कला

अक्षयकुमारको ‘ओ माई गड’को सिक्वेल बन्दै, परेश रावलको ठाउँमा पंकज त्रिपाठी

इकागज |
जेठ २०, २०७८ बिहीबार १३:३१ बजे

मुम्बई :  अक्षयकुमार र परेश रावलको मुख्य भूमिका रहेको फिल्म ‘ओ माई गड’को सिक्वेल बन्ने भएको छ । पिंकभिल्लाले लेखेको समाचारअनुसार यो फिल्मको सुटिङ अक्टोबरबाट सुरु हुनेछ । 

भगवानलाई मुद्दा हाल्ने रोचक विषयमा बनेको फिल्ममा अक्षयकुमारले भगवानको भूमिका निर्वाह गरेका थिए भने परेश रावलले भगवान पीडित व्यापारीको रुपमा । तर, दोस्रो भागमा अक्षयकुमार भगवानको भूमिकामा यथावत रुपमा रहनेछन् भने परेश रावलको ठाउँमा भने निर्माताले पंकज त्रिपाठीलाई अनुबन्ध गरेका छन् ।


अक्षयकुमार र पंकजले यसअघि ‘बच्चन पाण्डेय’मा सँगै काम गरेका थिए । अक्षयकुमारकै सुझावमा पंकजलाई फिल्ममा लिइएको पनि समाचारमा उल्लेख छ । 
परेश रावल मात्र होइन दोस्रो भागमा निर्देशक पनि फेरिन लागेका हुन् । पहिलो भाग उमेश शुक्लाले निर्देशन गरेका थिए । तर, दोस्रो भागलाई अरु कुनै निर्देशकले निर्देशन गर्नेछन् । निर्माण टिमले निर्देशकको नाम भने सार्वजनिक गरेको छैन । 

यो फिल्म प्रिप्रडक्सनको काम सुरु भइसकेको र अक्टोबरबाट फ्लोरमा जाने तयारीमा रहेको पनि समाचारमा उल्लेख गरिएको छ । तर, यो फिल्मको सुटिङ गर्नु अघि अक्षयकुमारले ‘रातसेतु’, ‘रक्षा बन्धन’ र ‘पृथ्वीराज’को काम सक्नेछन् । महामारीका कारण तीनै फिल्मको सुटिङ रोकिएको छ । 


Author

थप समाचार
x