कला

फिल्म प्राविधिकको चुलो चिसिए पछि ताते अमेरिकामा हिरो

इकागज |
जेठ १४, २०७८ शुक्रबार १२:२१ बजे

काठमाडौं : कोभिड १९ को दोस्रो लहरले चलमलाउन थालेको फिल्म उद्योग फेरि बन्द गराए पछि दिनदिनै मजदुरी गर्ने प्राविधिकको चुलो चिसा भयो । महामारी नियन्त्रणका सुरु भएको निषेधाज्ञा हट्ने छाँट नदेखेपछि प्राविधिकको राहतका लागि प्रवासमा रहेका फिल्मकर्मी सक्रिय भएका छन् । पहिलो लटमा अमेरिकामा रहेका हिरोहरूले सहयोगको हात बढाएका छन् । 

प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार प्राविधिकको राहतका लागि भन्दै अमेरिकामा रहेका हिरोहरू गणेश उप्रेती, जीवन लुईंटेल, राजबल्लभ कोइराला, निरज बराल, मुकेश आचार्यले आर्थिक सहयोग प्रदान गरेका छन् ।


लामाका अनुसार जीवन, राजबल्लभ र निरजले समान ५१ हजार प्रदान गरेका छन् भने मुकेशले २१ हजार प्रदान गरेका छन् । त्यसैगरी गणेश उप्रेतिले ५० हजार दिएको लामाले जानकारी गराएका छन् ।

उनले त्यसबाहेक प्रवासमा रहेका कलाकारबाट पनि रकम प्राप्त हुने क्रम जारी रहेको बताए । यही क्रममा प्राविधिकको राहतका लागि भन्दै कलाकार निर्मल शर्माले २५ हजार नगद प्रदान गरेका छन् अष्ट्रेलियामा रहेका कलाकार तथा निर्देशक अग्रज केसी र कृष्ण कोइरालाले १५ हजार नगद पठाएका छन् ।

‘अहिलेसम्म ४ लाख बढी रकम जम्मा भइसकेको छ । मेरै नेतृत्वमा विपद व्यवस्थापन समिति पनि बनेको छ । यसले राहत आवश्यक पर्ने परिवारको सूची बनाएको छ र त्यही सूची अनुसार हामी राहत बाँडिरहेका छौं ,’ लामाले भने । 

लामाका अनुसार संघको सहजीकरणमा अहिलेसम्म १ सय ३० परिवारले राहत पाइसकेको छ । यसरी राहत पाउनेले खाद्य सामाग्री र ग्याँसको रकम पाएको पनि उनले जानकारी गराए । 

बुधबार मात्र संघकै सहजीकरणमा अभिनेत्री सुमिना घिमिरेले ४० परिवारलाई खाद्यान्न सहयोग गरेकी थिइन् । बिहीबार अभिनेत्री करिष्मा मानन्धरले ४० घरपरिवारलाई ३० केजी चामलसँगै १५ सय रुपैंया नगद दिएको लामाले बताए । 

केही दिनअघि विजय लामाले पनि ५० घरपरिवारलाई १२ केजीका दरले खाद्यान्न सहयोग गरेका थिए । विजय लामाले नोर्बु लामासँग मिलेर यो सहयोग बाँडेका हुन् । 
लामाले प्राविधिकको राहतको लागि विपद कोष स्थापना गरेको र कृषि विकास बैंकमा रहेको खातामा पनि सहयोग गर्न सकिने बताएका छन् ।

‘अझै कतिन्जेल फिल्मको गतिविधि सुरु हुन्न, थाहा छैन । कोही प्राविधिक दुई छाक खान नपाएर भोकै बस्नुपर्ने अवस्था नहोस् भनेर हामीले यो अभियान सुरु गरेका हौं । यसमा धेरथोर जे हुन्छ सहयोगको अपेक्षा राखेका छौं,’ लामाले भने । 
 


Author

थप समाचार
x