कला

‘बोक्सीको घर’ बनाउँदै केकी

इकागज |
मंसिर १०, २०७७ बुधबार ११:४५ बजे

काठमाडौं : ४ सालअघि मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ अब चलचित्रमा रुपान्तरण हुने भएको छ । २०७३ सालको भदौमा सफलतापूर्वक मञ्चन भएको नाटकलाई केकी अधिकारीले निर्माण गर्न लागेकी हुन् । फिल्ममा उनले शीर्ष भूमिका पनि निर्वाह गर्न लागेको जानकारी गराइएको छ । 


‘महिलालाई कसरी समाजले बोक्सी करार गर्छ ?’ भन्ने प्रश्नको सेरोफेरोमा केन्द्रित रहेर तयार भएको नाटकमा सरिता गिरीले एकल अभिनय गरेकी थिइन् । नाटकको लेखन तथा निर्देशन सुलक्षण भारतीले गरेका हुन् । फिल्ममा पनि सुलक्षण निर्देशकको रुपमा रहनेछन् । सुलक्षणसँगै सुब्रतराज आचार्यले पनि फिल्म निर्देशन गर्ने निर्माण टिमले जनाएको छ । 



केकी अधिकारी फिल्मस्ले निर्माण गर्ने चलचित्रमा अभिनेता गौरव पहारी पनि महत्वपूर्ण भूमिकामा रहनेछन् ।  चलचित्रका अन्य पात्रका लागि कलाकारको छनौट आगामी साता अडिसन बोलाएर गरिनेछ ।निर्माता केकी अधिकारीले विगत डेढ महिनादेखि फिल्मको वर्कसप र प्रिप्रोडक्सन भइरहेको जानकारी गराएकी छिन् ।  चार महिनाको वर्कसपपछि मात्र चलचित्रको छायांकन थालिने पनि उनले बताएकी छिन् । केकीले यसअघि ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी थिइन् । 


Author

थप समाचार
x