कला

सलमान अभिनीत ‘दबंग’ को ‘चुलबुल पाण्डे’ अब एनिमेसनमा

इकागज |
जेठ १८, २०७८ मंगलबार १२:२९ बजे

मुम्बई :  सलमान खान यतिबेला समीक्षक कमाल आर खान (केआरके)लाई मानहानीको मुद्दा हालेर विवादमा छन् । सलमानको ब्रान्ड विइङ ह्युमनलाई केआरकेले बदनाम गर्ने प्रयास गरेको भन्दै सलमानले मुद्दा हालेका हुन् ।

सलमानले यसो भने पनि धेरैले भने ‘राधे’को खराब समीक्षा पछि सलमान केआरकेसँग भड्किएको अनुमान गरेका छन् । यही समयमा उनले ‘राधे’को समीक्षा गरेका थिए र फिल्मलाई झेल्ने नसकिने बताएका थिए । उनको यो समीक्षा सामाजिक सञ्जालमा भाइरल भएको थियो ।


तर, यसको एक दुई दिन पछि नै सलमानले केआरकेविरुद्ध मुद्दा हालेका थिए । अहिले यो मुद्दामा केआरकेले गोविन्दा र शाहरुख खानलाई पनि जबर्जस्ती तानेर विवाद बढाउने काम गरिरहेका छन् । 

यही समयमा सलमानको बहुचर्चित चरित्र ‘चुलबुल पाण्डे’ले एनिमेटेड स्वरुप पाएको सलमानले खुलासा गरेका छन् । उनले सोमबार ट्वीट गर्दै ‘दबंग’को ‘चुलबुल पाण्डे’ एनिमेटेड अवतारमा आएको जानकारी गराएका हुन् । सलमानका अनुसार यो एनिमेसन सिरिज कार्टुन नेटवर्कमा हरेक दिन १२ बजे प्रसारण हुनेछ । 

कुनै चर्चित हिन्दी फिल्म एनिमेटेड सिरिजमा रुपान्तरण हुन लागेको यो पहिलो घटना भने होइन । यस अघि डिस्कभरी च्यानलले ‘फुकरे’ लाई ‘फुकरे ब्वाइज’को नाममा प्रसारण गरेको थियो । यसैगरी अजय देवगनको ‘सिंघम’लाई ‘लिटिल सिंघम’नाममा निकोलडनले प्रसारण गरेको थियो भने अजयकै ‘गोलमाल’ पनि ‘जुनियर गोलमाल’ नाममा प्रसारणमा आएको थियो । 


Author

थप समाचार
x