कला

सलिम–जावेद जोडीमाथि फिल्म बनाउँदै जोया अख्तर

इकागज |
जेठ ११, २०७८ मंगलबार १४:२६ बजे

मुम्बई : जावेद अख्तर पुत्री जोया अख्तरले पटकथा लेखक जोडी सलिम खान र जावेद अख्तरमाथि फिल्म बनाउने तयारी गरेकी छिन् । पिंकभिल्लाले छापेको समाचार अनुसार यो फिल्मको विधा भने डकुड्रामा हुनेछ । जोयाले यो फिल्मका लागि दुई वर्षदेखि तयारी गरिरहेको पनि समाचारमा उल्लेख छ । 

‘लक बाइ चान्स’, ‘जिन्दगी ना मिलेगी दोबरा’, ‘गली ब्वाई’ जस्ता फिल्म निर्देशन गरेकी जोयाको यो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज हुनेछ । तर, यो फिल्ममा सलिम र जावेद आफैं देखिनेछन् वा उनीहरूको सट्टामा कसैले स्टोरी न्यारेट गर्छ त्यो भने टुंगो नभएको बताइएको छ ।


समाचारमा बताइएको छ, ‘जोया डिजिटल फिल्ममा यो फिल्मको प्रतिक्रिया हेरेर फिचर फिल्म बनाउने वा नबनाउने निर्णय लिने मुडमा छन् ।’ सलिम–जावेदको जोडीले सन् ७० को दशकमा एकसेएक आइकोनिक फिल्म दिएको थियो । अमिताभ बच्चनलाई स्टार बनाउनमा यही जोडीको हात रहेको छ ।

७० को दशकमा यो जोडीले लेखेका फिल्म ‘शोले’, ‘सीता और गीता’, ‘जन्जिर’ ‘डन’  आदिले बलिउडलाई नयाँ युगमा प्रवेश गराएका थिए । ९० को दशकदेखि भने दुवैले फिल्म लेखनबाट सन्यास लिएका थिए । जावेद अख्तर गीत लेखनमा सक्रिय रहे पनि सलिम खान भने लेखनमा देखिएका छैनन् । जावेद अख्तरले भने १५ वर्षपछि छोरा फरहान अख्तरले निर्माण गर्ने फिल्म लेखिरहेको बताइएको छ । 


Author

थप समाचार
x