कला

गीतकार रत्नशमशेर थापाको वार्षिकी

यो सालको असार पन्ध्रमा कोसँग दही चिउरा खानु ?

नारायण वली |
जेठ १५, २०७८ शनिबार १४:९ बजे

२०३५ देखि मैले रत्नशम्सेर थापाका गीत रेडियोबाट सुन्न सुरु गरेको हुँ । सुरुमा यो शम्सेर भन्ने नाम पनि गीत–संगीतमा ? भन्ने जस्तो लाग्थ्यो । शम्सेर भन्या  तिनै धीर, वीर, रणवीर शम्सेर नै होलान् भनेझैँ लाग्थ्यो ।

२०४५ सालमा म दार्जिलिङको पढाइ सकेर काठमाडौं फर्किएँ । मेरो पनि रुचि यतै थियो । रेडियो नेपाल धाउन थालेँ । गीत संगीतका कार्यक्रममा पनि बरोबर गइरहन्थेँ । यतैतिर पहिलो पल्ट मैले उहाँलाई देखेको थिएँ । हेर्दा पातलो भए पनि बडा वजन्दार आवाज छ बा ! यी मान्छेको त भन्ने लाग्थ्यो ।


करिब ०५० पछि एक दिन म त्यो निवासमा पुगेँ । नयाँ मान्छे भेटेपछि थातथलो पुर्खा सोध्ने चलन थियो , उसबेला । उहाँले पनि को के कता कहाँबाट भन्ने कुरा सोध्नु भयो । मैले सबै बताएँ । तत्पश्चात त रमाइलो वातावरण बन्न थाली हाल्यो । एवम् रीतले हाम्रो संगत अगाडि बढ्यो ।

हाँसँग सहकार्य गरेको चैं २०५५ सालमा हो । रबिन शर्माको स्वर र मेरो संगीतमा एकल एल्बम निकाल्ने कुरा भयो । मैले एउटा गीत उहाँसँग पनि मागेँ । ‘चाहे पाप भन या अपराध मैले त मीठो भूल गरेँ’ बोलको यो गीत ‘सुनगाभा’ एल्बममा समेटियो । 

पछि रेडियो नेपालमा उहाँका दुई गीत रेकर्ड गराएँ । दुईमध्ये एक गीत रबिन शर्माले नै गाउनु भएको थियो भने अर्को गीत आदरणीय फत्तेमानले । त्योबाहेक उहाँका शब्द र मेरो संगीतमा एड्रियन प्रधान, शिशिर योगी आदिले पनि स्वर भरेका छन् । 

२०६८ सालमा भने उहाँको सोलो गीत र मेरो सोलो कम्पोज गरी एल्बम निकाल्यौं । ‘आउ सुटुक्क’ शीर्षकको यो एल्बम  म्युजिक नेपालले निकालिदिएको थियो । यसरी थापासँग मेरा एक दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । 

गीत लेखेर संगीत भर्नु र धुन सुनेर गीत लेख्नु दुई फरक कुरा हुन । ताल र सुरको ज्ञान नहुनेले धुन सुनेर गीत लेख्न गाह्रै पर्छ । तर, मैले थाहा पाएअनुसार रत्नशम्सेर थापा धुनमा सजिलै गीत लेख्न सक्ने नेपालको पहिलो गीतकार हुनुहुन्थ्यो । उहाँले दिएको शब्दमा धुन बनाएर ल्याएपछि कतै चित्त बुझेन भने ठाउँका ठाउँ परिवर्तन गर्नुहुन्थ्यो । जहिले पनि विकल्प दिन तयार हुनुहुन्थ्यो । 

लेख्दाखेरी भने छन्दमा लेख्न ज्यादा रुचाउने । जस्तै, ‘फूलै फूलको मौसम तिमीलाई’ , ‘तारा जुनको मौसम तिमीलाई’ जस्ता गीत मिहिन गरी सुन्दा उहाँको गीत लेखनको यो विशेषता महसुस गर्न सकिन्छ । 

रत्नदाइलाई धेरैले कडा स्वभावको भनी टिप्पणी गर्थे । मैले व्यक्तिगत रुपमा महसुस गरिँन । तर, मलाई लाग्छ, स्वभाव यस्तो हुनमा उहाँको सैनिक पृष्ठभूमिको असर थियो । उहाँबाहेक परिवारका अधिकांश सदस्य सेनामा जागिर थिए । उहाँले भने गीत गजल लेखनबाहेक अरु कुनै जागिर रुचाउनु भएन ।  

रत्नशम्सेर थापाका पुर्खाहरू काभ्रे जिल्लाको ओपी भन्ने ठाउँदेखि बसाइँ सरी काठमाडौं आएका हुन् । उनका कुप्रा बाजे केसर सिंह थापाका दुई बहिनीहरू धीर शम्सेरले विवाह गरेपछि एक फुपुको सन्तानलाई शम्सेर, अर्कोलाई जङको उपाधि राणाहरूले दिएका हुन् ।

