कला

सरकारमाथि प्रियंकाको आक्रोश , ‘ पहिला भोट पाउने काम गर अनि मात्र चुनाव ’

इकागज |
जेठ १५, २०७८ शनिबार १५:३५ बजे

काठमाडौं : गर्भवती भए पछि प्रियंकाको दैनिकी छ, सामाजिक सन्जालमा दिनहुँ केही न केही पोस्ट गरिरहने । फेसबुक इन्स्टामा फोटो हाल्छिन् त टिकटकमा घरको दैनिकी । यसमा उनले पति आयुष्मान जोशीले अभ्यास गराएकोदेखि उनलाई केयर गरेकोसम्मका क्लिप्स अटाउने गरेका छन् । 

महामारीले आम मानिसको जीवन उकुसमुकुस भइरहेका बेला धेरैलाई भने प्रियंकाको यो दैनिकी पचेको थिएन । उनले पोस्ट गरेका फोटो उपर मानिसको टिप्पणी थियो, ‘मानिसलाई यहाँ जीवन बचाउने सकस छ । प्रियंकालाई भने सधैं फोटो देखाउनकै चिन्ता ।’


सायद धेरै मानिसको यो चासो यो पटक प्रियंकालाई पनि जायज लाग्यो । यसैको असर होला उनले शनिबार सरकारलाई गाली गर्दै स्ट्याटस पोस्ट गरिन् । पोस्टमा उनले चुनावभन्दा पनि जनताको स्वास्थ्यमा ध्यान दिन आग्रह गरेकी छिन् । 

‘आँखा खोलेर एक पटक निहालेर देशको स्थिति हेरनुस् । अहिलेको समयमा देश र जनतालाईं चूनाव चाहिँदैन,’ प्रियंकाले फेसबुकमा लेखेकी छन् । चुनाव अहिलेको प्राथमिकता नभएको बताउँदै उनले जनताको सेवा सरकारको पहिलो प्राथमिकता रहनुपर्ने उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन् ‘हजारौँको दरले दैनिक कोरोना संक्रमितहरू बढिरहेका छन्, अस्पतालमा ठाउँ छैन, भेन्टिलेटर छैन, अक्सिजन छैन, जनताले भ्याक्सिन लाउन पाएको छैन, निषेधाज्ञा चलिरहँदा जनताले दुई छाक खान पाएका छैनन् । यो सब देख्दा देख्दै पनि अहिलेको नाजुक घडिमा चालीस अर्ब चुनावमा खर्च गर्ने ? देश र जनतालाई साँच्चै यही चाहिएको हो त ? बुझ पचाएर बस्ने? अझै पनि आफूले आफुसँग नजर मिलाउन सक्छौ ए सरकार ? राति निद्रा राम्रोसँग लाग्छ ?’

प्रियंकाले चुनावमा हुने खर्च अक्सिजन सिलिन्डर, आइसियू वार्ड, हेल्थकेयर सिस्टम, भ्याक्सिन आदिको जोहोमा खर्च गर्न पनि सुझाएकी छिन् ।  ‘ जनता रहे त देश रहन्छ नी होइन र ? चुनाव त विस्तारी समय परिस्थिति ठीक भए पछि  गरौंला नी । चुनावमा भोटको आशा गर्ने ए सरकार, भोट पाउने लायक काम त गरेर त देखाउनुस् पहिले,’ उनको सुझाव छ । 


Author

थप समाचार
x