कला

नेपालमा सिलिन्डर जोहो गर्न रामकृष्ण ढकालको पहलमा अमेरिकामा उठ्यो १८ लाख

इकागज |
जेठ ११, २०७८ मंगलबार १३:४५ बजे

काठमाडौं :  अमेरिकामा रहेका गायक रामकृष्ण ढकालले कोभिड–१९ का बिरामीलाई सिलिन्डर अभाव भएको खबर पाएपछि सिलिन्डर जुटाउन अमेरिकामा सहयोग जुटाउन सुरु गरेका छन् । उनले पहिलो चरणमा १८ लाख उठेको र उठेको रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा गरिएको जानकारी गराएका छन् ।

ढकालले फेसबुकमा दाताको नाम र उनीहरूले प्रदान गरेको रकमसमेत राख्दै रकम उठ्ने क्रम जारी रहेकाले दोस्रो चरणको सहयोग पनि यसरी नै काम गरिरहेका संस्थालाई प्रदान गर्ने जानकारी गराएका छन् । ढकाल स्वयंले भने ५ सय डलर सहयोग गरेको उल्लेख गरेका छन् । 


‘नेपालमा यस्तो विषम परिस्थिति हुँदा म भने सांगीतिक कार्यक्रमको क्रममा अमेरिकामा आएको बेला यतै रोकिएको छु । म विनम्रतापूर्वक राख्न चाहन्छु कि एक नेपाली संगीत साधकका रूपमा आज मेरो जुन परिचय बनेको छ, त्यो सबै नेपाली दाजु–भाइ तथा दिदी–बहिनीको स्नेह, साथ र सद्भावकै कारण बनेको हो ।  

उहाँहरू नेपालमा कोरोनासँग जीवन–मरणको युद्ध लडिरहेका बेला अमेरिकामै रहेकै बेला पनि केही सहयोग पुर्याउन सकिन्छ कि भन्ने पवित्र भावनाले मैले केही दिनअघि अमेरिकामा रहेका मेरा आदरणीय स्रोता–दर्शकमाझ सहयोगको आव्हान गरेको थिएँ’ उनले लेखेका छन्, ‘ मेरो अनुरोधमा अमेरिकामा रहेका मनकारी नेपाली तथा भुटानी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले खुला हृदयले सहयोग गर्नुभएको छ ।  यही क्रममा पहिलो चरणमा जम्मा भएको करिब १८ लाख श्री महावीर पुनज्यूको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको खातामा जम्मा गरिएको छ ।’ ढकाल केही समय अघि मात्र कन्सर्टका लागि अमेरिका पुगेका थिए । 
 


Author

थप समाचार
x