कला

विश्वभरि रहेका नेपाली प्रतिभालाई चिनाउन ‘एनआरएन द सिंगर’ आयोजना गरिने

इकागज |
जेठ १६, २०७८ आइतवार ११:३६ बजे

काठमाडौँ :  विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ‘एनआरएन द सिंगर’ सुरु गर्ने भएको छ । प्रवासमा रहेका नेपाली कलाकारको पहिचान गर्ने ‘सांगीतिक रियालिटी सो’ २१ जुन देखि सुरु हुने आयोजकले जनाएका छन् ।

 उक्त  प्रतियोगितामा नेपाल र सार्क मुलुकहरू बाहेक सबै राष्ट्रमा छरिएर रहेका १५  वर्षभन्दा माथिका नेपाली भाषीले भाग लिन पाउनेछन् । प्रतियोगिताको  निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्व अध्यक्ष तथा नियात्राकार  जीवा  लामिछाने रहेका छन् ।


 शनिबार उक्त प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका  पूर्व अध्यक्ष जीवा लामिछानेले  भने,  ‘एनआरएनए स्थापनाका प्रमुख उद्देश्यहरू मध्ये एक प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा जगेर्ना गर्नु रहेको छ । यो कार्यक्रम त्यसतर्फ एक कोशेढुंगा हुने मैले विश्वास लिएको छु ।’ उनले कार्यक्रमलाई सफल पार्न  सहयोगका लागि सबैलाई आग्रह पनि गरेका छन् ।

एनआरएनए अध्यक्ष कुमार पन्तले भाषा, साहित्य र संस्कृति नै गैरआवासीय  नेपालीहरूको मूल पहिचान भएकोले यो कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताए  ।
संगीतकार शम्भुजीत बाँस्कोटाले आफूले जहिले पनि नेपाली संगीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको र यो कार्यक्रमले अवश्य पनि नयाँ र राम्रा प्रतिभाहरू जनमा उने विश्वास व्यक्त गरे ।

उनले सन् १९८७ मा प्रज्ञा प्रतिष्ठानको डबलीबाट नेपालमै पहिलो पटक रियालिटी सो सुरु गरेको स्मरण गर्दै एनआरएनएले पुल जस्तो बनेर संसारभरि साहित्य र संगीतको माध्यमबाट सारा नेपालीलाई समेट्न खोजेको भन्दै प्रशंसा गरे ।

  कार्यक्रममा निर्णयक मण्डलका सदस्य गायक शम्भु राई,  गायिका शर्मिला बर्देवा, एनआरएनएका उपाध्यक्ष डा. बद्री केसी , महासचिव डा. हेमराज शर्मा, एनसीसी अमेरिकाका  अध्यक्ष सुनील शाह, एनसीसी युके अध्यक्ष पुनम गुरुङ तथा मिडिया कमिटिका सहसंयोजक चिरन्जीवि देवकोटाले पनि कार्यक्रममा शुभकामना दिएका थिए  । 

कार्यक्रममा एनआरएनए द सिंगरको लोगो र जिङ्गल सार्वजनिक गरिएको थियो । कार्यक्रममा संस्कृति तथा सम्पदा उपसमितिका सदस्य सचिव खड्ग न्यौपानेले लोकप्रिय गीत ‘यो देशमा म एउटा मानिस खोजि रैछु’ भन्ने गीत गएर सुनाएका थिए भने न्यौपाने र दिक्पाल पंगेनीले रोचक ढंगले कार्यक्रम संचालन गरेका थिए ।  


Author

थप समाचार
x