केसर सिंहका कान्छा छोरा पद्म शम्सेरका सात भाइ छोरामध्ये माइला छोरा तिर्थ शम्सेर थापाका ४ सन्तानमध्ये एक मात्र छोराका रुपमा रत्नदाइको १९९४ साउन–१६ मा काठमाडौंको कमलपोखरीमा जन्म लिएका थिए । 

जोगमनीको चिनी कारखानामा छोटो समय काम गरेका थापाले २०१६ सालमा त्रिचन्द्रमा पढ्न थालेका थिए ।  यहीँ उनले नारायण गोपाल, उत्तम कुँवर, मदन रेग्मी , बालमुकुन्द देव पाण्डे , वासुदेव त्रिपाठी, सहपाठी र सहकर्मीका रुपमा पाए । साहित्यकार र गायकको संगतले उनी गीत–संगीततर्फ आकर्षित गरेका थिए ।

अनि यसै समयमा थापाको पहिलो गीत ‘गाजलु आँखा मोहनी रुप हसिलो मुहार’ नारायण गोपालको स्वरमा पहिलो पटक रेडियो नेपालबाट प्रसार भएको थियो । । यसपछि उनले लेखेका ‘ए कान्छा ठट्टैमा’ ‘विछोडको पीडा’ ‘जाग लम्क चम्क हे’, ‘आँखाको भाका’, ‘स्वर्गकी रानी’ , ‘मधुमासमा यो दिलको बाग’, ‘कुन्जमा गुन्जियो’, ‘मौन छु आँसु पिई’, ‘सेरो र फेरो मेरो’ ‘अँध्यारो पारी गयौ’ जम्मा कुल १० गीत नारायण गोपालले गाए । जुन गीत आज पनि जिउँदा छन् ।  

रत्न दाइको जीवनको रमाइलो कुरा के थियो भने उस समयको चलनअनुसार रत्न दाइको विवाह धेरै नै ढिला भएको थियो । रत्न दाइ ४६ वर्षको हुँदा राजबिराजकी २६ वर्षीय भैरवी बस्नेतसँग विवाह भएको थियो । तर, ४ वर्षको अन्तरालमा नै दुई छोराको जन्म भएको थियो । 

स्पस्ट र हक्की स्वभाव भएका रत्न शम्शेर नै एउटा यस्तो अब्बल गीतकार हुन्  जसले जीवनभर गीत , मुक्तक र कविताबाहेक केही सोचेनन् । त्यसैमा सिंगो जीवन बिताए । हरेक असार पन्ध्रमा म रत्न दाइको निवासमा सँगै बसेर दही चिउरा खाने गर्दथेँ ।

खुब रमाइलो हुन्थ्यो, त्यहीँ भएको हार्मोनियम समातेर मुडमा एक गीत बनी पनि हाल्थ्यो । अब यो असारमा भने दाइको सम्झना मात्र बाँकी रहने भयो । सम्झनाकै कुरा गर्दा यसमा चेतन कार्की दाइ पनि जोडिनु हुन्छ । दुवैजना जोडिएको एउटा सानो घटना छ । 

अन्तिम चरणमा अस्पतालबाट घर ल्याएपछि हामी ४ जना चेतन दाइ, विश्वम्भर प्याकुरेल, अभि सुवेदी र म भेट्न गएका थियौँ । वहाँले मामा चेतन कार्कीलाई चिसो कोक खाने भन्दै सानो स्वरमा जिस्काउनु भयो ।

 अवसरमा वहाँद्वारा लेखिएका दुई गीतहरु मैले त्यहीँ भएको हार्मोनियमको साथमा गाउँदा वहाँका आँखा रसाएका थिए । गीतको बोल थिए, ‘जीवन देखी थकित भई म कल्पी कल्पी सल्किरहेँ’ र ‘ ‘रात अनिँदो बितिरहेछ, सपना मेरो रित्तिसकेछ ।’

यसरी हामी एक डेढ घन्टा बसेर बिदा भएका थियौँ । यी दुवै गीत रेकर्ड भए हुने वहाँको चाहानालाई मैले पूरा गर्नुछ । रत्न दाइको नयाँ सिर्जनालाई यत्रतत्र सुनिने बनाउनु छ । सृजनाको शक्तिले सदैव बाँचिरहने रत्न दाइले आज हामीलाई छाडेर गएको ठ्याक्कै एक वर्ष भएछ ।  वार्षिकीमा  रत्नदाइलाई मेरो मनैभरीको सम्झना !


Author

थप समाचार
x