कला

स्वास्थ्यकर्मीको सम्मानमा रणजीत झाको ‘मलाई नसोध’

इकागज |
जेठ १४, २०७८ शुक्रवार १५:३२ बजे

काठमाडौं :  कोभिड–१९ बाट संक्रमित बिरामीको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रिय वरिष्ठ चिकित्सक डा.रणजीत कुमार झाले ‘मलाई नसोध’बोलको गीत सार्वजनिक गरेका छन् ।

लामो समयदेखि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रुपमा कार्यरत डा.झाले कोरोना भाइरसका संक्रमितहरूको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा गीत गाएका हुन् । उक्त गीतमा संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोदशा मात्र चित्रण गरिएको छैन, चिकित्सकहरुले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर पनि बिरामीको उपचारमा खटिएका छन् भन्ने सन्देश बोकेको छ ।


डा.रणजीत कुमार झाद्वारा नै प्रस्तुत गरिएको उक्त गीतमा डा.झाको स्वर सुन्न सकिन्छ भने शब्द गिरिराज निरौलाले रचना गरेका हुन् । गीतमा डा.झा तथा गीतकार निरौलाको संगीत निर्देशन छ ।गायक डा.झाका अनुसार विदेशमा बसोबास गर्ने गीतकार गिरिराज निरौलाले अघिल्लो वर्ष कोरोना संक्रमणको जोखिमकै बीच डा.झासहित सम्पूर्ण चिकित्सकको बाध्यतालाई गीतमा उतारेका थिए । 

गीतमा महाराज थापाको संगीत संयोजन छ भने साजन शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् । भिडियोमा निर्देशक निशान कश्यपको अवधारणा तथा निर्देशन रहेको छ ।महेश खड्का तथा सुशिला थापाको अभिनय गरेको भिडियोमा गायक डा.झाले पनि अनुहार देखाएका छन् ।

भिडियोमा अस्पतालमा उपचाररत संक्रमितहरुलाई पनि चित्रण गरिएको छ ।मुकेश हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोमा निर्देशक निशान कश्यपकै रंग संयोजन तथा सम्पादन रहेको छ ।

 


Author

थप समाचार
x