनि थियो । आउन पाएनन् । उहाँको व्यक्तित्वबाट म प्रभावित भएको छु ।
जम्मै कविताबाट पनि म प्रभावित छु । उहाँको कवि र उपन्यासकार व्यक्तित्वबीच तुलना हुनै सक्दैन । तर, म उहाँलाई उच्च कोटिको कवि मान्छु । उहाँको व्यक्तित्व स्वयं सुन्दर, गहन र बौद्धिक कविता जस्तो थियो । उहाँको व्यक्तित्व अत्यन्तै सरल र शालीन थियो ।
भारतमा सँगै यात्रा गर्दा हामी मोहन कोइराला, वासु शशी, जीवन आचार्यहरु थियौँ । भारतमा हाम्रो भेट सबाना आज्मीसँग भएको थियो । यात्रामा हामी पिउँथ्यौँ तर उहाँले कहिल्यै पिउनुभएन । अरु कुरामा हामी लागेको खर्चपर्च सेयर गथ्र्यौैं । पिएको खर्चमा उहाँलाई जोड्दैनथ्यौँ ।
प्राध्यापकका रुपमा पनि उहाँ धेरै राम्रो हुनुहुन्थ्यो भन्ने मैले धेरैबाट सुनेको थिएँ । उहाँ आफ्ना कुरा बुझाउन, कविता व्याख्या गर्न निकै सिपालु हुनुहुन्थ्यो ।
उहाँलाई हामी सबैले पढ्नुपर्छ । उहाँका कृतिहरु पढेर हामीले उहाँलाई श्रद्धा गर्नुपर्छ । उहाँलाई मेरो हार्दिक श्रद्धा र श्रद्धाञ्जलि छ । यति बेला धेरै बोल्न पनि मन लाग्दैन ।
प्रस्तुति : विमल आचार्य
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया