कला

मदनकृष्ण भन्छन्, ‘कोरोना कान समातेर ह्वाँह्वाँ रुँदै लुसुक्क भाग्यो’

इकागज |
जेठ १८, २०७८ मंगलबार १४:४४ बजे

काठमाडौं :  महनकृष्ण श्रेष्ठले अस्पतालबाट फर्किएको हप्ता दिन पछि कोभिड–१९को अनुभव सेयर गर्दै आफूले दुःखसाथ कोरोनालाई जितेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै रिपोर्ट अझै पोजेटिभ नै रहे पनि आफूले भाइरसलाई जितेको दाबी गरेका छन् । उनले दुई दुई पल्ट अस्पताल बस्नु परेको स्मरण गर्दै नेपाली दाजुभाइ तथा दिदी बहिनीको मायाले आफूले रोगलाई जितेको पनि बताएका छन् ।

तर, यति हुँदाहुँदै पनि यसले आफूलाई पुरै खुशी भने बनाउन नसकेको उल्लेख गरेका छन् । ‘मनमा अझै पनि पूरा खुशी लागेको भने छैन । देशमा अझै पनि कोरोना पीडितहरू धेरै  बाँकी नै छन् ।  कतिपय अझ थपिँंदै पनि छन् । यस अवस्थामा देशको सबै भन्दा ठूलो समस्या भन्नु यही  कुलंघार कोरोना नै हुन्,’ उनले लेखेका छन्, ‘ सरकारले पनि यसलाई नै पहिलो प्राथमिकता दिएर सबैतिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउनतिर लाग्‍न सम्झाउन चाहन्छु । जनता नै भएन भने कस्लाई शासन गर्ने ? हैन त ।’
मदनकृष्णको यो स्ट्याटस उनको स्वभाव जस्तै हँसिलो र ठट्यौलीले भरिएको छ । उनको स्ट्याटस जस्ताको तस्तै : 


मलाई माया, शुभेच्क्षा र आशिर्वाद बर्षाउँदै, मेरो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्नुहुने, सम्पूर्ण मेरा प्यारा प्यारा दर्शक स्रोता, नर्स, डक्टर अनि पृथ्वीभरिका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाइहरूमा, मेरो हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु । यहाँहरूको आशिर्वाद लाग्यो मलाई ।  यहाँहरूबाट प्राप्त अमृतमय मायाको बलले कोरोनारुपी विषलाई मज्जाले पचाइयो । 

कोरोनाले मलाई पछार्न त नराम्रै सँगै पछार्यो । पछार्यो मात्र हैन अझ लछार्यो  र हस्पिटलमा लगेर मलाई बेस्कन बजार्यो्, ओर्कायो, फर्कायो, थर्काउनु थर्कायो, बेला बेलामा तर्सायो पनि ।  बलियो चाहीँ निक्कै बलियो रहेछ बजिया ... । तर सबैको माया, शुभेच्छा , प्रार्थना, र आशिर्वादको बलले गर्दा मलाई त्यसले  जित्न भने सकेन । पछि कोरोना आफै लुत्रक्क परेर, लाजले निहुरिएर, मेरो खुट्टा ढोगेर नमस्कार गर्दै कान समातेर १० पल्ट उठ् बस गरेर  ह्वाँ... ह्वाँ ... रुंदै मसँग क्षमा मागेर लुसुक्क भाग्यो... ... ।

अब शरीरमा अलि अलि शिथिलता बाँकी छ । त्यो पनि अलि अलि गर्दै कम कम  हुँदैछ । म पहिलोपटक ८ दिन, फेरि दास्रो पल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो । डक्टरहरूले मलाई ‘तपाईंको शरीर अब एन्टिबडी बनिसकेको छ । अब तपाईंको शरीरमा अरु कसैबाट पनि कोरोना भाइरस सर्दैन र तपाईँबाट पनि अरुलाई सर्दैन । एक प्रकारले भ्याक्सिन लिइसकेको सरह नै भैसकेको छ भनेका छन् । 

तर म मेरो पीसीआर रिपोर्ट नेगेटिभ आयो ... भनेर सबैलाई सुनाउने इच्छाले केही नलेखी चुपचाप कुरिरहेको थिएँ । तर हिजो फेरि पीसीआर गराउँदा रिपोर्टले घरमा सबैको नेगेटिभ देखियो ।  मेरोमा अझै अलि पोजेटिभ बाँकि रहेको देखाएको छ ।  डक्टरहरूको भनाइअनुसार मेरो शरीरमा भएका कोरोनाको भाइरसहरू सबै मरिसकेका छन् ।  

अब खालि ती मरेका भाइरसका लासहरू  मात्र बाँकी छन् । त्यो बाँकी हुन्जेल पनि मेशिनले पोजेटिभ नै देखाउँछ । त्यस्ले केही फरक पर्दैन ,केही दिन पछि त्यो पनि आफँै जान्छ भनेका छन् । जे होस बाँचियो बा ... ! 

कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोस्टेट, प्रेसर, मुटुको समस्या छ, अनि अर्को कन्स्टिपेसनको पनि समस्या छ र यसलाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला ।  सायद यहाँहरु जस्तो मलाई औधी माया गर्नु हुने  लाखौँ लाख शुभेच्छकहरू पनि मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहा ?

यो कुरा मैले हजुरहरूलाई जानकारी दिनका लागि मात्र लेखेको हुँ  । मनमा अझै पनि पूरा खुशी लागेको भने छैन ।  देशमा अझै पनि कोरोना पीडितहरू धेरै  बाँकी नै छन कतिपय अझ थपिंँदै पनि छन् ।

यस अवस्थामा देशको सबै भन्दा ठूलो समस्या भन्नु यही  कुलंघार कोरोना नै हुन । सरकारले पनि यसलाई नै पहिलो प्राथमिकता दिएर, सबैतिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउनतिर लाग्न सम्झाउन चाहन्छु । जनता नै भएन भने कस्लाई शासन गर्ने ? हैन त ??
सबैको जय होस् । सबैको कल्याण होस् । कोरोनाबाट संसार चाँडै मुक्त होस् । धन्यवाद,  मदनकृष्ण श्रेष्ठ ।


Author

थप समाचार
x