कला

सञ्जय कपुरकी छोरीलाई फिल्म खेलाउँदै करण जौहर, रोमकमबाट डेब्यू गर्दै

इकागज |
जेठ २३, २०७८ आइतवार १७:३१ बजे

मुम्बई : निर्माता तथा निर्देशक करण जौहरले ट्यालेन्ट म्यानेजमेन्टको घोषणा गरेर नै केही नयाँ अनुहारलाई फिल्ममा मौका दिने घोषणा गरेका थिए । यही घोषणाअनुसार केही नाम धर्माले बनाउने फिल्मका लागि बाहिरिएका पनि थिए ।

यसमा अभिनेता सञ्जय कपुरकी छोरी सनाया कपुरको पनि नाम थियो । उनले ‘स्टुडेन्ट अफ दि इयर ३’बाट बलिउडमा डेब्यू गर्न लागेको चर्चा पनि थियो । तर, ताजा खबरअनुसार सनायाले यो फिल्म हैन रोमान्टिक कमेडी विधाको फिल्मबाट डेब्यू गर्ने भएकी छिन् ।


यो फिल्मका लागि सनायाले ६ महिनादेखि वर्कसप गरिरहेकी छिन् । फिल्ममा सनायाले लक्ष्य लालवानीसँग रोमान्स गर्नेछिन् । लक्ष्य धर्माकै ‘दोस्ताना २’बाट बलिउडमा डेब्यू गर्दैछन् । 

फिल्मको औपचारिक घोषणा र निर्देशकको नाम केही समयपछि गर्ने धर्माको तयारी रहेको जनाइएको छ । तर, यो फिल्ममा करण जौहर र शशांक खैतान निर्माताको रुपमा रहनेछन् । देशबाहिर सुटिङ हुने यो फिल्म वर्षको अन्त्यतिर फ्लोरमा जानेछ । 

सुशान्त सिंह राजपुतको मृत्युपछि करण जौहरले नेपाटिज्मलाई मलजल गरेको भन्दै व्यापक आलोचना भएको थियो । त्यसका बावजुद उनले ट्यालेन्ट एजेन्सी खोल्दै वर्षेनी नयाँ कलाकार भित्र्याउने योजना सार्वजनिक गरेका थिए । जसमा बलिउडकै अघिल्लो पुस्ताका कलाकारदेखि उद्योगसँग पूर्व नाता नभएका कलाकार पनि छन् । 
 


Author

थप समाचार
x