कला

‘सिनेमा हलमा मात्र कोभिड छ जस्तो भो’

इकागज |
मंसिर ७, २०७७ आइतबार १२:५२ बजे

काठमाडौं : फिल्मकर्मीले एक अर्कालाई भेट्दा सञ्चो बिसञ्चो हैन सोध्छन्, ‘हल कहिले खुल्छ ?’ तर, यसको जवाफ न प्रश्न खेप्ने फिल्मकर्मीसँग छ न यो क्षेत्रको प्रतिनिधित्व गर्ने चलचित्र विकास बोर्डसँग ।

भदौ-असोजदेखि नै फिल्म क्षेत्र खुल्ने अनुमान गरेर बसेका फिल्मकर्मी तिहारपछि पनि यो क्षेत्र खुल्ने कुनै संकेत नपाउँदा अधैर्य बनेका छन् । कलाकार तथा फिल्म वितरक करण श्रेष्ठले केही दिनअघि एकल प्रदर्शन गर्दै सरकारलाई सोधे, ‘ सबै खुल्यो, चलचित्र क्षेत्र किन खुलेन सरकार ? मजदुर हाम्रोमा पनि छन् ।’ 


एउटा फिल्मको घोषणा कार्यक्रममा भेटिएका चलचित्र विकास बोर्ड अध्यक्षलाई इकागजले यही प्रश्न सोध्यो, ‘चलचित्र क्षेत्र कहिले खुल्छ ?’ अध्यक्ष दाहालले लाचारीयुक्त जवाफ दिए, ‘ अस्ति नै खुल्न पर्ने हो । सरकारले नसुनेको देख्दा लाग्छ, कोरोना सिनेमा हलबाट मात्र सर्छ ।’

बोर्ड अध्यक्ष दाहालले दुई महिनाअघि नै आफूले हल खोल्ने मोडालिटीसहित मन्त्रालयमा प्रस्ताव पठाए पनि निर्णय लिन ढिलाइ भएको जानकारी गराए । ‘हामीले ‘सिसिएमसी’ (कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी)लाई पनि आफूहरूको प्रस्तावका सम्बन्धमा जानकारी गराएका छौं । आजभोलि भन्दाभन्दै समय लाग्यो । तर, बोर्डले केही दिनमै यसको निकास निकाल्छ, ’ दाहालले भने ।

चलचित्र विकास बोर्डले सुटिङमा जान चाहाने फिल्मलाई भने अनुमति दिएको छ । बोर्डले दिएको जानकारी अनुसार यतिबेला २० बढी फिल्मले सुटिङका लागि अनुमति लिइसकेका छन् । तर, हल खुल्ने/नखुल्ने दुविधा चलिरहँदा सुटिङका लागि तयार केही फिल्म बिलखबन्दमा छन् ।

यतिबेला चलचित्र क्षेत्रको सक्रियता हल सञ्चालकको निर्णयमा टिकेको छ । तर, हल सञ्चालक भने सरकारले पुनः हल बन्द नगर्ने ग्यारेन्टी गरे मात्र हल खोल्ने निर्णयमा छन् । चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले चलचित्र क्षेत्र मात्र बन्द गर्ने सरकारको निर्णय देखेर चकित छन् ।

‘भिडभाड हुने सार्वजनिक यातायात, रेष्टुरेन्ट, कल कारखाना, हवाइजहाज कतै पनि सरकारले कोरोनाको डर देखेको छैन । डर देखेको छ त खाली हलबाट ? यसलाई हामीले सरकारको उपेक्षाको रुपमा बुझेका छौं । एक दुई दिनमा सम्बन्धित पक्ष बसेर निर्णय लिन्छौं,’ प्रधानले भने । सरकारले यसलाई मनोरञ्जन स्थलको रुपमा मात्र बुझ्दा बेवास्तामा परेको उनको ठहर छ ।

‘रमाइलो गर्ने ठाउँ अहिले किन चाहियो ? भन्ने हिसाबले मात्र सरकारले लिए जस्तो छ । तर, यो पनि उद्योग हो र यसले पनि हजारौं मानिसलाई रोजगार दिइरहेको छ भन्ने सरकारले हेक्का राखेको देखिएन,’ प्रधानले इकागजसँग भने , ‘अति प्रभावित क्षेत्रमा राखेर हल खोल्ने वातावरण बनाउनु पर्यो भन्ने हाम्रो माग हो । हामी सरकारको निर्णयको प्रतीक्षामा छौं ।’ चीनको वुहानबाट कोभिड-१९ फेलिएसँगै सरकारले गत चैत ८ गतेबाट हल बन्द गर्ने निर्णय गरेको थियो ।   


 


Author

थप समाचार
x